मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ३० शुक्रबार
  • Friday, 12 April, 2024
गुल्मीदरवार गाउँपालिका-७ को उखाप गाउँ
२०८० फाल्गुण २ बुधबार ११:४१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

‘माघ धमालधुमुल गरेरै सकियो, अब पानी परे पनि हिउँदे बाली सप्रिने आशा छैन’

हिउँदे बर्सातकाे आशमा गुल्मेली किसान

Read Time : > 2 मिनेट
२०८० फाल्गुण २ बुधबार ११:४१:००

अहिले गहुँ, जौ, तोरी, केराउ र लहरे बालीले खेतबारी ढकमक्क हुने समय हो । तर, बर्सात नहुँदा उर्वर जमिनहरूमा धुलो उडेको छ । जाडोले कठ्यांग्रिने पुस पारिलो घामैघामले बित्यो । माघ पनि धमालधुमुल गरेरै सकिएपछि अब पानी परेर हिउँदे बाली सप्रिने आशामा छैनन् किसान।

दसैँपछि पानी परेको छैन । लामो समय पानी नपरेपछि आगामी वर्षको बालीमा पर्ने क्षतिले समेत किसानलाई पिरोल्न थालेको छ । अहिले बसन्ते जातको मकै लगाउने उपयुक्त समय हो । 

किसानले छल्दी र पनाहा खोला किनारमा व्यावसायिक रूपमा बसन्ते मकै उत्पादन गर्छन् । पानी परे माथिल्ला गाउँहरूमा समेत मकै लगाइन्छ । तर, बर्सात नहुँदा केही ठाउँमा मात्रै मकै लगाइएको जिल्लास्तरीय बिउ सञ्जालका सचिव तथा अगुवा कृषक लोकहरि कुँवरले बताए ।

कुँवरले भने फागुन दोस्रो हप्तासम्म पनि पानी नपरे हिउँदे बालीको उत्पादन हुँदैन । कुलोमार्फत सिँचाइ गरे पनि उत्पादनमा अकासेपानीको ठूलो भूमिका हुने भएकाले बर्सात नहुँदा किसानलाई ठूलो क्षति पुगेको छ । ‘माघ धमालधुमुल गरेरै सकियो, अब पानी परे पनि हिउँदे बाली सप्रिने आशा छैन,’ उनले भने  ‘प्रकृतिले पनि गरिब र किसानलाई नै ठगेको छ ।’

हिउँदे वर्षा जमिन भिजाउने मात्र नभई बालीनालीका लागि अत्यन्त पोषिलो हुने गर्दछ । जिल्लामा व्यावसायिक तरकारी खेती गर्नेहरूको संख्यामा वृद्धि हुँदै गएको छ । तर, उच्च पहाडी भूभागमा अकासेपानी संकलनबाट तरकारी गरेकाहरू ठूलो मारमा परेका छन् ।

छत्रकोट गाउँपालिका– ५ का सरोज केसीले मौसम अनुकूल हुँदा लाखौँको आलु, तोरी, केराउ र तरकारी बिक्री गर्थे । भर्खरै हुर्कँदै गरेका लहरे तरकारी, केराउ, आलु, तोरी र अन्नबालीमा गहुँ तथा आँपसहितका फलका रुखलाई हिउँदे वर्षा आवश्यक हुन्छ । तर, यसपालि वर्षा नै नभई हिउँद बित्दै गएपछि अपेक्षित उत्पादन लिन नसकिने चिन्ता बढेको केसीले बताए।

गुल्मीमा व्यावसायिक रूपमा सुन्तला, कागती र किवी खेती हुँदै आएको छ । अहिले करोडाैँको कारोबार हुने सुन्तला र किवीमा मल हाल्ने समय भएको छ । अधिकांश कृषकले मल हाले पनि पानी नपर्दा बिरुवाले मल नपाएको कृषि ज्ञान केन्द्र गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए ।

उनले मल र पानी पर्याप्त नभएपछि आगामी वर्ष स्वाभाविक रूपमा कम उत्पादन हुने बताए । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार तीनपटक अनिवार्य पानी चाहिने गहुँ र जौ बर्सात नहुँदा प्रभावित भएको छ । 

त्यस्तै, कोसा र दाना लाग्ने वेलाको तोरी र केराउ पनि वर्षा नभएको कारण प्रभावित भएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत भण्डारीले बताए । त्यस्तै, आँप र लिचीसमेत पानी नपरेका कारण राम्रो उत्पादन हुँदैन ।

जिल्लामा खेती योग्य जमिन ६४ हजार पाँच सय पाँच हेक्टर छ । जसमा ३४ हजार ४० हेक्टर जमिनमा खेती गरिएको छ । त्योमध्ये कुल सिञ्चित क्षेत्रफल १० हजार २४ हेक्टर, बाह्रै महिना सिञ्चित क्षेत्रफल तीन हजार ६ सय २६ हेक्टर तथा आंशिक सिञ्चित ६ हजार तीन सय ९६ हेक्टर रहेको छ ।

हिउँदे बर्सात नहुँदा ६ हजार तीन सय ९६ हेक्टर क्षेत्रफलमा लगाएको बालीमा असर परेको ज्ञान केन्द्र प्रमुख भण्डारीले बताए । उनले हिउँदे वर्षा कम हुँदाको वर्ष समग्र कृषि उत्पादन घट्ने बताए ।

हिउँदे बर्सात नहुँदा खेतीबालीमा हुने असरसँगै जमिन सुक्खा हुँदा पानीका मुहान छिटो सुक्छन् । पानीका मुहान सुकेपछि स्वाभाविक रूपमा खानेपानीको संकट सिर्जना हुने, सुक्खापन बढी भए पनि डढेलोका घटनामा वृद्धि पनि हुने गर्दछ ।