
गएराति मुगुकाे खत्याडस्थित एक घरमा आगलागी हुँदा एकै घरका दुईजना बालक बेपत्ता भएका छन् । जिल्लाको पश्चिम खत्याड गाउँपालिका– २ गाडेखोला गाउँस्थित लालु माठागाईको घरमा आगलागी हुँदा दुईजना बालक बेपत्ता भएको र घर जलेर खरानी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले दिएको जानकारीअनुसार राति बालबच्चासहित आमा सरस्वती सन्ज्याल, १४ वर्षका छोरा विशाल सन्ज्याल र १२ वर्षकी छोरी झरना सन्ज्याल घरको गोठमा सुतेका थिए । सुतिरहेको वेला तातोको लागि बालेर राखेको आगो गोठमा सल्किएको थियो । आमा भने बाहिर निस्कन सफल भएकी थिइन् ।
घटनालगतै प्रहरी चौकी श्रीकोटबाट खटिएको सुरक्षाकर्मी र स्थानीयले घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो सोमबार बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । काठको प्रयोगबाट बनाइएको कच्ची घर भएकाले आगो झन् फैलिएको प्रहरीले जनाएको छ ।
सोमबार बिहानसम्म पनि दुई बच्चा नभेटिएको र आमाले बच्चाबाहिर ननिस्किएको भनी रोहिरहेकाले दुवै बालबालिका जलिसकेको हुन सक्ने प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ । पीडित सरस्वतीका श्रीमान् लालु माठागाई कामको सिलसिलामा भारतमा छन् ।