Skip This
दक्षिण कोरियामा कुकुर वधमा प्रतिबन्धको प्रभाव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ५ शुक्रबार
  • Saturday, 27 July, 2024
जोन नाइट
जुलियन डुगनोइल
२o८o माघ ५ शुक्रबार १o:४७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

दक्षिण कोरियामा कुकुर वधमा प्रतिबन्धको प्रभाव

Read Time : > 2 मिनेट
जोन नाइट
जुलियन डुगनोइल
नयाँ पत्रिका
२o८o माघ ५ शुक्रबार १o:४७:oo

कुकुरको वध गरेर मानवीय उपभोगका लागि मासु बिक्रीलाई अवैध घोषणा गर्ने विधेयक पारित भएसँगै दक्षिण कोरियामा कुकुरको मासुको व्यापार सन् ०२७ मा औपचारिक रूपमा बन्द हुनेछ । तर, नयाँ कानुनले कुकुरको मासु उपभोगमा भने बन्देज लगाएको छैन । यदि कुनै व्यक्तिले यो कानुन उल्लंघन गरेमा २२ हजार डलरभन्दा बढी जरिवाना तिर्नुपर्नेछ र तीन वर्षको जेल सजाय व्यहोर्नुपर्नेछ ।

दक्षिण कोरियामा यो विधेयक पारित हुनुलाई जनावर संरक्षण संस्थाहरूको विजयका रूपमा अथ्र्याइएको छ । तर, कानुनको विरोध पनि भएको छ । विशेषतः कुकुरको मासु खान पाउनुपर्छ भन्ने संस्थाले विरोध गरेका छन् । किनभने कानुनसँगै कुकुरपालक किसान र आपूर्तिकर्ता प्रत्यक्ष रूपमा प्रभावित हुनेछन् । दक्षिण कोरियामा सुँगुर, गाई र कुखुरापछि सबैभन्दा बढी उपभोग गरिने मासु कुकुरकै हो ।

यद्यपि कुकुरको मासुको सेवन पछिल्ला केही दशकयता घट्दो क्रममा छ । र, मुलुक कुकुरको मासु खाने वा नखाने भन्नेमा आधा शताब्दीयतादेखि विभाजित छ । केहीका लागि कुकुरको मासुको व्यापार सांस्कृतिक साम्राज्यवादविरुद्धको संघर्ष हो भने केहीका लागि यस्तो व्यापार आधुनिकताको अवरोधक हो । यो सबै हुँदा अन्य जनावर, जसको मृत्यु र मासुको व्यापार ठूलो मात्रामा हुने गर्छ, तीप्रतिचाहिँ कमै मान्छेको ध्यान पुगेको छ । कोरियामा कुकुरको मासु उपभोगको इतिहास निकै पुरानो छ । केही कोरियाली विद्वान्का अनुसार नवपाषाण युग (इसापूर्व ६००० देखि २००० वर्षको समय) मा भेटिएका अवशेषमा कुकुरको मासु उपभोग गरिएको प्रमाण पत्ता लागेको छ । 

केहीका लागि कुकुरको मासुको व्यापार सांस्कृतिक साम्राज्यवादविरुद्धको संघर्ष हो भने केहीका लागि यो आधुनिकताको अवरोधक हो

कोरियामा कुकुरको मासुलाई लिएर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तनाव सन् १९८८ को सियोल ओलम्पिक्समा देखिएको थियो । त्यसवेला दक्षिण कोरियाली सरकारले परम्परागत बजारमा कुकुरको मासु व्यापारमा अस्थायी प्रतिबन्ध लगाएको थियो । त्यसैगरी, कुकुरको मासु बेच्ने पसलेलाई विदेशी आगन्तुक दुःखी नहोऊन् भनेर कुकुरको अस्थिपञ्जर लुकाउन निर्देशन दिइएको थियो । कोरियाली सरकारको यो निर्देशनलाई कोरियाका नागरिक समाजले उपनिवेशकालीन सांस्कृतिक साम्राज्यवाद भन्दै आलोचना गरेका थिए । यो घटनाक्रमले राष्ट्रिय गौरवको भावनालाई बढायो र कुकुरको मासु खाने प्रचलनलाई जोगाउन कोरियालीलाई उद्यत् बनायो ।   

यस्तै प्रतिबन्ध सन् २००२ को फिफा विश्वकप दौरान पनि देखियो (त्यसवेला दक्षिण कोरियाले फुटबल विश्वकपको सहआयोजना गरेको थियो) । नतिजा, त्यसवेला जनस्तरबाट कडा प्रतिक्रिया आएको थियो । प्रभावशाली कोरियाली सार्वजनिक एवं राजनीतिक व्यक्तिले कुकुरको मासुलाई राष्ट्रिय संस्कृतिको प्रतीक मानेका थिए । यस्तै तनाव सन् २०१८ को पियोङच्याङमा शीतकालीन ओलम्पिक्समा पनि देखियो । त्यसवेला पनि सरकारले कुकुरको मासु बेच्ने रेस्टुराँ बन्द गर्ने र कुकुरको हड्डी लुकाउने योजना अघि सारेको थियो ।   

तर, विशेषतः सन् २००० देखि कोरियामा कुकुरको मासुको उपभोग नाटकीय रूपमा घटेको छ । सन् २००२ मा दक्षिण कोरियामा कुकुरको मासु सेवनका लागि ३० लाख कुकुरको वध गरिएको थियो । तर, सन् २०२० को दशकको सुरुवातमा जनावर संरक्षण समूह काराका अनुसार यो आँकडा १० लाखभन्दा मुनि झरेको थियो, अर्थात् वधसंख्या दुईतिहाइले घटेको थियो ।

हालैको दशकमा जनावर संरक्षण कोषहरूले कुकुरको मासुको व्यापारमा रोक लगाउन नागरिक अभियान नै चलाइरहेका छन् । यस आन्दोलनलाई नवायुवाले समर्थन गरिरहेका छन् । सम्भवतः नवयुवा जनावरलाई सौखका रूपमा पाल्ने संस्कृति ‘पेट कल्चर’बाट प्रभावित भएर अघिल्लो पुस्तालाई चुनौती दिइरहेका छन् ।

कोभिड महामारीले पनि पछिल्ला केही वर्षयता कुकुरको मासुको उपभोगमा भारी गिरावट ल्याएको हुन सक्छ । कोभिड महामारी फैलिनुअघिसम्म पनि परम्परागत बजारमा कुकुरको वध हुने गथ्र्र्यो । महामारी फैलिएपछि नगरपालिकाका अधिकारीले खुद्रा व्यापारीलाई कुकुरको वधशाला बन्द गराउन सहमत गराएका थिए ।

हामीमध्येको एक (जुलियन डुगनोइल) ले अन्य अनुसन्धातासँग मिलेर गरिरहेको अनुसन्धानमा महामारीले कुकुरको मासुको उपभोग घटाएको हुन सक्ने देखाएको छ । यो परिवर्तनले सहरलाई जनावर र मानिसमा फैलिन सक्ने रोगको जोखिमबाट मुक्त राख्ने बहस सिर्जना गरेको छ ।

सन् २०१४ यता नगरपालिकाहरूले कुकुरको खुद्रा मासु विक्रेतालाई परम्परागत बजारमा मासु पसल बन्द गरेबापत क्षतिपूर्ति दिँदै आएका छन् । तर, अब पूर्ण प्रतिबन्ध हुने कानुन बनेपछि कुकुरपालक किसानले क्षतिपूर्तिको माग गरिरहेका छन् । 

कोरियन डग मिट एसोसिएसनले पारित भएको विधेयकमा शक्तिको दुरुपयोग गरिएको आरोप लगाएको छ । यसबाहेक एसोसिएसनले पारित विधेयकले कुकुरको मासु खानेको अधिकार हनन गरेको जनाएको छ । गत डिसेम्बरमा एसोसिएसनले प्रत्येक कुकुरपालक किसानलाई प्रतिकुकुर एक हजार पाँच सय डलरबराबरको क्षतिपूर्ति र दशवर्षे छुट दिनुपर्ने माग गरेका छन् ।

कुकुर वध प्रतिबन्ध कोरियाली कुकुर, कुकुरप्रेमी र जनावर अधिकारकर्मीका लागि खुसीको समाचार भए पनि पुस्तौँदेखि कुकुरपालन गर्दै आएका किसानलाई यस प्रतिबन्धले नराम्ररी प्रभावित पार्नेछ । यो कानुन बनेर कोरियामा कुकुरको मासु सेवनमा प्रतिबन्ध भने लागेको होइन, किनभने कानुनले वधलाई रोक्छ तर आयातित मासुलाई रोक्दैन । तथापि कानुन बन्दा मासु खपत हुने जनावरभन्दा कुकुर अब्बल ठहरिने भने पक्का छ । 
(लेखकद्वय मानवशास्त्रका शोधकर्ता एवं अध्यापक हुन्) द कन्भर्सेसनबाट