
काठमाडौं महानगरपालिका तथा ग्वल: बाजँ खलःको संयुक्त आयोजनामा काठमाडौं महानगरपालिका– ८ अन्तर्गत रहेको जयबागेश्वरी मन्दिरपरिसरमा ग्वल: अर्केस्ट्रा ०८० आयोजना गरिने भएको छ । काठमाडौं महानगरपालिका तथा विभिन्न बाजागाजा संरक्षणमा कटिबद्ध रहेका १४ क्लबको सहभागिता तथा सहकार्यमा ग्वल: अर्केस्ट्रा आयोजना गर्न लागिएको हो ।
अर्केस्ट्रा ५ फागुन ०८० शनिबार दिउँसो ३ बजे आयोजना हुनेछ । कार्यक्रम संयोजक एवं काठमाडौं महानगरपालिका– ८ का वडाध्यक्ष आशामान संगतका अनुसार कार्यक्रममा विभिन्न ग्वल क्षेत्रलगायतका स्थानीय क्लब, संघ–संस्था, बाजा खलः, पुचः तथा टोलहरूको कार्यक्रममा सहभागिता रहनेछ । युवापुस्ताकेन्द्रित बाजागाजाको संरक्षणार्थ ग्वल: क्षेत्रको पहिचानका लागि ग्वल: अर्केस्ट्रा आयोजना गरिएको वडाध्यक्ष संगतले जानकारी दिए । अर्केस्ट्रामा एक सय ५० भन्दा बढी कलाकार सहभागी हुनेछन् । अर्केस्ट्रामा एउटै मञ्चबाट विभिन्न बाजामार्फत विभिन्न धुन प्रस्तुत गर्न लागिएको हो । यस्तै, अर्केस्ट्राका लागि स्थानीय क्लबका प्रतिनिधिले करिब एक महिनादेखि तयारी गरिरहेका छन् ।
काठमाडौं महानगरले बाजागाजा तथा संस्कृतिको संरक्षणार्थ तथा मौलिकपन दर्शाउन पनि कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रममा नेवारी पहिचान, बस्ती, कला, संस्कृति, बाजागाजा, मौलिकपन, परम्परागत धुन, धार्मिक स्थल, मठमन्दिर संरक्षण हुने उद्देश्य राखिएको छ । ग्वल: क्षेत्रमा रहेका नौवटा पौखरी, नौवटा ढुंगेधारा, नौवटा जात, नौवटा इनार, नौवटा ढोका, नौवटा टोल, नौवटा शक्तिपीठ, नौवटा पाटीपाैवा तथा नौवटा डबलीलगायतको संरक्षण गर्न कार्यक्रमबाट मद्दत पुग्ने जनाइएको छ । कार्यक्रममा करिब हजारजनाको सहभागिता रहने अनुमान छ ।