१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० माघ ६ शनिबार ०६:५८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कैलालीमा जथाभावी औषधि सेवन र अनिच्छुक गर्भपतन गराउने अविवाहित र किशोरीको संख्या बढ्दो

Read Time : > 2 मिनेट
२०८० माघ ६ शनिबार ०६:५८:००

असुरक्षित रूपमा गर्भपतन गराउन खोज्दा अत्यधिक रक्तस्राव भएर गत साउनमा धनगढीमा एक महिलाको मृत्यु भयो । धनगढी उपमहानगरपालिका– १२ की ३५ वर्षीया प्रीति थापाले एक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाइन् । औषधि खाएको केही समयमा अत्यधिक रक्तस्राव हुन थालेपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । तर, उपचारका क्रममै उनको मृत्यु भयो ।

औषधि बिक्री गर्ने मेरी स्टोप सामुदायिक क्लिनिक सुरक्षित गर्भपतनका लागि सूचीकृत थिएन । गर्भपतन गराउन क्लिनिकले जथाभावी औषधि दिएको भन्दै मृतकका आफन्त आन्दोलनमा उत्रिएपछि प्रहरीले क्लिनिक सञ्चालकलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढायो । असुरक्षित रूपमा गर्भपतन गराउन खोज्दा प्रीतिले ज्यान गुमाउनुपर्‍यो ।

सूचीकृत नभएका स्वास्थ्य संस्थाबाट असुरक्षित रूपमा गर्भपतन गराउन खोज्दा ज्यान जोखिममा परेका उदाहरण धेरै छन् । केही समयअघि मेडिकलबाट गर्भपतन गराउने औषधि खाएपछि रक्तस्राव भएर धनगढीकै एक महिला सेती प्रादेशिक अस्पताल भर्ना भइन् । उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार जथाभावी औषधि सेवनले रक्तस्राव भएर उनको पाठेघरमा गम्भीर समस्या देखिएको थियो । 

‘ती महिलाले मेडिकलबाट गर्भपतन गराउने औषधि किनेर खाएकी रहिछन् । अत्यधिक रक्तस्रावसँगै बच्चादानीमा प्वाल परेको देखिएपछि बच्चादानी नै निकालेर फाल्नुप¥यो,’ सेती प्रादेशिक अस्पतालको सुरक्षित गर्भपतन सेवाका इन्चार्ज भगवती पडालले भनिन्, ‘गर्भपतनका लागि मेडिकलबाट औषधि किनेर खाने र स्वास्थ्यमा जटिलता देखिएपछि अस्पताल भर्ना हुने धेरै छन् ।’ यस्तो समस्या लिएर आउनेमा अविवाहित र किशोरीहरू पनि रहने गरेका उनले बताइन् ।

जथाभावी औषधि सेवन गर्ने तथा गर्भपतनको अनुमति नपाएका मेडिकल, क्लिनिक र निजी अस्पतालबाट गर्भपतन गराउनाले पाठेघरमा समस्या आउनुका ज्यानसमेत गुमाउनुपरेको घटना हुने गरेका पडालले बताइन् । धनगढीमा लुकीछिपी अनुमतिविना गर्भपतनको औषधि बिक्री गर्ने तथा गर्भपतन गराउने कार्य भइरहे पनि सरोकारवाला निकायले त्यसलाई रोक्न सकेको छैन । ‘धनगढीकै कतिपय मेडिकल र अस्पतालले अनुमतिविना गर्भपतन गराउने गरेको सुनिन्छ, त्यसलाई रोक्ने दायित्व प्रशासनको हो,’ पडालले भनिन्, ‘त्यस्तो ठाउँमा गर्भपतन गराउँदा समस्या देखिएपछि उपचारका लागि हामीकहाँ आउँछन् ।’ सीमावर्ती भारतीय बजारमा गएर भ्रूण परीक्षण र असुरक्षित रूपमा गर्भपतन गराउनेको धेरै रहेको बताइन्छ । 

गत महिना गर्भपतन जटिलताका कारण दुई महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कैलालीमा गत आर्थिक वर्षमा एक सय ८० महिलाले गर्भपतनको जटिलता भोग्नुपरेको स्वास्थ्य कार्यालयको तथ्यांक छ । गर्भपतनको जटिलता भोगेकामध्ये कतिपय गर्भपतनको अनुमति नपाएको स्वास्थ्य संस्थाबाट औषधि किनेर गर्भपतन गराउन खोज्नेहरू रहेका स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स आशा थापाले बताइन् । असुरक्षित ठाउँमा गर्भपतन गराउन खोज्दा स्वास्थ्यमा जटिलता भोग्नुपरेका धेरै घटना रहेको उनको भनाइ छ ।

‘गर्भपतन गराउन मेडिकलबाट औषधि किनेर खाने र रक्तस्रावले स्वास्थ्यमा जटिलता देखिएपछि अस्पताल भर्ना हुनुपर्ने केसहरू छन्,’ उनले भनिन्, ‘असुरक्षित गर्भपतनले जोखिम निम्त्याउने गरे पनि यो कार्य रोकिएको छैन ।’ लिंग परीक्षण, गोपनीयता, गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थामा पहुँच नहुनु, जानकारीको कमीलगायत कारणले कतिपयले मेडिकलबाट औषधि किनेर असुरक्षित रूपमा गर्भपतन गराउने गरेको उनले बताइन् ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा पाँच हजार १८१ महिलाले १२ हप्तासम्मको गर्भपतन गराएका थिए । त्यसमध्ये २० वर्ष उमेरमुनिका दुई सय ३७ जना छन् । त्यस्तै, सो अवधिमा दुई सय ९६ जनाले १२ हप्ताभन्दा माथिको गर्भपतन गराएका पब्लिक हेल्थ नर्स थापाले जानकारी दिइन् । १२ हप्तामाथिको गर्भपतन गराउनेमध्ये २० वर्षमुनिका ४० जना छन् । 

चालू आर्थिक वर्षको मंसिरसम्ममा दुई हजार २३२ जनाले गर्भपतन गराएका छन् । गर्भपतन गराउने २० वर्षमुनि संख्या एक सय १३ र १२ हप्तामाथिको गर्भपतन गराउने संख्या एक सय ३६ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पब्लिक हेल्थ नर्स थापाका अनुसार गर्भपतन गराउनमध्ये अविवाहित र किशोरी पनि छन् । सरकारले १२ हप्तासम्मको गर्भपतन गराउने मान्यता दिएको छ । त्यो पनि सूचीकृत स्वास्थ्य संस्थामा मात्र गराउन पाइन्छ । हाडनाता करणी तथा गर्भका कारण महिलाको स्वास्थ्यमा जटिलता आउने अवस्थामा मात्र १२ हप्तामाथिको गर्भपतन गराउन पाउने व्यवस्था रहेको थापाले बताइन् ।