मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ९ आइतबार
  • Sunday, 21 April, 2024
रासस किमाथाङ्का
२०८० माघ १९ शुक्रबार १६:४३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बरुण नदीमा विद्युत् उत्पादन गर्न रोक

Read Time : > 1 मिनेट
रासस, किमाथाङ्का
२०८० माघ १९ शुक्रबार १६:४३:००

संखुवासभाको भोटखोला गाउँपालिकाले बरुण नदीबाट विद्युत् उत्पादनमा रोक लगाउने निर्णय गरेको छ। गाउँपालिकाले १३औँ बैठकबाट धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रअन्तर्गत पर्ने बरुण नदीबाट विद्युत् उत्पादनमा रोक लगाउने निर्णय गरेको हो।

मौलिक पहिचानका साथै अलौकिक शक्ति रहेको भनिएको उक्त नदी संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेपछि विद्युत् उत्पादनमा रोक लगाइएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले बताए। उनका अनुसार गाउँपालिकाको १३औँ बैठकबाट धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रअन्तर्गत पर्ने बरुण नदीबाट विद्युत् उत्पादन रोक लगाउने निर्णय भएको थियो।

नदीबाट १३२ मेगावाटको जलविद्युत् आयोजना निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत कात्तिक २३ गते निर्माण कम्पनीलाई अनुमति दिएको थियो।

विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागले धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रको अध्ययन नगरी निर्माण कम्पनीलाई कामको जिम्मा दिनु आपत्तिजनक भएको गाउँपालिकाका अध्यक्ष भोटेले बताए। ऐतिहासिक महत्वको मौलिक पहिचानको अस्तित्वमा खलल पार्ने किसिमबाट भएका गतिविधि कुनै हालतमा मान्य नहुने उनको भनाइ थियो।

बरुण नदीले ऐतिहासिक, धार्मिक एवं मौलिक पहिचान बोकेकाले यहाँबाट बिजुली उत्पादन गर्न नदिने भन्दै स्थानीयवासीले विरोध गरेका छन्। गोमुख गंगाको शिर बरुण नदी भएकाले ८४ हजार पितृको उद्धारका लागि शिवजीले जटा फिँजाएर गंगाबाट सेचन लिएको स्थानका रूपमा यसलाई लिने गरिएको पौराणिक मान्यता छ। यसरी पौराणिक महत्व बोकेको नदीको अहिले संरक्षण नहुँदा भविष्यमा यसको अस्तित्व हराउन सक्ने स्थानीयवासी बताउँछन्।

सत्ययुगमा जलका देवता इन्द्रले संरक्षण गरेका चार दिक्पालमध्ये दोस्रो दिक्पालका रूपमा बरुणलाई लिइएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। यस नदीको पानीको रङ अन्य नदीको भन्दा फरक अर्थात् नीलो छ।

बरुण नदी किनारमा माघ १ गते लाग्ने मकर मेला, भोट क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाबीचमा भेटघाट गर्ने मुख्य थलोका रूपमा लिइने गरिन्छ। बरुण नदीलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीले उत्तिकै महत्वका साथ हेर्ने गर्दछन्। अरुण र बरुण नदीलाई मामा र भान्जाको संज्ञा पनि दिने गरिएको छ।