मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १० बिहीबार
  • Thursday, 22 February, 2024
श्रवण थापा सर्लाही
२०८० माघ ९ मंगलबार १४:२६:००
Read Time : > 2 मिनेट
फिचर डिजिटल संस्करण

विदेशबाट फर्किएका विष्णु दुनोट बनाएर मनग्य कमाउँदै

Read Time : > 2 मिनेट
श्रवण थापा, सर्लाही
२०८० माघ ९ मंगलबार १४:२६:००

एउटा पुरानो ठेलागाडामा ग्यास चुलोमाथि कालो कराहीमा एकनासले तेल उम्लिरहेको छ। त्यही तातो तेलमा भ्याइनभ्याई गरी दुनोट पकाउन व्यस्त छन् विष्णु कोइराला। ठेलाअगाडि झुम्मिरहेका ग्राहकलाई एक–एक गरी दुनोट दिन पनि उनलाई भ्याइनभ्याई छ।

सर्लाहीको हरिपुर नगरपालिका– १ जानकी नगरनिवासी विष्णु कोइरालाको दैनिकी अचेल यसैगरी बितिरहेको छ । उनको यो दैनिकी सुरु भएको झन्डै आठ वर्ष पुगिसकेको छ। ५० हजार लगानी गरेर दुनोट बनाउने पेसा सुरु गरेपछि उनले पछाडि फर्किएर हेर्नुपरेको छैन। यो पेसाले विदेशसमेत बिर्साइदिएको उनी बताउँछन्।

विभिन्न पेसा र रोजगारीबाट हन्डर खाएपछि आठ वर्षअघि यो पेसामा आएर रोकिएको कोइरालाले सुनाए। सामान्य खेतीकिसानी गर्ने उनले १० वर्षअघि कमाउने अन्य बाटो खोज्न थाले। 

०६२/६३ सालमा उनले ब्रोइलर कुखुरापालन गरे। व्यवसाय भर्खर सुरु गरेका थिए। त्यसमा पनि खोरलगायतका कुरा भाडामा लिएका थिए। कुखुराका चल्ला, दाना र ओषि उस्तै महँगो । कोइराला सम्झन्छन्, ‘चैत–वैशाखको गर्मी थियो । तापक्रम अत्यधिक भएर पाँच सयमा चार सय ५० वटा चल्ला त मरे।’ खोरमा चल्ला मात्र मरेन, कोइरालाको सपना पनि मर्‍याे।

फेरि खोरमा चल्ला राख्न उनीसँग न पैसा थियो, न आँट नै । त्यसपछि केही ऋणधन गरेर उनी साउदी पुगे। दुई वर्ष बस्दा पनि सोचेजस्तो कमाइ भएन। होटेलमा काम गरेका उनले मुस्किलले आफू जाँदाको ऋण तिरेर विदेश बसुन्जेल परिवारको खर्च धानेको सुनाए।

उनी नेपाल फर्किए। छोराछोरी र परिवारको जिम्मेवारी थपिएपछि उनलाई घर छाडेर टाढा जाने आँट भएन। त्यसपछि उनले देशमै दुनोट बनाउने पेसा अँगाल्ने निधो गरे। ‘दिनमा हजार, एक हजार पाँच सय कसो नहोला भनेर सुरु गरेको हो। तर, अहिले  त दुनोट बेचेर लागत कटाएर दैनिक दुई हजार– दुई हजार पाँच सयसम्म फाइदा गरेको छु,’ उनले भने। जाडोमा त कामले फुर्सदसमेत नहुने उनले सुनाए।

विष्णु बिहान ४ बजे नै घरबाट निस्कन्छन्। बिहान ५ बजे बजार आइपुग्छन् अनि सुरु हुन्छ उनको दुनोट पसल। बिहान ९ बजेसम्म हरिवन बजारका विभिन्न चोकमा ताजा दुनोट बेचेर उनी घर फर्कन्छन्। घरमा खाना खाएर दिउँसो १२–१ बजे उनी पुनः हरिवन आइपुग्छन्। साँझ अबेरसम्म दुनोट बेचेर घर फर्कने गरेको उनले बताए। फुर्सदमा परिवारसँग खेतीपातीको काम पनि उनले गरिरहेका छन्।

दुनोट बेचेर कमाएको पैसाले उनले परिवार र घरखर्च मात्र धानेका छैनन्, झन्डै १२–१३ लाखको लागतमा पक्की घरसमेत बनाएका छन्। ‘घर बनाएको केही ऋण बाँकी छ,’ उनले भने, ‘त्यो पनि तिरिरहेको छु। दुई छोरीलाई गाउँकै बोर्डिङ स्कुलमा पढाएको छु। एउटा छोरो हुर्कँदै छ । सबै खर्च यसैबाट चलाइरहेको छु।’ यो पेसा सुरु गरेदेखि आजसम्म पेसाप्रति कुनै दुखेसो गर्नु नपरेको उनले सुनाए।

‘आज व्यापार भएन, अल्छी लाग्यो भन्ने दिन कहिले आएन,’ उनले भने, व्यापार हो । कहिलेकाहीँ धेरै–थोरै हुनु सामान्य कुरा हो। तर, चलेन भन्ने अवस्था कहिले आएन।’ कुनै सामान्य सीप सिक्ने र मिहिनेत गर्ने हो भने ३०–३५ हजार महिनाको कमाउन विदेश जान नपर्ने उनको तर्क छ। तर, पेसाप्रतिको विभेद अन्त्य गर्नुपर्ने उनको बुझाइ छ।

अचेल उनी हरिवन बजार क्षेत्रमा दैनिक २५ देखि ३० किलो पिठोको दुनोट बनाएर बेच्छन्। यसरी दुनोट बेचेर कमाएको पैसा केही सहकारीमा जम्मा गरेका छन्। ‘कमाएको पैसा बचत पनि भएको छ,’ उनले भने, ‘परिवारमा सामान्य केही परे केही हजारका लागि कसैलाई गुहार्नुपर्दैन। त्यसमा पनि घरगाउँकै व्यापार भएकाले घरखेतमा काम हुँदा सघाउन पनि पाइएको छ। त्यताबाट पनि वर्षभरिको अन्नपातको जोहो भइरहेको छ । विदेश बसेर यो पारिवारिक अवस्था कहाँ पाइन्छ ?’

एकपटक विदेश बसेर फर्किएका उनले परिवारसँगको विछोड बुझेका छन्। ‘त्यसले गर्दा पनि परिवारसँगै बसेर काम गर्ने निर्णय लिएको हुँ। बालबच्चासँगै छन्। परिवारसँग दुःखसुख साट्न पाइएको छ। अरू के चाहियो ? मानिसलाई कति कमाए पुग्ने हो र ?’ विष्णुले प्रश्न गरे।