मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format ११:४७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एनआरएनएको सहयोगमा सेतीमा अक्सिजन प्लान्ट स्थापना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४७:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ। एक करोड ३५ लाख रुपैयाँको लागतमा स्थापना गरिएको अक्सिजन प्लान्ट एनआरएनएले अस्पताललाई बिहीबार हस्तान्तरण गरेको छ।

प्लान्ट हस्तान्तरण गर्न आयोजित कार्यक्रममा संघका अध्यक्ष बद्री केसीले कोरोना संक्रमणकालमा जस्तो अक्सिजनको अभावमा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भनेर सेतीमा अक्सिजन प्लान्ट स्थापना गरिएको बताए। अक्सिजनको समस्याको स्थायी समाधान प्लान्ट नै भएकाले प्लान्ट स्थापना गरिएको उनले बताए।

अध्यक्ष केसीले कोरोना संक्रमणकालका वेला पनि एनआरएनएको अगुवाइमा गैरआवासीय नेपालीले नेपाललाई मास्क, किटजस्ता स्वास्थ्य सामग्री तथा अक्सिजन सिलिन्डर, अक्सिजन कन्सल्टेटर सहयोग गरेको स्मरण गरे।

‘कोरोनाका वेला नेपालमा बिरामीले अक्सिजन नपाउँदा हामी विदेशमा रहेका नेपालीले अक्सिजन सिलिन्डर, अक्सिजन कन्सल्टेटर खोजेर पठायौँ, त्यसले धेरै नेपालीको ज्यान जोगायो,’ अध्यक्ष केसीले भने, ‘अक्सिजन अभावमा बिरामीले ज्यान गुमाउन नपरोस् भनेर सेती र महाकाली अस्पतालमा प्लान्ट स्थापना गरेका हौँ ।’

उनले विदेशमा रहे पनि नेपालीले नेपाललाई सहयोग गर्न खोजेको बताए। एनआरएनएले यसअघि पनि सुदूरपश्चिममा महिलाको आङ खस्ने समस्यासम्बन्धी स्वास्थ्य शिविर गरेको उनले बताए। संघका उपाध्यक्ष रामशरण सिंखडाले विदेशमा रहेका नेपालीबाट संकलित रकमले अस्सिजन प्लान्ट स्थापना गरिएको बताए।

प्लान्टबाट प्रतिघन्टा आठवटा सिलिन्डर उत्पादन क्षमता रहेको अस्पतालले जनाएको छ। अस्पताल प्रशासनका अनुसार अक्सिजनमा अहिले सेती आत्मनिर्भर बनेको छ। अस्पताल विकास समितिका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले अक्सिजन प्लान्ट स्थापनाले कोरोनाकालको जस्तो अक्सिजन नपाएर मान्छेले ज्यान गुमाउनुपर्ने अवस्था नदोहोरिने बताए।

एनआरएनए र विदेशमा रहेका नेपालीबाट अस्पतालको विकासमा निरन्तर सहयोग रहने अपेक्षा गरेको उनले बताए। अध्यक्ष शाहले सेतीमा कार्यरत स्वास्थ्य जनशक्तिलाई विदेशमा गएर स्तरीय तालिम दिने कार्यमा सहयोग गर्न पनि गैरआवासीय नेपालीलाई आग्रह गरे। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. खगेन्द्र भट्टले अक्सिजन प्लान्ट स्थापना भएपछि अस्पताललाई ठूलो सहयोग पुगेको बताए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउदले शिक्षा र स्वास्थ्यमा यहाँका नागरिकको पहुँच बढाउन प्रदेश सरकारले प्रयास गरिरहेको बताए।

शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि स्रोतको कमी रहेको उल्लेख गर्दै उनले विदेशमा रहेका नेपालीबाट प्रदेश सरकारले साथ र सहयोग खोजेको बताए। ‘सेती सुदूरपश्चिमको रेफरल सेन्टर हो,’ मन्त्री साउदले भने, ‘प्रदेशको स्वास्थ्यलाई यही अस्पतालले थेगेको छ।’ 

महाकाली प्रादेशिक अस्पतालमा पनि करिब सवा करोडको लागतमा अक्सिजन प्लान्ट स्थापना गरिएको संघले जनाएको छ।