Skip This
दिक्तेल रूपाकोट मझुवागढीले सञ्चालनमा ल्यायो कृषि एम्बुलेन्स
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २१ आइतबार
  • Saturday, 27 July, 2024
२o८o माघ २१ आइतबार १३:o७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दिक्तेल रूपाकोट मझुवागढीले सञ्चालनमा ल्यायो कृषि एम्बुलेन्स

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २१ आइतबार १३:o७:oo

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।

नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषि उपज निःशुल्क ढुवानी गरेर बजारसम्म पुर्‍याइदिने उद्देश्यका साथ नगरपालिकाले आज (आइतबार)देखि औपचारिक रूपमा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।

पहिलो दिन वडा नं. ११ खार्मीस्थित ‘सोती बहुउद्देश्यीय कृषक समूह’ले उत्पादन गरेका कृषि उपज निःशुल्क ढुवानी गरिएको छ। 

शुभम् फाउन्डेसनले निःशुल्क उपलब्ध गराएको बोलेरो पिकअप भ्यानमार्फत कृषि एम्बुलेन्स सेवा दिन सुरु गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए।

कृषि एम्बुलेन्समार्फत खार्मीबाट पहिलोपटक आठ सय केजी बन्दाकोभी ढुवानी भएको छ। प्रतिकेजी रु. ३० मा बिक्री भइरहेको बन्दाकोभी दिक्तेल बजारका विभिन्न ठाउँमा सञ्चालित तरकारी बिक्री केन्द्रले खरिद गरेका छन्। 

नगरपालिकाले निःशुल्क उपलब्ध गराएको बन्दाकोभीको बेर्नाबाट दुई हजार केजीभन्दा बढी उत्पादन भएको समूहका अध्यक्ष हर्कराज राईले जानकारी दिए। ‘हामीले परीक्षणका लागि तीन रोपनी जग्गामा बन्दाकोभीको व्यावसायिक खेती गरेका थियौँ। पहिलोपटकमै राम्रो उत्पादन भएको छ,’ उनले भने, ‘यस वर्ष बन्दाकोभीसँगै फूलकोभी, अकबरे खुर्सानी, लसुन, प्याजलगायतका विभिन्न प्रजातिका फलफूल तथा तरकारी खेती गर्ने तयारी गरेका छौँ। सामूहिक रूपमा सुरुवात गरिएको तरकारी खेतीलाई व्यावसायिक रूपमा वृद्धि गर्दै लैजाने योजना छ।’ 

नगरपालिकाले सुरु गरेको कृषि एम्बुलेन्स लिएर नगर प्रमुख तीर्थराज भट्टराई, नगर उपप्रमुख विशन राई, कृषि शाखा प्रमुख जैसी, शुभम् फाउन्डेसनका प्रबन्ध–निर्देशक सूर्यबहादुर राईलगायत खार्मी पुगेका थिए। 

आफूले उत्पादन गरेका कृषि उपज बिक्री गर्नका लागि ढुवानी गर्न नसक्दा कतिपय कृषक निरास भइरहेको अवस्थामा नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउनुलाई निक्कै महत्वका साथ हेरिएको छ। 

नगरपालिकाले सुरुवात गरेको कृषि एम्बुलेन्स कार्यक्रमलाई दिगो बनाउन सकेमा कृषकलाई ठूलो राहत हुने वडा नम्बर २ सोल्माका अगुवा कृषक गंगाबहादुर विश्वकर्माले बताए। 

‘ढुवानी नहुँदा धेरै कृषकको कृषि उपज बारीमै कुहिएर गइरहेको छ। ढिलै भए पनि नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। यसले निरन्तरता पाउन जरुरी छ,’ उनले भने, ‘यो महत्वाकांक्षी कार्यक्रम हो। दुई–चार महिना सञ्चालन गरेर बन्द गरेको खण्डमा कृषकको लगानी डुब्नेवाला छ।’

कृषि एम्बुलेन्स सञ्चालनका लागि यस वर्षका लागि नगरपालिकाबाट रु. १० लाख बजेट विनियोजन गरिएको नगर उपप्रमुख राईले जानकारी दिए। ‘हामीले कृषिलाई पहिलो प्राथमिकता दिएका छौँ। गाउँगाउँमा कृषक समूह गठन गरिएको छ। कृषक समूहमा आबद्ध तथा व्यक्तिगत रूपमा कृषि पेसा अपनाएका कृषकलाई नगरपालिकाको तर्फबाट बिउ तथा बेर्ना निःशुल्क उपलब्ध गराउँदै आएछौँ,’ उनले भने, ‘कृषकले उत्पादन गरेका कृषि उपज खेर जाँदैन। उहाँहरू आफैँ बिक्री गर्नुहुन्छ भने ढुवानी गरिदिन्छौँ। यदि, उहाँहरूले आफूले उत्पादन गरेका कृषि उपज बिक्री गर्न नसकेको खण्डमा बजारमा चलेको बजारभाउअनुसार हामी आफैँ खरिद गर्छौँ। यसले कृषकलाई हौसला मिलेको अनुभूति गरेका छौँ।’

१५ वटा वडा रहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले हावापानी र भूगोलअनुसार ब्लक बनाएर कृषिलाई व्यवसायीकरण गर्ने तयारी गरेको छ। परीक्षणका लागि बन्दाकोभी, फूलकोभी, ब्रोकाउली, प्याज, धनियाँ, लसुन, खुर्सानी, सिमी, बोडीलगायतका तरकारीको बिउ तथा बेर्ना निःशुल्क उपलब्ध गराउँदै आएको छ। 

नगरपालिकाले यो आर्थिक वर्ष तीन लाख कफीको बेर्ना, ७० लाख प्याजको बेर्ना, ४० हजार किवीको बेर्ना र रु. चार लाखबराबरको लसुनको बिउ वितरण गरिने जनाएको छ। केरा पकेट क्षेतअन्तर्गत रु. ६ लाखको कार्यक्रम पनि यसै वर्ष लागू गरिने कृषि शाखा प्रमुख जैसीले जानकारी दिए। 

जिल्लाको सबैभन्दा ठूलो (१५ वडा रहेको) यो नगरपालिकाले ‘उत्पादनमा नगर उपप्रमुख’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। नगर सभाबाट पारित उत्पादनमा नगर उपप्रमुख कार्यक्रमका लागि यो वर्ष रु. ४० लाख बजेट रहेको नगरपालिकाले जनाएको छ।