१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ १६ मंगलबार १७:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओली पृथक् पहिचान भएका सर्वाधिक प्रतिभाशाली नेता : पूर्वराष्ट्रपति भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ १६ मंगलबार १७:४९:००

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओली नेपाली राजनीतिमा पृथक् पहिचान बोकेका सर्वाधिक प्रतिभाशाली नेता भएको बताएकी छिन्।

‘संसदमा केपी शर्मा ओली’ पुस्तकको लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। ‘पुस्तकका नायक केपी शर्मा ओली समकालीन राजनीतिक नेताहरूमा पृथक् पहिचान बनाउनुभएको नेता हुनुहुन्छ। सर्वाधिक प्रतिभाशाली नेताको रूपमा उच्च स्थान प्राप्त गर्न सफल उहाँ नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्रीसमेत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ,’ ओलीको व्यक्तित्वबारे चर्चा गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्।

ओलीमा धेरै विषयको ज्ञान रहेको चर्चा गर्दै उनले सबैका लागि प्रेरणा र ज्ञानको स्रोत भएको चर्चा गरिन्। ‘उहाँ राजनीतिक साथै कला, साहित्य, संस्कृति एवं धर्म दर्शन र विज्ञानलगायतका विषयमा समेत गहन ज्ञान भएको नेता हुनुहुन्छ। सघन अध्ययन र संघर्षमय जीवनको लामो अनुभवले खारिनुभएका नेता ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ,’ भण्डारीले भनिन्, ‘यसर्थ, केपी शर्मा ओलीले संसदमा गर्नुभएका भाषणहरू पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्त्वपूर्ण छन्। र, ती संकलनीय र संग्रहणीय पनि रहेका छन्।’

ओलीले संसदमा बोलेका कुराहरू कथ्यको रूपमा संसद् सचिवालयमा मात्रै थन्किरहेको अवस्थामा त्यसलाई अभिलेखीकरण गरी पुस्तकका माध्यमबाट सार्वजनिक गर्नु महत्त्वपूर्ण काम भएको भन्दै भण्डारीले त्यसले नेपालको लोकतान्त्रिक शासन व्यवस्था र राष्ट्रिय विकासका लागि राजनीतिक नेताहरूले गरेका सार्वजनिक अभिव्यक्तिहरूको दस्ताबेजीकरणले ठूलो महत्त्व राख्ने बताइन्।

सार्वजनिक भाषणहरूको दस्ताबेजीकरणले एकातर्फ राजनीतिक नेताहरूलाई आफूले जनताको सामु गरेका वाचाहरू, घोषणाहरू र गरेका कार्यहरूका लागि जवाफदेही बनाउन सहयोग गर्ने र अर्कोतर्फ आफ्नो विचार, दृष्टिकोण एवं पहलहरूलाई जनतासमक्ष पुर्‍याउन सञ्चार पुलको कामसमेत गर्ने भण्डारीको भनाइ थियो।