
उपभोक्ता अधिकारको वर्तमान अवस्था कस्तो छ ?
उपभोक्ताको अधिकार संरक्षणमा सरकार चुकेको छ । उपभोक्ता हित र स्वच्छ बजार कायम गरी बजारमा न्यायोचित रूपमा वस्तु र सेवाको नियमित आपूर्ति, मूल्य तथा गुणस्तर नियन्त्रण र नापतौलमा एकरुपता कायम गर्न सरकारी निकाय असफल भएका छन् । विद्यमान ऐन, कानुनको सार्थक र प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, आपूर्ति नीति, बजार नीति, उपभोक्ता नीति, संविधानप्रदत्त मौलिक अधिकार संरक्षण र प्रवद्र्धनका लागि आवश्यक तहगत बजार व्यवस्थापन गर्न पनि नसकेको स्थिति छ ।
उपभोक्ता कस्ता वस्तु तथा सेवामा बढी ठगिएका छन् ?
उपभोक्ता शिक्षा अपरिहार्य हुन नसेको र मूल्य नियमन तथा निर्धारण गर्न नसक्दा आमउपभोक्ताले विधिको शासनको अनुभूति गर्न सकेका छैनन् । स्पष्ट नीति तथा कानुनको प्रभावकारी कार्यान्वयनको अभावमा उपभोक्ताहरू वस्तु र सेवा दुवै क्षेत्रमा ठगिन पुगेका छन् । बजारमा हुने सबैखाले विभेद अन्त्य गरी आमउपभोक्ताले ढुक्कसँग बजारमा गएर वस्तु र सेवा उपभोग गर्ने अवस्था सिर्जना गर्न सरकार चुकेको छ ।
उपभोक्ताहरू यसरी निरन्तर ठगिनुको कारण के होला ?
तीनै तहका सरकार बजार र उपभोक्ताप्रति जिम्मेवार बन्न सकेको छैनन् । बजार अनुगमन र नियमन स्थायी संयन्त्रमार्फत चुस्त र प्रभावकारी बनाउन सकिएको छैन । मूल्य र गुणस्तरको नियमित अनुगमन नहुनु, माग आपूर्ति र स्वदेशी उत्पादनको वैज्ञानिक तथ्यांक संकलन नहुनु, सार्वजनिक संस्थानमार्फत सशक्त रूपमा बजारमा हस्तक्षेप गर्न नसक्नु, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आत्मनिर्भर बन्न घोषणा गरिएका कार्यक्रम विफल हुनु आदि प्रमुख कारणमध्येमा पर्छन् ।