मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १० बिहीबार
  • Thursday, 22 February, 2024
भरत सी
२०८० माघ २९ सोमबार ०८:२३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विश्व युद्धमय, जनता शान्तिप्रिय

Read Time : > 2 मिनेट
भरत सी
२०८० माघ २९ सोमबार ०८:२३:००

आजको युद्धमय विश्व र शान्तिप्रिय जनताको अन्तर्विरोधको हल गर्न सचेत पहल आवश्यक छ 

पश्चिमका मिडियाले स्विट्जरल्यान्डको डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चको बैठकलाई चार ‘सी’ (कन्फ्लिक्ट, कोल्ड वार, क्लाइमेट चेन्ज र केअस)को रूपमा विश्लेषण गरे । यसमा अमेरिकी साम्राज्यवादको निरन्तर हस्तक्षेपको अर्को ‘सी’ थपेर पाँचपटा ‘सी’ बनाई हेर्नुपर्ने देखिन्छ । पछिल्लो समय विश्व युद्धमय देखिन्छ । यद्यपि, युक्रेनी र गाजाका मात्र होइन, रुसी र अमेरिकी जनता पनि शान्ति नै चाहन्छन् । तर, शान्ति नजिक देखिइरहेको छैन । चीनको प्रयास पर्याप्त भइरहेको छैन । यो स्थितिमा पुँजीवाद र युद्ध अनि समाजवाद र शान्तिबारे संक्षिप्तमा चर्चा गर्न आवश्यक छ ।

पुँजीवाद र युद्ध : संक्षेपमा भन्दा आजसम्मको मानव इतिहास युद्धको इतिहास हो । माक्र्सवादी भाषामा वर्गसंघर्षको इतिहास हो । तर, पुँजीवादसँग वर्गयुक्त समाजको युद्ध अन्तिम रूपले जोडिन्छ नै । यसका लागि पुँजीको चरित्र, पुँजीवाद र युद्धको सम्बन्धबारे माक्र्स–लेनिन–माओलाई हेर्नु उचित हुन्छ । ‘जब पुँजी संसारमा आउँछ, तब त्यसको शिरदेखि पाउसम्म प्रत्येक छिद्रबाट रगत र फोहोर थोपा–थोपा गरी झरिरहन्छ’ (माक्र्स, पुँजी) । अब पुँजी नाफाको लागि कुन हदसम्म जान्छ, त्यो हेरौँ । ‘पर्याप्त नाफा भएमा पुँजीले ज्यादै साहस देखाउँछ । १० प्रतिशत नाफा उपलब्ध भए पुँजीलाई कुनै पनि स्थानमा लगाउन सकिन्छ । २० प्रतिशतको नाफा निश्चित भएमा पुँजीमा उत्सुकता देखा पर्छ । ५० प्रतिशतको आसमा त पुँजी स्पष्ट रूपमा साहसी बन्छ । सय प्रतिशत नाफा निश्चित भएमा त्यो मानवताका सबै नियमलाई पैतलाले कुुल्चन तयार हुन्छ । अझ यदि ३०० प्रतिशत नाफा देखेमा यस्तो कुनै अपराध छैन, जुन गर्न पुँजीलाई संकोच लागोस् । कुनै पनि खतरा छैन, जसको सामना गर्न त्यो तयार नहोस् ।’ टिजे डेनिङको यो भनाइ माक्र्सले पुँजीको चरित्र शान्तिप्रिय र रक्षात्मक हुन्छ भन्ने पुँजीवादी दाबीको प्रतिवाद गर्न उद्धृत गरेका थिए । 

‘पुँजी किन समस्या हो त ? ‘पुँजी राक्षससरह जीवित श्रमलाई अवशोषण गरेर बाँच्ने गर्छ । यसले जति धेरै श्रमशोषण गर्छ, त्यति धेरै फुल्ने र फल्ने गर्छ ।’ (माक्र्स, पुँजी) माक्र्सले भनेझैँ यो निर्जीव पुँजी सजीव मानवको शोषणमा फुल्ने र फल्ने हुँदा समस्या भएको हो । सामूहिक उपजका रूपमा रहेको पुँजीको स्वामित्वचाहिँ निजी हुनुले नै समस्या सिर्जना भएको हो । निजी स्वामित्वको अन्त्यले समस्याको समाधान दिन्छ ।

लेनिनले पहिलो विश्वयुद्धबारे विश्लेषण गर्दै भनेका छन्, ‘यो युद्ध साम्राज्यवादी युद्ध हो भनेर लगभग विश्वव्यापी रूपमा स्वीकार गरिएको छ । ...साम्राज्यवादी चरणमा पुँजीवाद राष्ट्रहरूको सबैभन्दा ठूलो उत्पीडक बनेको छ । पहिलेको प्रगतिशील ‘पुँजीवाद प्रतिक्रियावादी बनेको छ ।’ (लेनिन, समाजवाद र युद्ध) । पुँजीवाद सामन्तवादविरुद्धको क्रान्तिद्वारा जन्म्यो । तर, आफैँमा अन्तर्निहित युद्धद्वारा समाप्त हुन विवश छ । पुँजीवादको परिणास्वरूप हुने युद्ध वर्गविभाजित समाजको अनिवार्य र अन्तिम युद्ध पनि हो । यसको समाप्ति वर्गविहीन समाज स्थापनाको उद्देश्यसहित स्थापना हुने समाजवादद्वारा मात्र हुन सक्छ ।

समाजवाद र शान्ति : समाज विज्ञानको नियमले पुँजीवादको अन्त्य र समाजवादको स्थापनाले मात्र शान्ति स्थापना हुन सक्छ भन्छ । पुँजीवाद र समाजवाद क्रमशः व्यक्ति र समाजकेन्द्रित सिद्धान्त हुन् । जबसम्म तेरो र मेरोको ठाउँ हामीले लिदैन, तबसम्म शान्ति हुँदैन । केवल समाजवादले मात्रै हामीलाई स्थापित गर्छ । किनभने निजी स्वामित्वको अन्त्य समाजवादको मात्र उद्देश्य हो ।

सिद्धान्ततः समाजवाद र युद्धबारे लेनिनको दृष्टिकोण नै वैज्ञानिक रहेको छ । उनी समाजवादीले सधैँ राष्ट्रहरूबीचको युद्धलाई बर्बर र क्रूर भनी निन्दा गरेका छन् । युद्धप्रति हाम्रो दृष्टिकोण बुर्जुवा शान्तिवादी र अराजकतावादीको भन्दा मौलिक रूपमा नै भिन्न छ । वर्गहरू समाप्त गरी समाजवादको सिर्जना नगरेसम्म युद्धहरू समाप्त हुँदैनन् । 

उत्पीडित वर्गद्वारा उत्पीडक वर्गविरुद्ध छेडिएका युद्धहरू पूर्ण रूपमा वैध, प्रगतिशील र आवश्यक हुने उनको भनाइ छ । लेनिनले युद्धको कारक पुँजीवाद भएकाले शान्तिका लागि वर्गको अन्त्य र समाजवादको स्थापना अनिवार्य रहेको र त्यसका लागि क्रान्ति आवश्यक हुने जनाएका छन् ।

समाजवादमा युद्धबारेको दृष्टिकोण के हुन्छ त ? माओलाई नै हेरौँ । ‘हाम्रा दुइटा सिद्धान्त छन्– पहिलो, हामी युद्ध चाहन्नाैँ । दोस्रो, हामीमाथि कोही आइलाग्यो भने हामी दृढतासाथ जवाफी प्रहार गर्छौं । हामी कम्युनिस्ट पार्टीका सदस्य र सिंगो राष्ट्रलाई नै यही कुरा सिकाउँछाैँ, (माओ संकलित रचना) । जसरी पुँजीवादको परिणाम युद्ध हो, ठीक त्यसरी समाजवादको परिणाम शान्ति हो । आज समग्रमा पुँजीवादी युद्धको नेतृत्व अमेरिकाले गर्छ । वास्तवमा, समाजवादद्वारा निरुपित शान्ति समानता र स्वतन्त्रतामा आधारित जनकेन्द्रित शान्ति हो ।

सारमा आजको विश्व युद्धमय छ । यसलाई तेस्रो विश्वयुद्धकै रूपमा बुझेर परिभाषित गर्नुपर्छ । किनभने, पहिलो र दोस्रो विश्वयुद्ध जस्तै तेस्रो विश्वयुद्ध हुँदैन र आणविक अस्त्रको कारण विश्वयुद्ध हुँदैन भन्ने कुरा पनि सत्य होइन । अबको विश्वयुद्ध रोकिने र सुरु हुने, प्रत्यक्ष–अप्रत्यक्ष, घोषित–अघोषित, आंशिक र समग्रको रूपमा अभिव्यक्त हुने देखिन्छ । नयाँ स्वरूपमा तेस्रो विश्वयुद्ध चलिरहेको छ । यो युद्धको विकल्प रोज्ने हो भने विद्यमान संकटग्रस्त पुँजीवादको विकल्प नयाँ विश्व समाजवाद र त्यसका लागि नयाँ विश्व क्रान्ति रोज्न आवश्यक छ । आजको युद्धलगायत सबै समस्याको मुख्य कारण भूमण्डलीकृत पुँजीवाद र एकल वर्चस्व गुमाउँदै गएको अमेरिकी साम्राज्यवाद हो । त्यसैले आजको भूमण्डलीकृत पुँजीवादविरुद्ध विश्व समाजवादको बहुआयामिक सहकार्य र बृहत् साझा मोर्चा आवश्यक छ । यो सन्दर्भमा वर्तमान चीनको अवधारणा र पहलकदमीलाई महŒवकासाथ हेर्न जरुरी छ । आजको युद्धमय विश्व र शान्तिप्रिय जनताको अन्तर्विरोधको हल गर्न सचेत पहल आवश्यक छ । 

(भरत नेकपाका स्थायी समिति सदस्य हुन्)