१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १८:५२:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

प्रधानमन्त्री कप : आर्मीविरुद्ध पुलिस १३ रनले विजयी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:५२:oo

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध १३ रनको जित निकालेको छ। आइतबार भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा खराब मौसमका कारण खेल ३३ ओभरमा छोट्याइएको थियो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ३१ ओभर ४ बलमा अलआउट हुँदै १४० रन बनाएको थियो। खेलमा १४१ रनको लक्ष्य पछ्याउने क्रममा आर्मी ३२ ओभर २ बलमा १२७ रनमा अलआउट हुँदा जित पुलिसको पोल्टामा परेको हो। 

योसँगै पुलिस क्लबले प्रधानमन्त्री कपमा लगातार तेस्रो जित निकालेको छ। आर्मी क्लबले प्रतियोगितामा ४ मध्ये २ खेलमा हार व्यहोरिसकेको छ। 

पुलिसका बलर चम्किँदा आर्मीका शीर्ष तीन ब्याट्सम्यान खाता नखोली आउट भए। ओपनरद्वय इमरान शेख र सन्तोष कार्की तथा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप राजाली शून्य रनमा आउट हुँदा पुलिसलाई सहज भयो।

इमरानलाई पहिलो ओभरको अन्तिम बलमा सागर ढकालले बोल्ड गरे। त्यसपछि सन्दीपलाई पनि तेस्रो ओभरको चौथो बलमा सागरले नै बोल्ड गरेका थिए। सन्तोषलाई अर्को ओभरमा ललित राजवंशीको बलिङमा अर्जुन साउदले स्टम्प आउट गरे।

आर्मीले तीन रनमा तीन विकेट गुमाएपछि नेपाली राष्ट्रिय टोलीका नियमित खेलाडी कुशल मल्ल र भीम सार्कीले खेललाई सम्हालेका थिए। भीम र कुशलले चौथो विकेटका लागि ८९ रनको साझेदारी गरे। कुशल मल्ल ४८ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ३५ रन बनाएर २२औँ ओभरमा पेभेलियन फर्किएका थिए।

भीम पनि २६औँ ओभरमा आउट भए। उनले ७६ बलमा ६ चौका प्रहार गर्दै ५२ रनको अर्धशतकीय पारी खेले पनि टिमले जित निकाल्न सकेन। त्यसपछि बसिर अहमद र विवेक यादव एकपछि अर्को गर्दै क्रमशः शून्य र दुई रनमा आउट हुँदा आर्मी अप्ठ्यारोमा पर्दै गयो।

आर्मीका कप्तान विनोद भण्डारीलाई ललित राजवंशीले १९ रनमा आउट गरे। सोमपाल कामी पनि तीन रन बनाएर रासिद खानको बलमा आउट भए। यस्तै, रसिद खानले नै अन्तिम ओभरमा साहब आलमलाई आउट गरेर पुलिसको जित सुनिश्चित गरे।

बलिङतर्फ पुलिसका सागर ढकाल र ललित राजवंशीले समान तीन–तीन विकेट लिए भने रसिद खानले दुई विकेट लिन सफल भए। सागरले सात ओभरमा दुई मेर्डनसहित १४ रन मात्र दिए। दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे। त्यसअघि आर्मीका तीव्र गतिका बलर सोमपाल कामीको घातक बलिङमा नेपाल पुलिस क्लबले आर्मीलाई मध्यम योगफलमा रोकेको थियो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिस ३१ ओभर ४ बलमा अलआउट हुँदै १४० रनमा समेटिएको थियो। आर्मीको जस्तै पुलिसको सुरुवात पनि खराब थियो। १७ रनमा सुरुवाती तीन विकेट गुमाएपछि पुलिस एक समय निकै समस्यामा थियो। ओपनर कुशल भुर्तेल सोमपाल कामीको पहिलो बलमा नै ‘कट बिहाइन्ड’ भएर आउट भए। विकेटकिपर अर्जुन साउद २५ बलमा १० रन मात्र बनाएर आउट हुँदा दिलीप नाथ पनि शून्यमा बोल्ड भए। तीनै विकेट सोमपालले लिएका थिए।

ओपनर सुनील धमला र आरिफ शेखले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै पुलिसको इनिङलाई बलियो बनाएका थिए। आरिफ ३४ बलमा तीन चौका प्रहार गर्दै १८ रनमा २३औँ ओभरमा आउट भए। त्यसपछि ब्याटिङमा आएका शंकर रानाले मात्र पाँच रन बनाउन सके। ओपनर सुनील धमलाले तीन चौका र दुई छक्काका साथ ८० बलमा ५२ रन बनाएर पेभेलियन फर्किए। कप्तान दीपेन्द्रसिंह ऐरी पनि धेरैबेर क्रिजमा टिक्न सकेनन्। उनी १३ रन जोडेर रन आउट भए।

अलराउन्डर रासिद खानले १७ बलमा १३ रन बनाएर सोमपालको शिकार बने। त्यसपछि करन केसी १० रनमा साहब आलमको बलमा बोल्ड भए। अन्तिममा ब्याटिङ गर्न आएका ललित राजवंशी पनि साहबकै पहिलो बलमै बोल्ड भए। सागर ढकाल ३ रनमा नटआउट रहे।

आर्मीका लागि सोमपाल कामीले घातक बलिङ गर्दै ६ ओभरमा ३ मेर्डनसहित १२ रन दिएर ४ विकेट लिए। विवेक यादवले सात ओभर बलिङ गर्दै ३७ रन दिएर दुई विकेट लिए। साहब आलमले पनि ६.४ ओभर बलिङ गर्दै २६ रन खर्चेर दुई विकेट लिए।

तीन खेलमा जित हात पार्दै पुलिस अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। आर्मी चार खेलबाट चार अंक जोडेर छैटौँ स्थानमा छ।

ad
ad