१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० माघ २१ आइतबार ०७:४५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अहेवबाट बालिका बलात्कृत : मिलापत्र गराउन पीडकका परिवारबाट दबाब

Read Time : > 1 मिनेट
२०८० माघ २१ आइतबार ०७:४५:००

१३ वर्षीया बालिकालाई बलात्कार गरेको घटना गाउँमै मिलापत्र गराउन पीडक पक्षले पीडित परिवारलाई पटक–पटक दबाब दिएको छ । गत २९ पुसमा बालिकालाई बलात्कार गरेको आरोपमा बराहपोखरी गाउँपालिका– २ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेपछि त्यस्तो दबाब आएको हो । 

पीडकको बुबा र काकाले मिलापत्र गर्न पटक–पटक घरैमा आएर दबाब दिने गरेको पीडित बालिकाको भनाइ छ । तर, उनले जति दबाब आए पनि आफू मिलापत्र नगर्ने पक्षमा रहेको बताइन् । आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै पीडित बालिकाले दिएको जाहेरीका आधारमा प्रहरीले ११ माघमा मगरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले मगरलाई जिल्ला अदालत खोटाङबाट दोस्रोपटक बुधबार पुनः सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए । घटना २९ पुसको भए पनि बालिकाले ११ माघमा प्रहरीमा जाहेरी दिएकी थिइन् । 

बालिकाका अनुसार स्वास्थ्य चौकी सुन्तलेमा करार सेवामा कार्यरत अहेव मगरले स्वास्थ्य चौकीको एक कोठामा बालिकालाई बलात्कार गरेका थिए । मावली हजुरआमाको स्वास्थ्य जाँच गराउन गएकी बालिकालाई हजुरआमाको स्वास्थ्य अवस्थाबारे सोध्ने बाहना बनाएर मगरले एकान्त कोठामा लगेका थिए । ‘बिरामी हजुरआमालाई एउटा कोठामा छोडेर हजुरआमाको स्वास्थ्य अवस्थाबारे सोध्ने बहनामा मलाई अर्को कोठामा लग्यो । ढोका थुनेर जबर्जस्ती लुगा खोलेर बलात्कार ग¥यो । बाहिर हजुरआमासँग रहनुभएकी दिदीलाई बोलाउन खोज्दा मुख थुनिदियो,’ पीडित बालिकाले भनिन्, ‘जबर्जस्ती करणीपछि कसैलाई भने ज्यान मार्ने धम्की दियो । तैपनि डराउँदै दिदीलाई सुनाएँ । चौकीबाट घर फर्काएलगत्तै हजुरआमाको मृत्यु भयो । काजकिरिया सकेपछि मात्र ११ माघमा प्रहरीचौकी धर्तुङ पुगेर जाहेरी दिएकी थिएँ । त्यहाँबाट इलाका प्रहरी कार्यालय चिसापानी पठाइयो । त्यहाँ पनि हामी केही गर्न सक्दैनौँ भन्दै जिल्ला प्रहरी कार्यालय पठाए । प्रहरीमा उजुरी लिएर गएको थाहा पाएपछि मिलापत्र गर्न पटकपटक दबाब आइरहेको छ ।’ बालिकाले घटनामा मिलापत्र गर्न ५ माघमा गाउँ–समाजसमेत भेला भएको बताएकी छिन् । ‘पीडक पक्षले बोलाएको भेलामा सहभागीले समेत घटनालाई गाउँमै मिलापत्र गर्नुपर्छ भन्दै दबाब दिइरहेका छन् ।’ उनले भनिन्, ‘यस्तो मान्छेलाई कारबाही हुनुपर्छ भन्दा उल्टै धम्की आइरहेको छ ।’

घटनालाई मिलापत्र गर्न खोजेको विषयमा आफूलाई कुनै पनि जानकारी नभएको सुन्तलेका वडाध्यक्ष पदमबहादुर मगरले बताए । ‘स्वास्थ्यचौकी सञ्चालक समितिको अध्यक्ष आफैँ छु । बलात्कार आरोपमा करारमा कार्यरत अहेवलाई प्रहरीले पक्राउ गरेर लगेछ,’ उनले भने, ‘सत्यतथ्य छानबिन होस् । दोषी भए कारबाहीको दायरामा आउनुपर्छ । निर्दोष भए फसाउन पाइँदैन ।’