१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
भारत पञ्जाब मुगाकी बलजित कौर । उनकै इसारामा नेपाल ट्रन्जिट हुँदै भारतीय नागरिक तस्करी हुँदै आएको अनुसन्धानबाट खुलेको छ । उनको समूहका आठजना पक्राउ परेका छन् ।
टेकराज थामी काठमाडाैं
२०८० फाल्गुण ४ शुक्रबार ०६:०७:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बलिउड फिल्म ‘डंकी’को नक्कल गर्दै मानव तस्करी

रातोपुलमा भाडामा लिएको घरको कोठाभित्रै ‘भिएफएक्स’बाट नक्कली मेक्सिको तयार 

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०८० फाल्गुण ४ शुक्रबार ०६:०७:००

११ भारतीय नागरिकको उद्धार, तस्करीमा संलग्न आठजना पक्राउ 

बलिउड अभिनेता साहरुख खान अभिनीत सिनेमा ‘डंकी’मा विकट गाउँका भारतीय युवा गैरकानुनी बाटो हुँदै बेलायत पुगेको कथालाई मार्मिक ढंगले चित्रण गरिएको छ । सोही सिनेमाको कथाकै शैलीमा अमेरिका हिँडेका ११ भारतीय युवालाई प्रहरीले काठमाडौंबाट उद्धार गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई भारत पञ्जाब मुगाकी बलजित कौरको योजनामा नेपाल ल्याइएको थियो । उनीहरूलाई १५ दिनदेखि काठमाडौं महानगरपालिका– ९ रातोपुलस्थित एक घरमा बन्धक बनाई राखिएको थियो । बन्धकमध्ये राकेश कुमार, आशिष कुमार, गुरुप्रित सिंह र कुलदीप सिंहसँग तस्करले प्रतिव्यक्ति तीन–तीन हजार अमेरिकी डलर असुलिसकेका थिए । बाँकी गुन्दिर सिंह, सुभास कुमार, प्रतीक, मानवीर सिंह, जगदीप सिंह, अर्का गुरुप्रित सिंह र भूपेन्द्र सिंहको परिवारबाट प्रतिव्यक्ति ४५–४५ लाख भारतीय रुपैयाँ असुलेका थिए । तस्करले उनीहरूबाट काठमाडौंमा पनि प्रतिव्यक्ति तीन–तीन हजार अमेरिकी डलर असुलेका थिए । 

बन्धकमध्येका पञ्जाब हन्देसाराका भूपेन्द्र सिंहले भने, ‘यिनीहरूले हामीलाई अमेरिका लैजाने भनेर नेपाल ल्याए । हामीमध्ये सातजनाको परिवारबाट प्रतिवक्ति ४५–४५ लाख भारु असुलिसकेका छन् । त्यसबाहेक हामीबाट पनि प्रतिव्यक्ति तीन–तीन हजार अमेरिकी डलर लिएका छन् । बाँकी चारजनाको परिवारबाट रकम असुल्न पाएका छैनन् । तर, उनीहरूबाट तीन–तीन हजार अमेरिकी डलर भने लिइसकेका छन् ।’

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीका अनुसार उनीहरूलाई नेपालबाट कतार हुँदै ब्राजिल पुर्‍याउने र त्यसपछि मेक्सिको हुँदै अमेरिका छिराउने भन्दै काठमाडौं ल्याइएको थियो । अमेरिका पुगेपछि सबैलाई ग्रिनकार्ड दिने प्रलोभनसमेत दिइएको थियो । 

प्रहरीका अनुसार तस्करले अमेरिका लैजाने भारतीयलाई राख्न रातोपुलमा मासिक ७० हजार रुपैयाँ तिर्ने गरी तीन महिनादेखि सिंगो घर नै भाडामा लिएका थिए । त्यहाँ १५ दिन राख्दा उनीहरूलाई दिनमा दुईपटक मात्रै खाना खाने सुविधा थियो । घरबाहिर निस्कन बन्देज थियो । टेलिफोनमार्फत परिवारका सदस्यसँग कुराकानी गर्न पनि रोक लगाइएको थियो । परिवारसँग कुरा गर्नुपरे तस्करको अनुमति लिनुपर्थ्यो ।

उनीहरूले सिकाएअनुसार मात्रै सामाजिक सञ्जालबाट कुराकानी गर्नुपर्थ्यो । कुराकानी गर्न उनीहरूलाई छुट्टै कोठामा लगिन्थ्यो । बन्द कोठाको वरिपरि हल्का हरियो रंगको पर्दा टाँगिएका थिए । बीचमा टेबुल र कुर्सी हुन्थ्यो । पीडितलाई तस्करले सोही टेबुल–कुर्सीमा बस्न लगाउँथे । र, सामाजिक सञ्जालमार्फत कुरा गर्न लगाउँथे । यस क्रममा उनीहरूले पीडितको सामाजिक सञ्जालको ‘ब्याक ग्राउन्ड’मा ‘भिएफएक्स (भिजुअल इफेक्ट)’बाट तयार मेक्सिकोको नक्कली दृश्य हालिदिन्थे । वातावरण र आवाज पनि मेक्सिकोकोझैँ सिर्जना गराइदिन्थे । उनीहरूले घडीको सुईलाई समेत मेक्सिकोको समयअनुसार फिट गरेका थिए ।

कुराकानीमा संलग्न पीडितलाई परिवारका सदस्यसँग ‘आफू मेक्सिको’ पुगेको भन्न लगाउँथे र भारतमा रहेका एजेन्टमार्फत रकम असुल्न लगाउँथे । यसका लागि उनीहरूले काठमाडौंमा आइटी एक्सपर्ट नै राखेका थिए । भारत महिपालपुरका ४५ वर्षीय अब्दुर रहिमलाई उनीहरूले यस कार्यका लागि नियुक्त गरेका थिए । प्रहरीका अनुसार तस्करले टेलिफोनको लोकेसन ‘ट्र्याक’समेत नक्कली खडा गरेका थिए । पीडितले काठमाडौंबाट परिवारका सदस्यलाई फोन गर्दा लोकेसन मेक्सिकोको जान्थ्यो । आइटीविज्ञले यी सबै कार्य गर्थ्यो । 

बन्द कोठाभित्र चरम यातना 
बन्धक बनाइएका पीडितलाई कोठाबाट निस्कन त के कोठाको पर्दा उघारेर बाहिर हेर्नसमेत बन्देज थियो । पीडित भूपेन्द्र सिंहका अनुसार आदेश नमान्नेलाई डोरीले हातखुट्टा बाँधेर भुइँमा लडाउँथे, पाइपले हिर्काउँथे । ‘तस्करले भनेको नमाने शरीर टुक्राटुक्रा पारेर खोलामा मिल्काइदिने धम्की दिन्थे,’ उनले भने । काठमाडौं परिसर प्रमुख एसएसपी खत्रीले बन्धकलाई यातना दिन तयार दुई थान पाइप कोठाबाट बरामद भएको बताए । 

आठ तस्कर पक्राउ 
प्रहरीका अनुसार यो धन्दामा ठूलो गिरोह संलग्न छ । जसको सञ्जाल भारत हुँदै नेपालदेखि मेक्सिकोसम्म फैलिएको छ । उक्त सञ्जाल भारत पञ्जाब मुगाकी बलजित कौरले सञ्चालन गर्छिन् । उनकै इसारामा नेपाल ट्रन्जिट हुँदै भारतीय नागरिक विगतदेखि नै तस्करी हुँदै आएको अनुसन्धानबाट खुलेको छ । नेपालमा पक्राउ आठ तस्कर सोही गिरोहका सदस्य हुन् । 

प्रहरीले बुधबार र बिहीबार गरी काठमाडौंबाट गिरोहका ५८ वर्षीय इन्दुसिंह यादव, निपुन गुप्ता उर्फ तार्सेम सिंह भनिने ५१ वर्षीय अरुण सिंह, ४२ वर्षीय चरणजित सिंह, अशोक कुमार, ५४ वर्षीय अब्दुर रहिम, ४७ वर्षीय मनीषकुमार मल्होत्रा, ३० वर्षीय रवि मिवादे र ४८ वर्षीय रामचन्द्र शर्मालाई पक्राउ गरेको छ ।