१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १३:४७:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेदरल्यान्ड्सविरुद्ध नेपाल ९ विकेटले विजयी

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १३:४७:oo

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको छ। कीर्तिपुर मैदानमा नेपालले एक सय ३८ रनको लक्ष्य एक विकेट गुमाएर १५.२ ओभरमा भेट्टाएको हो।

यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले अल आउट हुँदै ३९ ओभरमा मात्र एक सय ३७ रन बनाएको थियो। नेपालको इनिङ्समा ओपनर आसिफ शेख र तेस्रो नम्बर क्रिजमा आएका अनिल शाहले अर्धशतक बनाए। अनिलले ३७ बलमा ६ चौका र चार छक्कासहित ५७ रन बनाए। आसिफले ४५ बलमा आठ चौका र एक छक्कासहित ५४ रन बनाएका हुन्। दुईबीच दोस्रो विकेटको लागि एक सय ५ रनको साझेदारी भएको थियो।

यसअघि नेदरल्यान्ड्सको इनिङ्समा कप्तान स्कट एडवार्डले सर्वाधिक ३३ रन बनाए। पार्ट टाइम बलर कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए। २७ वर्षीय अलराउन्डर कुशलको यो ओडिआईको ५०औँ खेल हो। नेपाली बलरले घातक बलिङ गरेपछि नेदरल्यान्ड्स सस्तैमा समेटिएको हो। 

नेपालले दुई खेलबाट दुई अंक जोडेको छ। लिग–२ को पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले हारेको थियो। अघिल्लो वर्ष सुपर लिग खेलेको नेदरल्यान्ड्सले भने हारबाट प्रतियोगिता सुरु गरेको छ।

आर्यन दत्तलाई दोस्रो ओभरमा २१ रन प्रहार गर्दै ओपरनद्वय कुशल भुर्तेल र आसिफ शेखले सानदार सुरुवात गरेका थिए। कुशलले ११ बलमा दुई चौका र तीन छक्कासहित २८ रन बनाएर पेभिलियन फर्किए। त्यसपछि आसिफ र अनिल शाहले नेपालको इनिङ्स उकासेका थिए। नेपालले पहिलो पावर प्लेमै एक विकेट गुमाएर सय रन कटाएको थियो।

तेस्रो नम्बर क्रिजमा आएका अनिलले २९ बलमा पाँच चौका र चार छक्कासहित ५२ रन बनाएका हुन्। उनको करिअरको दोस्रो अर्धशतक हो। उनले क्यानडाविरुद्ध एक शतक र एक अर्धशतक बनाएका थिए।

ओपनर आसिफले ४३ बलमा सात चौका र एक  छक्कासहित ५० रन बनाएका हुन्। उनको करिअरको यो ११औँ अर्धशतक हो। उनले एक शतक पनि बनाएका छन्।

यसअघि बलर सोमपाल कामीले नेदरल्यान्ड्सका मिचल लेभितलाई तेस्रो बलमै देव खनालबाट क्याच गराएपछि नेदरल्यान्ड्स कुनै पनि समय खुलेर खेल्न सकेन। ६ ओभरमा १८ रन जोड्दा अर्का ओपनर म्याक्स ओ डावड १० रन बनाएर रनआउट भए। २१ बल खेलेका उनलाई भीम सार्कीबाट ललितनारायण राजवंशीले रनआउट गराएका हुन्।

२३ रन बनाएका साइब्रान्ड एंलब्रतलाई ललितले नै आउट गराए। उनले ४४ बलमा तीन चौका र एक छक्का प्रहार गरेका बास डी लिडलाई २७ रन बनाउँदा चौथो विकेटको रूपमा बोल्ड गरे। लिड आउट हुँदा १९.२ ओभरमा नेदरल्यान्ड्स ६७ रन बनाएर खेलिरहेको थियो।

पाँचौँ विकेटको रूपमा कुशल मल्लले नोआह क्रोइसलाई १२ रन बनाउँदा रनआउट गराए। कुशल भुर्तेलले आफ्नो पहिलो ओभरमै बेस्ली बारेसीलाई खाता नखोली दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट गराएका हुन्। 

कप्तान रोहितकुमार पौडेलले एक रन जोडेका सारिज अहमदलाई बोल्ड गरेपछि २७.२ ओभरमा नेदरल्यान्ड्स १०१–७ को कठिन अवस्थामा पुगेको थियो। 

भुर्तेलले आफ्नो चौथो ओभरमा आर्यन दत्तलाई २० बलमा १० रन बनाउँदा भीम सार्कीबाट क्याचआउट गराएका हुन्। दत्त आउट हुँदा ३२.२ ओभरमा नेदरल्यान्ड्स १२२–८ को अवस्थामा थियो।

टस जितेर सुरुवाती बलिङ गरेको नेपालको लागि कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए। ७ ओभरमा उनले मात्र २० रन खर्चिए। १० ओभरमा ३२ रन खर्चिएका ललितनारायण राजवंशीले २ विकेट हात पारेका छन्। कप्तान रोहित र सोमपाल कामीले समान एक विकेट लिए। कुशल मल्ल, गुल्सन झा र दीपेन्द्रसिंह ऐरी विकेटविहिन रहे।

कीर्तिपुर मैदानमा नेपाल पहिलोपटक नेदरल्यान्ड्ससँग खेलिरहेको छ। हालसम्म नेपाल र नेदरल्यान्ड्स चारपटक प्रतिस्पर्धा गर्दा नेदरल्यान्ड्सले दुई तथा नेपालले एकपटक खेल जितेका छन्। एक खेल नतिजाविहीन भएको छ।

ad
ad