१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o८:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ठेकेदारको लापरबाहीले मुख्य बजारको सडक निर्माण अलपत्र 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:४२:oo

एसियाली विकास बैंकको ऋण लगानीमा धनगढी उपमहानगरपालिका क्षेत्रमा निर्माणाधीन सडकको काम अलपत्र अवस्थामा छ । निर्माण कम्पनीको लापरबाहीले मुख्य बजार क्षेत्र तथा शाखा सडक निर्माणको काम लामो समयदेखि अलपत्र परेको हो । तेस्रोपटक थप गरिएको अवधिमा पनि काम सम्पन्न हुन नसकेपछि हालै चौथोपटक म्याद थप गरिएको छ । 

दुई वर्षभित्र काम पूरा गर्ने सर्तसहित कालिका कन्स्ट्रक्सनसँग २८ असार ०७७ मा निर्माण सम्झौता भएको थियो । तेस्रोपटक थप गरिएको अवधि गत १४ कात्तिकमा सकिए पनि निर्माण कम्पनीले कामलाई तीव्रता दिन सकेको छैन । सडक निर्माणमा भइरहेको ढिलाइले सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत धनगढीमा नाली, फुटपाथ, सडकबत्तीसहित १०.६०७ किलोमिटर स्तरीय सडक निर्माण भइरहेको छ । ७६ करोड ९० लाख ७६ हजार रुपैयाँको लागतमा पूर्वमन्त्री विक्रम पाण्डेयको कालिका कन्स्ट्रक्सनले सडक निर्माणको ठेक्का लिएको छ । तीनपटक म्याथ थप गर्दा पनि काम हुन नसकेपछि चौथोपटक थप गरेर आगामी १८ चैतसम्म पुर्‍याइएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालयले जनाएको छ । आयोजना कार्यालयका सूचना अधिकारी सौरभ कलौनीले सडक निर्माणमा करिब ८६ प्रतिशत भौतिक प्रगति भएको बताए । उनका अनुसार शाखा सडकमा कालोपत्रे लगभग पूरा भएको छ । कतिपय ठाउँमा फुटपाथ बनाउने, ट्राफिक संकेत राख्नेलगायत काम भने बाँकी छन् । शाखा सडकमा ठाउँ–ठाउँमा स–साना भाग कालोपत्रे गर्न छोडिएको छ । बनाएको नाली र फुटपाथ पनि ठाउँ–ठाउँमा भत्किन थालेपछि गुणस्तरमाथि प्रश्न उठेको छ । 

मुख्य बजार क्षेत्रमा पनि केही दिनअघि सुरु गरेको कालोपत्रेको काम मापदण्डअनुसार नभएको पाइएपछि अहिले रोकिएको छ । मुख्यमन्त्री कार्यालयअगाडिको खण्डमा एकतर्फ गरिएको कालोपत्रे उप्किन थालेको भन्दै गुणस्तरमाथि प्रश्न उठेको छ । कालोपत्रे फिँजाउने र ‘रोलिङ’ गर्ने काम मापदण्डअनुसार नभएको पाइएपछि त्यसलाई सुधार गर्न भनिएको क्षेत्रीय सहरी विकास आयोजनाले जनाएको छ । ‘कालोपत्रेको सतह मिलेको छैन । राम्रोसँग रोलिङ भएको छैन,’ सूचना अधिकारी कलौनीले भने, ‘कालोपत्रेको गुणस्तर पनि परीक्षण गर्न पठाइएको छ ।’ धनगढी मुख्य बजारस्थित चौराहादेखिपूर्व १.३८० किलोमिटर सडक कालोपत्रे गरिनेछ ।

करोडौँ रुपैयाँमा निर्माणाधीन सडकमा ‘गुणस्तरहीन’ काम भइरहे पनि सरोकारवाला निकायले चासो नदिएको स्थानीयको आरोप छ । ‘शाखा सडकका फुटपाथहरू ठाउँ–ठाउँमा भत्किएका छन् । नाली र ढकन फुटेका छन्, बजार क्षेत्रमा कालोपत्रे उप्किएको भनेर कामै रोकिएको छ,’ स्थानीय हर्क बोहराले भने, ‘जनताका आँखामा छारो हाल्ने काम भइरहेको छ, तर सरकारी निकाय सुतेर बसेको छ ।’ 

कामको गुणस्तर हेर्न सरकारले तेस्रो पक्षका रूपमा बिडिए कन्सल्टेन्टलाई जिम्मा दिइएको छ । तर, गुणस्तर हेर्ने जिम्मा पाएको कम्पनीको समेत मिलोमतोमा सडकको काम मापदण्डअनुसार बन्न नसकेको स्थानीयको आरोप छ । ‘निर्माण पूरा नहुँदै फुटपाथ र नालीहरू टुटफुट भएका छन्, भत्किएका छन्, सडकको अवस्था उस्तै छ,’ अर्का स्थानीय भरत जोशीले भने, ‘गुणस्तर हेर्ने जिम्मेवारी पाएको कम्पनी र सरकारी निकाय के हेरेर बसेका छन् ?’
    
 

ad
ad