१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

चितवनका किसानले आज सडकमा दूध पोख्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:२१:oo

आज चितवनका किसानले सडकमा दूध पोख्दै छन् । दूध बिक्री हुन छाडेको र दूध बिक्रीबापतको पैसा पनि महिनौँसम्म नपाएपछि चितवनका किसानले सडकमा दूध पोख्न लागेका हुन् । दूध पोख्ने कार्यको नेतृत्व चितवन जिल्ला दूध उत्पादक सहकारी संघले गर्न लागेको छ। संघमा चितवनका एक सय १५ भन्दा बढी सहकारी आबद्ध छन् ।

संघका अध्यक्ष किशोर बगालेका अनुसार आज जिल्ला प्रशासन कार्यालय चितवनमा प्ले कार्ड र नारा–जुलुससहित ज्ञापनपत्र बुझाएपछि केन्द्रीय बसपार्कमा गएर काेणसभासँगै विरोधस्वरूप दूध पोखिनेछ । 

चितवनका किसानले यसअघि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित संघीय र प्रदेशका कृषिमन्त्रीहरूलाई दूधको समस्याहरू धेरैपटक राखेका थिए ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव कल्याण अधिकारीका अनुसार चितवनका ४० हजारभन्दा बढी पशुपालक किसानले करिब २२ करोड भुक्तानी पाएका छैनन् । चितवनमा उत्पादन हुने साढे तीन लाख लिटर दूधमध्ये डेढ लाख जिल्लाबाहिर खपत हुँदै आएको छ । पैसा माग्दा दूध खरिद गर्ने उद्योगले किन्न मान्दैनन् । अधिकारीका अनुसार चितवनका केही दूध सहकारीले साउनदेखिकै भुक्तानी पाएका छैनन् । उनले भने, ‘सहकारीले बाध्य भएर दूध संकलन गर्न छाड्ने अवस्था भएको छ ।’ 

किसानले बिक्री गरेको दूध स्थानीय सहकारीले विभिन्न उद्योगलाई बिक्री गर्छन् । यसअघि उद्योगले प्रत्येक १५ दिनमा किसानको रकम भुक्तानी दिन सहकारीलाई पैसा पठाउने र सहकारीमार्फत किसानले रकम पाउने गरेका थिए । तर, उद्योगले पैसा नदिएपछि सहकारीहरू किसानलाई पैसाको साटो घिउ, बटर दिन बाध्य भएका छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)सहित देशभरिका प्रायः निजी डेरी उद्योगले चितवनबाट दूध खरिद गर्छन् ।

दूध बेचेको पैसा लामो समयदेखि नपाउँदा साना किसानको जीविकोपार्जनमा समस्या भएको छ । ठूला किसानलाई पनि बैंकले ब्याज तिर्न ताकेता गरिरहेका छन् । गाईभैँसीको दाना–चोकर खुवाउने पैसा अभाव हुन थालेको किसानको गुनासो छ । दूधमा आत्मनिर्भर चितवनमा एक सय १५ वटा दूध सहकारी संस्था सक्रिय छन् भने ६० बढी निजी डेरी छन् ।

ad
ad