१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १० बुधबार
  • Saturday, 21 September, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८o माघ १० बुधबार १२:o६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शतप्रतिशत बढ्यो शंकास्पद कारोबार

पाँच हजार नौ सय ३५ कारोबार सन्देहपूर्ण, भुक्तानी सेवाप्रदायकमा पनि देखिन थाल्यो समस्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ १० बुधबार १२:o६:oo

नेपालमा शंकास्पद कारोबार बर्सेनि चुलिँदो रहेको नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइको वार्षिक प्रतिवेदनले देखाएको छ । आर्थिक वर्ष ०७८/७९ मा दुई हजार सात सय ८० पटक शंकास्पद कारोबार रिपोर्टिङ भएकोमा ०७९/८० मा बढेर पाँच हजार नौ सय ३५ पुगेको छ । तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष शंकास्पद कारोबार ११३ प्रतिशतले बढेको छ ।

संस्थाहरूलाई कुनै पनि कारोबार शंकास्पद लागेमा त्यसको जानकारी तीन दिनभित्र वित्तीय जानकारी एकाइलाई गराउनुपर्ने व्यवस्था सम्पत्ति शुद्धीकरण निवारण ऐनमा उल्लेख छ । सोहीअनुसार वित्तीय संस्थाहरूले यस्तो रिपोर्टिङ गरेका हुन् । 

शंकास्पद कारोबारको रिपोर्टिङ बढ्नुले सम्पत्ति शुद्धीकरण निवारणको दायरा बढ्दै गइरहेको संकेत दिएको वित्तीय जानकारी एकाइका प्रमुख दीर्घबहादुर रावलले बताए । उनका अनुसार पछिल्लो समय नयाँ क्षेत्रबाट पनि शंकास्पद कारोबारको रिपोर्टिङ आउन थालेका छन् । उनले भने, ‘यसले सम्पत्ति शुद्धीकरणसम्बन्धी सचेतनामा समेत वृद्धि भइरहेको देखाउँछ । प्रणालीप्रतिको विश्वास पनि बढ्दै गइरहेको छ ।’

वित्तीय संस्था, गैरवित्तीय पेसाकर्मी वा व्यवसायीले यस्तो कारोबारको रिपोर्टिङ गर्न सक्छन् । यस्ता संस्थाले ग्राहक, कारोबार वा सम्पत्ति शंकास्पद लागेमा तीन दिनभित्र वित्तीय जानकारी एकाइलाई पठाउनुपर्ने ऐनमा व्यवस्था छ । कुनै सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरसँग सम्बन्धित भएको शंका लागेमा वा शंका गर्ने मनासिव आधार भएमा शंकास्पद मान्नुपर्ने ऐनमा उल्लेख छ । त्यस्तै, कुनै सम्पत्ति आतंककारी कार्य, आतंककारी व्यक्ति वा आतंककारी संगठन वा क्रियाकलापमा वित्तीय लगानीसँग सम्बन्धित वा जोडिएको विषय शंकास्पद लागेमा पनि यस्तो मान्नुपर्ने उल्लेख छ । कुनै ग्राहकले यस्तो प्रयास गरेमा मात्रै पनि प्रतिवेदन दिनुपर्ने भनिएको छ ।  

 सबैभन्दा बढी वाणिज्य बैंकमा बढ्यो सन्देहपूर्ण कारोबार
एकाइलाई प्राप्त जानकारीअनुसार हालसम्म वाणिज्य बैंकबाट बढी सन्देहपूर्ण कारोबारको रिपोर्टिङ भएको छ । आव ०७९÷८० मा वाणिज्य बैंकहरूबाट पाँच हजार एक सय ८७ वटा कारोबार सन्दिग्ध रहेको रिपोर्टिङ भएको छ । यो कुल सन्देहपूर्ण कारोबारको ८७ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार दुई हजार तीन सय ८० वटा यस्ता कारोबार रिपोर्टिङ भएका थिए । 

त्यस्तै, विकास बैंकबाट दुई सय ५७ कारोबार सन्देहपूर्ण देखिएका छन् । फाइनान्स कम्पनीबाट ४४ वटा कारोबार शंकास्पद देखिएको रिपोर्टिङ भएको छ । त्यस्तै, इन्स्योरेन्स कम्पनीहरूबाट पनि १९ वटा कारोबार शंकास्पद रहेको रिपोर्टिङ भएको छ । लघुवित्त वित्तीय संस्थाहरूबाट भने आर्थिक वर्ष ०७८/७९ को तुलनामा कम शंकास्पद कारोबार रिपोर्टिङ भएको छ ।

आव ०७८/७९ मा ४४ शंकास्पद कारोबार रिपोर्टिङ गरेका लघुवित्तहरूले गत आवमा २८ वटा मात्रै यस्तो कारोबार रिपोर्टिङ गरेका छन् । त्यस्तै, रेमिट्यान्स कम्पनीहरूबाट पनि शंकास्पद कारोबारको रिपोर्टिङमा कमी आएको छ । ०७८/७९ मा एक सय ८७ कारोबार शंकास्पद रिपोर्टिङ गरेका रेमिट्यान्स कम्पनीहरूले ०७९/८० मा एक सय ४६ यस्तो कारोबार रिपोर्टिङ गरेका छन् । 

धितोपत्र कम्पनीहरूबाट भएको रिपोर्टिङअनुसार भने शंकास्पद कारोबार बढेको देखिन्छ । यस्ता कम्पनीहरूले अघिल्लो आर्थिक वर्षमा आठ शंकास्पद कारोबार रिपोर्टिङ गरेकोमा गत आवमा ४६ यस्तो कारोबारको जानकारी दिएका छन् । सहकारीबाट भने जम्मा एउटा मात्रै कारोबार रिपोर्टिङ भएको छ ।