१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
परम्परागत नृत्य गर्दै कैलालिका थारू कलाकार
जिल्ला ब्युरो काठमाडाैं
२o८१ जेठ ८ मंगलबार १o:५८:oo
Read Time : > 18 मिनेट
ad
ad
फिचर प्रिन्ट संस्करण

निरन्तरता र आधुनिकीकरणको मझधारमा माघी

Read Time : > 18 मिनेट
जिल्ला ब्युरो, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १o:५८:oo

माघी विक्रम संवतअनुसारको माघ महिनाको पहिलो दिन अर्थात् माघ १ गते नेपालका विभिन्न ठाउँमा विभिन्न नामले विशेष पर्व मनाइन्छ । कतै यसलाई माघे संक्रान्ति भनेर घ्यु, चाकु, तरुल, खिचडीजस्ता ऊर्जावद्र्धक खाद्य पदार्थ खाएर मनाइन्छ भने कहीँ यसलाई विशुद्ध धार्मिक हिसाबले नजिकको नदी, तलाउजस्ता जलाशयमा गएर मकर मेलाको नाममा स्नान गरिन्छ । त्यस्तै, कहीँ मकर संक्रान्तिको नाममा पनि मीठा–मीठा खाद्य पदार्थसहित मनाउने चलन छ । यो दिन सूर्य दक्षिणबाट उत्तरतर्फ लाग्ने खगोलीय मान्यताअनुसार उत्तरायणको नाममा दिन लामो र तातो हुँदै जाने दिनका रूपमा पनि मानिन्छ । 

नेपालको जनसंख्याको चौथो स्थान ओगट्न सफल थारू समुदायले यसलाई माघी पर्वका रूपमा धुमधामका साथ मनाउने गरेको छ । नेपालको तराईका दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवनलगायत जिल्लामा रहेका थारू समुदायको आ–आफ्नै मौलिक वेशभूषा, कला, संस्कृति र परम्परा छन् । त्यसैको प्रभाव हो, कसैले १ माघलाई माघ वा माघी, कसैले संक्रान्ति, कसैले खिचरा, कसैले खिचडा आदि नामले मनाइरहेको पाइन्छ । नाम जे भने पनि यो दिनदेखि नयाँ काम सुरु गर्ने, समुदाय तथा परिवारमा नयाँ नेतृत्व चुन्ने, पारिवारिक मेलमिलापको दिनका रूपमा समेत माघी पर्वको महत्व रहेको छ । 

०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा बसोवास गर्दै आएका एक सय ४२ जातजातिमध्ये थारू जाति जनसंख्याका हिसाबले चौथो स्थानमा रहेको तथ्यांक छ । हाल नेपालमा थारूको जनसंख्या १८ लाख सात हजार एक सय २४ रहेको छ । थारू समुदायको हकहितको संरक्षण र संवद्र्धन तथा थारू समुदायको सशक्तीकरणका लागि नेपालको संविधान २०७२ को धारा २६३ ले थारू आयोग गठनको व्यवस्था गरेको छ । 

एउटा मौलिक र परम्परागत तथा ऐतिहासिक संस्कृति बिस्तारै आधुनिकीकरणको मारमा पर्दै गएको भान थारू समुदायले गर्न सुरु गरेको छ । बाजे पुस्ता र नाति पुस्ताबीच पर्व मनाउने शैली परिवर्तन हुँदै गएको छ । समय र प्रविधि तथा आधुनिकीकरणका कारण यो अनौठो पनि होइन । नयाँ पत्रिका राष्ट्रिय दैनिकले देशका विभिन्न भागमा रहेका आदिवासी थारूहरूको पर्व र उनीहरूको हकहित तथा संस्कृति संरक्षणका लागि स्थानीय सरकारले गरिरहेको कामको जमर्को गर्ने कोसिस गरेको छ ।

पुस्ता हस्तान्तरणमा चुनौती !
 कञ्चनपुरमा मोहन विष्ट

सूर्य उत्तरायणमा प्रवेश गरेकै दिनदेखि अर्थात् १ माघमा थारू समुदायमा नयाँ वर्षकै रूपमा नयाँ कामको थालनी गरेर माघी पर्व मनाइन्छ । पहिलो दिन जलाशय, नदीमा गएर स्नान पूजाआजा गर्दै आफन्त ठूलाबडाबाट आशीर्वाद लिइन्छ । 
नयाँ वर्षसँगै नयाँ कामको सुरुवात गर्नेदेखि लोकपरम्पराअनुरूप सांस्कृतिक कार्यक्रम गरेर पर्व मनाउने चलन छ । तर, विगतदेखिको लोकपरम्परालाई छाडेर थारू समुदायले आधुनिक रूपमा पर्व मनाउन थालेका छन् ।

नयाँ पुस्ताले लोकपरम्परा संरक्षणको साटो मञ्च, स्टेजकेन्द्रित कार्यक्रममा जोडबल गर्न थालेपछि वास्तविक थारू समुदायको लोकसंस्कृति परम्परा संरक्षण निरन्तरतामा चुनौती रहेको थारू समुदायका जानकार अगुवाले चिन्ता व्यक्त गर्ने गरेका छन् । 

कञ्चनपुर थारू समुदायका बुद्धिजीवी बलबहादुर डगौरा थारू समुदायको माघीबारे खोज–अनुसन्धान एवं उक्त पर्वको वास्तविकताबारे अध्ययन नहुँदा नयाँ पुस्ताले आधुनिक रूपमा माघी मनाउँदै आएको बताउँछन् । माघी किन मनाउने, कसरी मनाउनेबारे नयाँ पुस्तामा पर्याप्त जानकारी नहुँदा उनीहरू आधुनिकता एव स्टेजकेन्द्रित कार्यक्रममा बढी जोडबल गरिरहेको उनको बुझाइ छ । ‘माघीमा मगौना गीतबाट पर्व मनाइन्छ, तर अहिले मगौना गीत कतै बजाएको देखिँदैन, खालि मनोरञ्जनात्मक रूपमा मात्रै मनाइरहेको पाएका छौँ,’ उनी थप्छन्, ‘यसबाट पौराणिक कालदेखि चल्दै आएको लोकपरम्परा संरक्षणमा चुनौती थपिएको छ ।’

उनका अनुसार १ माघमा विशुद्ध धार्मिक अनुष्ठानका साथै क्रमिक रूपमा ठूलाबडाबाट आशीर्वाद लिएर पाँच दिनसम्म माघी मनाइन्छ । माघ धार्मिक महिना भएकाले पुस मसान्तमै पर्वका लागि चाहिने आवश्यक माछा, मासु खाने परिकारको जोहो गरिन्छ । ‘पर्वको पहिलो दिन हिंसा गर्ने प्रचलन छैन,’ उनले भने, ‘अघिल्लो दिन नै खाने परिकारको व्यवस्थापन गरेर पकाइन्छ ।’ 

२ गते घरको पूजा, ३ गते मठमन्दिरको पूजादेखि क्रमिक रूपमा ५ गतेसम्म मनाइन्छ । विवाह गरेकी छोरीबेटीलाई मीठा खाने परिकार एवं लुगा–कपडासमेत उपहार दिइन्छ ।‘केही छोरीबेटीकै घरमा गएर दिन्छन्, कोहीले घरमै छोरीबेटी बोलाएर उपहार दिन्छन्,’ उनी भन्छन्, ‘यसबाट छोरीप्रतिको माइती पक्षको उत्तरदायित्व झल्किन्छ ।’ डगौरा थारू समुदायको लोकपरम्परा सरंक्षण, संवद्र्धनका लागि माघीबारे खोज–अनुसन्धान हुनुपर्ने र राज्य स्तरबाट समेत पहल हुनुपर्नेमा जोड दिन्छन् ।

थारू कल्याणकारिणी सभा कञ्चनपुरका अध्यक्ष सुनिता चौधरी थारू समुदायको इतिहास, पर्वलाई संरक्षण, संवद्र्धनका लागि व्यक्ति, समुदाय, राज्यका निकायबाट सहयोग आवश्यक रहेको बताउँछिन् । ‘पर्व संरक्षणका लागि चुनौती छ,’ उनी भन्छिन्, ‘तर, जसरी पनि इतिहासको संरक्षण आवश्यक छ ।’ 

उल्लासमय थारू बस्ती
धनगढीमा तेजराज भट्ट

कामविशेषले बाहिर रहेकाहरू घर फर्कने क्रम बढेसँगै थारू बाहुल्य गाउँमा चहलपहल बढेको छ । घरका आँगन लिपपोत गरेर चिटिक्क पारिएका छन् । चोक–चौतारामा दुई–चारजना जम्मा हुँदा गाउँको ‘भल्मन्सा’को बन्ने भनेर चर्चा हुन थालेको छ । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी सुरु हुनु साताअघि नै धनगढी उपमहानगरपालिका– १५ कनरीको थारू बस्तीमा माघीको रौनक सुरु भइसकेको थियो । कनरीजस्तै कैलालीका थारू बस्तीमा यतिवेला माघी पर्वको उल्लास छाएको छ । 

मीठोमसिनो खाने, ठूलाबडाबाट आशीर्वाद लिनेसँगै नाचगान गर्दै रमाइलो गरेर थारू समुदायले माघी पर्व मनाउने गर्छन् । माघीमा विवाहिता छोरीचेलीलाई कोसेली दिने, गाउँको नेतृत्व गर्ने भल्मन्सा चयन गर्ने र परिवारका सदस्यमध्ये एकजनालाई घरको मुली तोक्ने परम्परासमेत रहिआएको छ । पश्चिम कैलालीमा थारू समुदाय अहिले माघीको उल्लासमा रमाइरहेको छ ।

पुस मसान्तको अन्तिम दिनबाट माघी पर्व सुरु हुन्छ । त्यस दिन राति थारू समुदायले नाचगान गरेर रमाइलो गर्छन् । मासुका लागि दिउँसो बस्तीहरू बंगुर काटिन्छन्, जसलाई ‘जिता–मरना दिन’ भन्ने गरिन्छ । प्रत्येक घरमा बंगुरको मासु, माछाको सिध्रा, ढिक्री, अन्डीको भात, बरिया, खरियालगायत परम्परागत खानाका परिकार पाक्छन् । खानाका परिकारसँगै घरमै उत्पादन गरेको जाँडरक्सी पनि हुन्छ । खानाका परिकार सालको पातबाट बनाइने दुना र टपरीमा राखेर खाने गरिन्छ । खानाका मीठामीठा परिकार खाएपछि गाउँका मान्छे भल्मन्सा र मान्यजनको घरमा जम्मा भएर रातभर नाचगान गर्छन् । मादल, डम्फु, झार बजाएर पुरुषहरू पम्परागत धमार गीत गाउँछन् । मादल, डफुको तालमा झुम्रा, सखिया, मघौटालगायत परम्परागत नृत्य गर्दै महिला–पुरुष रमाइलो गर्छन् । सखियामा गीत पनि गाइन्छ । 

माघे संक्रान्तिको दिन बिहान उज्यालो नहुँदै नदी, खोला, दहहरूमा गएर नुहाउने चलन छ । माघीमा जल किनेर मात्र नुहाउनुपर्छ भन्ने मान्यता रहेको छ । त्यसैले नुहाउनुभन्दा अगाडि पानीमा पैसा चढाउने गरिन्छ । पैसासँगै फूल, दियो, प्रसादका रूपमा मिठाई चढाइन्छ । नुहाएर घर फर्केपछि प्रत्येकले ‘सुप्पा’मा राखिएको चामल, दाललगायत खाद्यान्नलाई छुने गर्छन् । त्यसरी छोएको चामलले आफूलाई आफैँले टीका लगाउँछन् । त्यसपछि आमाबुबा, परिवार तथा गाउँछिमेकमा आफूभन्दा ठूला मान्यजनलाई ढोगेर आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिइन्छ । जसलाई ‘सेवाढोग’ भन्ने गरिन्छ । ढोग–आशीर्वाद लिन आउनेलाई बंगुरको मासु, जाँडरक्सी, खानाका परिकार खुवाएर सत्कार गर्ने चलन छ । यसरी आफूभन्दा ठूलालाई ढोगेर आशीर्वाद लिने र सानालाई प्रेम, स्नेह प्रकट गर्ने भएकाले आपसी 
सद्भाव बढाउने काम पनि यो पर्वले गर्ने गरेको छ ।

मसान्तको दोस्रो दिनलाई ‘खिच्रहुवा’ भनिन्छ । यो दिन खिचडी, तरुल पकाएर खाने चलन छ । माघीमा विवाहिता छोरीचेलीलाई कोसेली दिने गरिन्छ । जसलाई ‘निसराउ’ भनिन्छ । माघे संक्रान्तिको दिन नदी तथा खोलामा नुहाएर आएपछि छोएको चामल, दाललगायत खाद्यान्नमा थपेर कोसेलीका रूपमा दिने गरिन्छ । टाढा भए पनि दाजुभाइ आफ्ना दिदीबहिनीलाई निसराउ दिन जान्छन् । माघीमा छोरीचेली निसराउ लिएर माइती आउने बाटो कुरेर बसेका हुन्छन् । खिच्रहुवासँगै माघी पर्व सकिएको मानिन्छ । कसैले भने थप केही दिनसम्म पनि माघी मनाउने गर्छन् । 

भल्मन्सा छान्ने तयारी
माघीको अर्को महत्वपूर्ण पक्ष गाउँको भल्मन्सा चयन गर्नु हो । थारू समुदायले गाउँको अगुवाका रूपमा हरेक वर्ष माघमा भल्मन्सा चयन गर्छ । अधिकांश ठाउँमा माघीमै भल्मन्सा चयन गरिन्छन् । कतियप ठाउँमा माघी पर्व सकिएपछि पनि भल्मन्सा चयनको काम थालिन्छ । भल्मन्साले गाउँको अगुवाको रूपमा काम गर्छन् । गाउँमा हुने हरेक सामाजिक काम तथा आपत्विपत्मा भल्मन्साले गाउँको नेतृत्व गर्छन् । भल्मन्साले वर्षभरिको भूमिकाबारे गाउँमा अनौपचारिक छलफल सुरु हुन थालेको छ । 

नयाँ भल्मन्सा कसलाई बनाउने भनेर थारू बस्तीमा छलफल सुरु भइसकेको छ । भल्मन्साले राम्रो काम गरेको समुदायले ठहर्‍याएर उसैलाई दोहोर्‍याउने पनि गरिन्छ । गाउँलेको चाहनामा एउटै व्यक्ति लगातार १५–२० वर्षदेखि गाउँको भल्मन्सा बनेको उदाहरण पनि छन् । सामान्यतया गाउँलेबीचको सहमतिमै भल्मन्सा छान्ने चलन छ । पछिल्लो समय सहमति हुन नसके कतिपय ठाउँमा चुनाव पनि हुने गरेको छ । गाउँमा बाटोघाटो बनाउने, सामाजिक काम गर्ने, दुःख–विपत् पर्दा सघाउनेजस्ता काम भल्मन्साकै नेतृत्वमा हुन्छन् । भल्मन्साले गरेका निर्णय सबैले मान्ने हुन्छ ।

थारू बस्तीमा भल्मन्सासँगै चिराकी (चौकीदार) र गुरुवा पनि छानिन्छन् । गाउँमा कुनै सामाजिक वा अन्य कामका लागि मान्छे जम्मा गर्नुपरे भल्मन्साको आदेशअनुसार घरघरमा गएर खबर गर्ने जिम्मेवारी चिराकीको हुन्छ, जसलाई चौकीदार पनि भनिन्छ । गुरुवाले मान्छे बिरामी हुँदा, अन्नबालीमा रोगकिरा लाग्दा झारफुक गर्छन्, पूजापाठ गर्छन् । 

थारू समुदायमा परम्परागत रूपमा चलिआएको भल्मन्सा प्रथालाई पछिल्लो समय कतिपय स्थानीय तहले कानुनी मान्यता पनि दिन थालेका छन् । कैलालीको कैलारी गाउँपालिकाले भल्मन्सा प्रथालाई कानुनी मान्यता दिँदै भल्मन्साको उपस्थितिमा गाउँमा हुने कतिपय निर्णयलाई मान्यता दिने व्यवस्था गरेको छ । 

वर्षभरिका लागि गाउँको नेतृत्व छान्ने मात्र नभई परिवारको घरमुली छान्ने काम पनि माघीमा हुन्छ । खासगरी दाजुभाइको संख्या धेरै भएको संयुक्त परिवारमा घरमुली छान्ने चलन छ । परिवारका लागि खाद्यान्न, लुगाकपडा, बिरामी पर्दा औषधिउपचारलगायतको जोहो गर्ने काम घरमुलीले गर्छन् । घरमुली छान्ने क्रममा आर्थिक हरहिसाबको समीक्षा गर्ने र आर्थिक समृद्धिका लागि नयाँ योजना बनाउने काम पनि हुन्छ । थारू समुदायमा घरको जेठो भएर मात्र घरमुली ठहरिँदैन, घरपरिवारलाई मिलाएर लैजान सक्नेलाई घरमुली छान्ने चलन रही आएको छ । 

सामाजिक, सांस्कृतिक महत्व
माघीलाई थारू समुदायले नयाँ वर्षका रूपमा पनि मनाउँछन् । त्यसैले यो पर्वमा वर्षभरिको काम र आर्थिक हरहिसाबको समीक्षा हुन्छ । छुटिन खोजेका दाजुभाइबीच अंशबन्डा गर्ने काम पनि माघमा हुन्छ । यस वर्ष माघे संक्रान्तिदेखि थारू समुदायको २६४८औँ नयाँ वर्ष सुरु हुँदै छ । पुसको अन्तिम दिनलाई पुरानो वर्षको अन्तिम दिनका रूपमा पनि मनाइन्छ । प्रायः माघ महिनामा विवाह गर्ने चलन थारू समुदायमा छ । पछिल्लो समय माघी पर्वका अवसरमा थारू बस्तीहरूमा मेला–महोत्सव पनि हुने थालेका छन् । 

माघी मनाउने चलनमा बिस्तारै परिवर्तन हुँदै गएको छ । राति रमाइलो गर्दा परम्परागत गीत, नृत्यको साटो रेकर्ड गरिएका गीतले स्थान पाउन थालेका छन् । रातभर जाग्राम बस्ने चलन हराउन थालेको छ । माघीमा परम्परागत गीतहरू गाउने चलन युवा पुस्तामा कम हुँदै गएको छ । 

माघे संक्रान्तिको दिन थारू समुदायले आफ्नो परम्परागत पोसाक लगाउँछन् । आपसी मनमुटाव त्यागेर आपसी प्रेम, स्नेह, सद्भाव बढाउने भएकाले सामाजिक रूपमा यो पर्वको निकै महत्व रहेको छ । आफूभन्दा ठूलालाई आदर, सम्मान र सानालाई स्नेह गर्नुपर्ने असल संस्कार सिकाउने काम पनि यो पर्वले गरेको छ । स्थानीय तहले पनि माघीलाई विशेष महत्व दिने गरेका छन् ।

उत्सवसँगै संस्कृति हस्तान्तरणका लागि चितवनको खिचरा
 चितवनमा विवेक पोख्रेल

बाबाकी सगरवा मुरिया लहान गैनु हाँ, बाबा कि सगरवा ।
सखि ए हो, टोपिया छुटल पानी , घाट , सखि ए हो ।।

माघको पहिलो बह्ममुहूर्तमा पश्चिम तराईका थारू समुदायमा गाइने मेघौटा गीतको यो टुक्कामा माघमा बिहान नै स्नान गर्दा छोरीले असल श्रीमान् पाउने भनेको छ । देशभरिका थारू समुदायले यो पर्वलाई आफ्नो नयाँ वर्षका रूपमा मीठो खाएर मनाउने गरेको थारू कल्याणकारिणी सभा (थाकस) चितवनको सभापति ललितकुमार चौधरी बताउँछन् । उनी भन्छन्, ‘थारू समुदायको आर्थिक लेनदेन मिलाउने समय वा आर्थिक वर्षको सुरुवातका रूपमा पनि यो दिनलाई लिइन्छ । घर–व्यवहारदेखि खेतीपानी गर्नेे र परिवारका सदस्यको कामको बाँडफाँट गरिन्छ ।

चितवनका गुजेश्वरी चौधरी र सुमना चौधरी ढिक्री तयार गर्दै

घरमुली छनोट गर्ने काम पनि यहीँ समयमा हुन्छ ।’ आफ्नो समुदायको नयाँ नेतृत्व जसलाई बर्घर भनिन्छ । थारू भाषामा ‘बडघर’ शब्दको अर्थ अगुवा भन्ने बुझिन्छ । गाँउमा सबैले मान्यगन्ने मुखिया भने वडाध्यक्ष र टोल विकास संस्थाको सुरुवात भएपछि अहिले प्रायः हट्दै गएको छ । चितवनमा अहिले थारू समुदायलाई भूगोलका आधारमा १० क्षेत्र (प्रगन्ना)मा विभाजन गरिएको छ । यहाँ खैरहनी, माडी, सौराहा, पदपुर, पटिहानी, मेघौली क्षेत्रमा थारूको बसोवास बाक्लो छ । ०५९ देखि नेपाल सरकारले थारूहरूको माघीपर्वलाई राष्ट्रिय पर्वका रूपमा मान्यता प्रदान गरेको थियो ।

माघको खान्की
माघको विशेष परिकारका रूपमा चितवनका थारूहरूले चिचरलाई लिने गरेका छन् । अनदिको चामललाई केराको पातमा बाँधेर अँगेनामा पोका बनाएर पकाइने चिचर माघको विशेषता हो । भरतपुर– १३ का शंखर थारूका अनुसार चेलीबेटी र ज्वाइँलाई बोलाएर यो दिन चिचरसँगै पिठोलाई मःमलाई जस्तै स्टिम गरेर थारूका पौराणिक माटाको भाडा र ढकियाको प्रयोग गरेर पकाइने ढिक्री, खोलाको ताजा माछा, घोँगी, हाँसको मासु र घरमा नै बनाइएको मदिरा खाएर माघ मनाउने गरिन्छ । 

माघीको ब्रान्ड बनेको चितवनको खिचरा महोत्सव 
प्रत्येक वर्ष १ माघमा पर्ने खिचरा पर्वका अवसरमा विगत नौ वर्षदेखि चितवनमा खिचरा महोत्सव हुँदै आएको छ । अहिले चितवनको खिचरा महोत्सव देशभरिका थारू समुदायको पहिचान बनेको छ । ०७० मा थारू जातिको कला, धर्म, रीतिरिवाज, संस्कृतिको जगेर्ना र पुस्ता हस्तान्तरण होस् भन्ने उद्देश्यले थारू खानाको दुई–चार स्टलसहित कलाकार ल्याएर सुरु गरेको महोत्सव अहिले थारू समुदायको मात्र नभई सबै जातिको गर्वको विषय बन्यो । महोत्सवका संस्थापक संयोजक नारायणप्रसाद महतोले भने, ‘अहिले देशभरिकै थारू समुदायको यो ठूलो महोत्सव हो । जुन महोत्सव १० वर्षअघि माघीको दिन एकदिने मेलाबाट सुरु भएको थियो । 

यसपटक २८ पुसदेखि १० माघसम्म नवौँ संस्करणको खिचरा महोत्सव चलिरहेको छ । थारू कल्याणकारिणी सभा क्षेत्र नं. ७ को आयोजनामा खैरहनी– ५ गौचरनमा थारू समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारू खानाका परिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव हुँदै छ । राष्ट्रिय एकता र विविधता हाम्रो सान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान भन्ने मूल नाराका साथ हुने यस वर्षको नवौँ खिचरा महोत्सव एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिइएको छ । यसपटक महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवद्र्धन गराउन एक सय ५० वटा स्टल रहेका छन् । होटेल स्टलमा थारू जातिका साथसाथै विभिन्न जातिका खानाका परिकार तथा शैक्षिक, वित्तीय संस्था, विभिन्न संघसंस्थाको स्टलसमेत रहेका छन् । महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, बाल उद्यान, अटो परिसरसमेत रहनेछन् ।

महोत्सवकै अवसरमा निःशुल्क स्वास्थ्य शिविर एवं रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सांस्कृतिक कार्यक्रमतर्फ महोत्सव अवधिभर ठेकरा, क्रमटा, झुमरा, रसधारी, फररा, लाठी नाचजस्ता सांस्कृतिक प्रस्तुति रहनुका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति तथा खिचरा डान्स आइडल रहनेछ । विगतका महोत्सवबाट थारू जातिको कला, संस्कृति, भाषा, वेशभुषा संरक्षणमा महत्वपूर्ण उपलब्ध भएको भन्दै युवा पुस्तामा हस्तान्तरण गर्न महोत्सव फलदायी भएको मूल आयोजक समितिका संयोजक रामेश्वर चौधरी बताउँछन् । उनी थप्छन्, ‘पहिले थारू पोसाक चाडपर्वमा मात्र लगाएको देखिन्थ्यो । अहिले दिनहुँजसो यहाँका नयाँ पुस्ताहरू आफ्नै पोसाकमा हुन्छन् । पर्यटकीय स्थलमा नयाँ पुस्ताले सांस्कृतिक नृत्य देखाएर पैसासमेत कमाएका छन् ।’ 

चितवनका स्थानीय तहको योजना
चितवनका ६ स्थानीय तहमा एक सय ८० भन्दा बढी थारू गाउँ रहेका छन् । सात स्थानीय तह रहेको चितवनको खैरहनी नगरपालिका र माडी नगरपालिकाका प्रायः वडामा थारू समुदायको बसोवास छ । कालिका नगरपालिकाको पदमपुर क्षेत्र, राप्ती नगरपालिकाको हर्दी, खुरखुरै, चैनपुरलगायत क्षेत्रमा थारू समुदायको बाहुल्य छ ।

यस्तै, भरतपुर महानगरपालिकाको मेघौली, पटीहानी, बरौजी, जगतपुर, शुक्रनगर र रत्ननगर नगरपालिकाको बछौली र सौराहामा पनि थारू समुदायको बसोवास बढी छ । इच्छाकामना गाउँपालिकामा भने थारू समुदायको संख्या देखिँदैन । चितवनको मेघौलीमा थारू समुदायको पहिलो होमस्टे खुलेको थियो । अहिले जिल्लामा आधा दर्जनभन्दा बढी थारू समुदायको होमस्टे छन् । चितवनको माडी नगरपालिकामा प्रमुख र उपप्रमुख नै थारू समुदायका छन् भने नगरपालिकाका वडामा पनि थारू समुदायका जनप्रतिनिधि छन् ।

योजना बनाउने र समीक्षा गर्ने नयाँ वर्ष 
 बाँकेमा विश्वराज पछल्डङ्ग्या

माघेसंक्रान्तिलाई थारू समुदायले नयाँ वर्षको रूपमा मनाउँछन् । यस वर्ष थारू संवत् २६४७ मनाउने तयारीमा छन् । नयाँ कामको सुरुवात, घर र गाउँको मुख्य व्यक्ति चयन र गाउँको विकास, निर्माणको योजना माघेसंक्रान्तिमा बनाउने भएकाले थारू समुदायले यो पर्वलाई नयाँ वर्षको रूपमा मनाउने गरेको थारू कल्याणकारिणी सभाका कोषाध्यक्ष चूर्णबहादुर चौधरी बताउँछन् । उनी भन्छन्, ‘माघेसंक्रान्तिको अवसरमा घर र गाउँको मुली चयन गरिन्छ । गत वर्षको समीक्षा र आगामी वर्षको योजना बनाइन्छ । दाजुभाइ अलग हुने, विवाह गर्ने, घर बनाउने, जमिन अधियाँ जोत्ने–नजोत्नेलगायत अधिकांश निर्णय माघेसंक्रान्तिको अवसरमा हुने भएकाले यो पर्वलाई नयाँ वर्ष भनिएको हो ।’ 

२ माघलाई माघी डेवानी भनिन्छ । आफूलाई लागेको माग्ने र दिने गरिने भएकाले यो दिनलाई खोज्नी बोझ्नीको दिन पनि भनिन्छ । ‘बिहान घरका सपरिवार बसेर वर्ष दिनमा भएका राम्रा–नराम्रा कामको समीक्षा र आगामी वर्षका लागि कार्ययोजना बनाउने काम यही दिन गरिन्छ,’ चौधरी थप्छन्, ‘घर छुट्टिने, विवाह गर्ने, घर बनाउने, जमिन खरिद गर्ने, घरको मुली (घरढु¥या) छनोटलगायतको छिनोफानो माघी डेवानीका दिन नै गरिन्छ ।’

घरका सदस्य बसेर वर्ष दिनको समीक्षा र आगामी दिनको कार्ययोजना बनाइसकेपछि प्रत्येक घरबाट एकजना गाउँसभामा सहभागी हुन्छन् । गाउँसभा सकभर मटावा (बरघर)को घरमा हुन्छ । गाउँसभामा सहभागीले गाउँमा आवश्यक विकासका योजना बनाउने, गाउँलाई शान्त, सुव्यवस्थित र मर्यादित बनाउन नीति–नियमसमेत बनाउँछन् । राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारू भन्छन्, ‘घरको मुली, गाउँको मटावा र क्षेत्रको प्रगन्ना पनि २ माघकै दिन चयन गरिन्छ । यो दिनलाई विशेष दिन र स्वतन्त्रताको पर्वको रूपमा लिइन्छ ।’ 

प्रजातान्त्रिक पद्धतिबाट मटावा चयन
मटावा प्रजातान्त्रिक प्रणालीबाट चयन गरिन्छ । गाउँसभाका सदस्यलाई पुरानो मटावालाई अनुमोदन गर्ने वा नयाँ चयन गर्ने अधिकार हुन्छ । मटावा बहुमतको आधारमा चयन गरिए पनि अल्पमतको पनि कदर गरिन्छ । थारूको भनाइ छ, ‘माघी डेवानीकै दिन गाउँको मटावाले पनि गाउँको रेखदेख गरेबापत आफूले पाउने सेवा–सुविधाको माग गाउँसभामा राख्छन् । उक्त सभाले मटावाको ज्याला निर्धारण गर्छ ।’ 

धार्मिक तथा सांस्कृतिक महत्व 
माघी पर्वलाई विशेष रूपमा मनाउँछन् । थारू समुदायमा माघी पर्वको सांस्कृतिक महत्व मात्र होइन, यसको धार्मिक र सामाजिक मान्यता पनि उत्तिकै छ । परापूर्वकालदेखि मनाउँदै आएको माघी पर्व थारू समुदायले कम्तीमा पाँच दिनसम्म मनाउँछन् । पुस मसान्तको अघिल्लो दिन नजिकैको ताल, नदी, पोखरी, कुलो र नहरमा गएर माछा मार्छन् । र, पुस मसान्तका दिन सुँगुर, बंगुर काटेर मासुको जोहो गर्छन् । राप्तीसोनारी गाउँपालिका– ६ का निवर्तमान अध्यक्ष जनकबहादुर थारू भन्छन्, ‘माघेसंक्रान्तिका दिन पशुपक्षी काटमार र आलो मासु देखाउन मिल्दैन । संक्रान्तिको दिनका लागि पुग्ने मासु पुस मसान्तको बेलुका नै पकाएर राखिन्छ ।’ 

नजिकको नदी, ताल र पोखरीमा गएर स्नान गर्ने माघीको सबैभन्दा ठूलो विशेषता हो । माघी नुहाउनका लागि पुस मसान्तको बेलुका मटावा (बरघर)को घरमा भेला भएर रातभर धुम्रु गीत गाउँछन् र छोक्रा नाचमा दिल खोलेर नाच्छन् । नाचमा बुढादेखि युवासम्म सहभागी हुन्छन् । रातभर नाचगान गरेकाहरू भालेको डाकसँगै नाचगान गर्दै नदी, ताल र पोखरीमा गएर स्नान गर्छन् । नुहाइसकेपछि आफूभन्दा मान्यजनसँग चामलको सेतो टीका थाप्ने र आशीर्वाद लिने चलन रहेको दंगीशरण गाउँपालिका– ३ रातगाउँ, दाङका मोहनलाल चौधरी बताउँछन् । उनी भन्छन्, ‘थारू समुदाय शान्तिमा विश्वास राख्ने भएकाले माघेसंक्रान्तिका दिन रातो मासु र टीका लगाए वर्षभरि अशुभ हुन्छ भन्ने विश्वास छ ।’ 

उनका अनुसार, माघेसंक्रान्तिका दिन नदी, ताल, पोखरी या बग्ने पानीमा बिहानै नुहाए पुण्य प्राप्ति हुने विश्वास छ । नुहाएर घर जानेहरूको शुभसाइतका लागि गाउँको गल्ली र सडकभरि कलश राखिएका हुन्छन् । उक्त कलशमा आफ्नो क्षमताअनुसार रुपैयाँ, पैसा हाल्ने प्रचलन छ । नुहाएर घर जानेबित्तिकै तिलको आगो ताप्ने तथा मास, नुन र चामलको निस्राउ काढ्ने गरिन्छ । चौधरी भन्छन्, ‘नुन, मास र चालम एउटा भाँडोबाट तीन, पाँच या सात अञ्जुली अर्को भाँडोमा राख्नेलाई नै निस्राउ काढ्ने भनिन्छ । निस्राउ काढेको नुन, चामल र मास आफ्नो चेलीबेटीलाई दक्षिणाको रूपमा दिने प्रचलन छ ।’ 

निस्राउ काढिसकेपछि आफूभन्दा ठूलालाई साइनोअनुसार ढोगभेट गरी खानपिन गरिन्छ । माघेसंक्रान्तिको मुख्य परिकार ढिक्री, अनदी चामलको रोटी, सख्खर र तरुल भए पनि यो पर्वमा अधिकांशले जाँड, रक्सी सेवन गर्दछन् । १ माघमा अधिकांश पुरुषहरू घर–घरमा गएर माघी मनाउँछन् भने २ माघमा महिलाले माघी मनाउने प्रचलन रहेको चौधरीको भनाइ छ । १ माघको बेलुकी युवायुवती भेला भएर मघौटा नाच नाच्ने र पैसा लुट्ने तथा लुटाउने गरिन्छ । माघेसंक्रान्तिमा थारू समुदायले ‘भौजी भौजी कहनु भौजी नही बोलली रे हाँ........। सखिए हो भौजिक सेन्डुरा लेहनु लगा र सखिय हो,’ गीतको बोलमा नाच्छन् । 

यो पर्वमा नाचिने नाचको आफ्नै विशेषता र महत्व छ । बुढापाकाले आफ्नै किसिमका गीत गाउँछन भने युवायुवती र केटाकेटीले आफ्नो उमेर मिल्ने किसिमको गीतमा नाचगान गरी रमाइलो गर्छन् । ‘घरक वरिपरि फुलवा लगावै रे हाँ.......। सखिय हो फुलवा फुलल एजुरार र सखिय हो,’ यस्तो लयको गीत युवायुवतीले गाउँछन्, । मघौटा नाच कम्तीमा पाँच 
दिनसम्म नाचिन्छ । 

स्वतन्त्रताको पर्व 
कमैया मुक्ति हुनुभन्दा पहिले माघी डेवानीकै दिन कसको घरमा कमैया बस्ने, छोड्ने, ज्याला कति लिने–दिने, बुक्रही, कम्लहरी बस्ने, छोड्ने छिनोफानो पनि यसै दिन हुने गर्दथ्यो । कमैया मुक्ति हुनुभन्दा पहिले कमैयाको सौँकीको हिसाबकिताब हुन्थ्यो । थारू संस्कृतिका जानकार एकराज चौधरी भन्छन्, ‘कुन मालिकले सौँकी तिर्ने र सौँकी तिर्ने मालिकसँग कति रुपैयाँ ज्याला लिने छिनोफानो माघी डेवानीका दिन गरिन्थ्यो ।’ 

यसैगरी, माघी डेवानीकै दिन जमिनदारकहाँ गएर अधियाँ खेत जोत्ने या नजोत्ने छिनोफानो पनि हुन्छ । चौधरी थप्छन्, ‘यो दिन सानादेखि ठूलासम्म सबै स्वतन्त्र हुन्छन् । आफूलाई मन लागेको खान्छन् । पिउँछन् र निष्फिक्री भएर नाचगानमा सहभागी हुन्छन् । घुमफिर गरी रमाइलो गर्छन् । यसलाई स्वतन्त्रताको पर्व भन्दा पनि हुन्छ ।’ 

गाउँको विकास, निर्माण र गाउँमा हुने स–साना झै–झगडा तथा विवाद मिलाउन मटावाले महत्वपूर्ण भूमिका खेल्ने भएकाले पनि मटावाको स्थान गाउँमा उच्च हुन्छ । चौधरी भन्छन्, ‘मटावाले भनेको कुरालाई गाउँलेले अस्वीकार गर्न मिल्दैन । माघी डेवानीका दिन मटावाको घरमा भेला भएकाले आफ्नो मनमा लागेको तितामिठा सबै कुरा व्यक्त गर्छन् । मटावाले पनि आफूलाई लागेको कुरा गाउँसभामा खुलेर राख्छन् । यसैले माघेसंक्रान्तिको सांस्कृतिक महत्व मात्र नभई धार्मिक एवं सामाजिक महत्वसमेत रहेको छ ।’ 

महोत्सवमय माघी 
 दाङमा दीपक बोहरा

माघा ना हैली सुअरिक 
सिकार खाइली होना
सखि ए हो, माघा के पिइली गुरी गुरी जाँड
सखि ए हो, माघा के पिइली गुरी गुरी जाँड

माघ महिना नजिकिएसँगै माघीको पौराणिक यी गीतहरू थारू समुदायमा गुञ्जिन थालेका छन् । गाउँ–घरमा हुने हरेक कार्यक्रममा थारू पोसाकमा नाचगान हुने गर्छ भने अतिथिहरूलाई ढिक्री खुवाउन थालिएको छ । नयाँ वर्षका रूपमा मनाइने माघी पर्वलाई थारू समुदायले धुमधामका साथ मनाउने गर्छन् । 

माघी एक हप्तासम्म मनाइन्छ । ‘संस्कार, संस्कृति, खानपानका हिसाबले थारू समुदाय धनी मानिन्छ’, अधिवक्ता तथा थारू अगुवा रामशरण चौधरी भन्छन्, ‘कपडा, खानपान, नाचगानमा केही परिवर्तन भए पनि परम्परागत रूपमा मनाउँदै आएको माघी पर्वमा खासै बदलाव आएको छैन ।’

केही–केही कुरामा भने बदलाव आएको उनको अनुभव छ । पहिले माघ १ गते बिहानै मादल बजाउँदै, गीत गाउँदै खोलामा नुहाउन जाने र घरमा आएर मान्यजनलाई ढोग गर्ने, खाना खाने र नाचगान गर्ने चलन थियो । तर, त्यो कुरालाई नयाँ पुस्ताले खासै चासो दिएको देखिँदैन । नुहाउन गएर घरमा आएपछि आफूभन्दा ठूलालाई ढोग गर्ने चलनसमेत हराउँदै जान थालेको छ । 

माघीको दोस्रो दिन ढकिया भरी चामल तथा तरकारीहरू दिने चलन थियो । तर, अहिले चामल र तरकारीको सट्टा पैसा नै दिने गरिन्छ । विगतमा आफैँ मादल बजाएर नाच्ने चलन थियो । तर, अहिले ‘उफर’बाट गीत बजाएर नाच्ने चलन बढ्दै गएको छ । माघी पर्वमा मुख्य परिकारका रूपमा लिइने श्याम जिरा, सेता धान, गक्या, तिल्की धान, मसुली, सिमचारो धान लोप हुँदै गएका छन् । अहिले प्रायः हाइब्रिड धान मात्र प्रयोग हुने गर्छ । 

समयअनुसार माघी पर्व मनाउने शैली फेरिँदै जान थालेको हो । विगतमा सानो गाउँको खाली स्थानमा बसेर मनाइने माघी यतिवेला महोत्सवको रूपमा परिवर्तित हुँदै आएका छन् । केही दिनअघि मात्रै थारू कल्याणकारी सभा दाङको आयोजनामा घोराहीमा माघी महोत्सव भयो । दंगीशरण गाउँपालिकाले पुस २७ र २८ मा माघी महोत्सव आयोजना ग¥यो । विगतदेखि नै माघी महोत्सवका रूपमा परिणत हुँदै गएको थारू अगुवा जीवराज चौधरी बताउँछन् । उनी थप्छन्, ‘स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि वडा–वडामा माघी महोत्सवहरू हुन थालेका छन् । विभिन्न संघसंस्थाले पनि महोत्सवका रूपमा मनाउने गरेका छन् ।’ महोत्सवका रूपमा मनाउनाले माघीको महत्वलाई थप बढाउने उनको बुझाइ छ । थारू समुदायको कला, संस्कृति, रहनसहन, खानपानलाई सबैले बुझ्न महोत्सवले भूमिका खेल्ने उनको भनाइ छ । परम्परालाई कायमै राख्न भए पनि नयाँ र थप मनोरञ्जनको तरिकाबाट मनाउन कामहरू गर्नुपर्ने उनी बताउँछन् । 

नयाँ पुस्ताले हरेक कुराहरूलाई बिर्सँदै जाने भएकाले पनि संस्कृति जगेर्ना गर्न नयाँपनसहितको शैली आवश्यक रहेको चौधरीको जिकिर छ । तर, माघीको पहिचान भने हराउन नहुनेमा पनि उनी सतर्क छन् । विगतमा माघीको अवसरमा विभिन्न घाटमा स्नान गर्ने गरिएको भए पनि यो काम बिस्तारै हराउँदै गएको छ । घरका वृद्ध व्यक्तिहरू तीर्थस्थलमा गएर नुहाउने इच्छा व्यक्त गरे पनि आजभोलि घरमै नुहाउन थालिएको छ । यसप्रति थारू समुदायका अग्रजहरूले दुःख व्यक्त गर्न थालेको चौधरी बताउँछन् । 

माघीमा थारू समुदायमा जिमीदारको घरमा कमैया बस्ने वा नबस्ने भनेर छिनोफानो गर्ने दिनका रूपमा पहिले व्यापक थियो । कमैया प्रथाको अन्त्यपछि त्यो परम्परा हटेको छ, तर निर्मूल भएको छैन । थारू समुदायले कमैया र कम्लरी बस्ने दास व्यवस्थाको दुःखद संस्कारको लामो संघर्षपछि अन्त्य भएको छ ।सांस्कृतिक संस्कार र पर्वका रूपमा रहेको माघीलाई थारू समुदायको मुक्ति पर्वका रूपमा लिन थालिएको थारू अगुवाको भनाइ छ । 

माघेसंक्रान्ति अर्थात् माघी पुसको अन्तिम दिनदेखि सुरु हुन्छ । थारू समुदायमा पुसको अन्तिम दिनमा गाउँभरिका मानिस मिलेर सुँगुर काट्ने चलन छ । यसलाई ‘जिता मर्ना’ भनिन्छ । र, त्यो दिनलाई ‘जिता मर्ना दिन’ भनिन्छ ।पुस मसान्तमा विभिन्न प्रकारका परिकार (सुँगुरको मासु, ढिक्री, रोटी, माछा आदि)हरू तयार गरिन्छ । र, रातभरि नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । विशेषगरी यस पर्वमा छोक्रा नाच (मघौटा नाच) र ढुम्रु गाउने गरिन्छ । 

माघ १ गते अर्थात् माघीको दिन बिहानै भाले बासेको पहिलो प्रहरमा सम्पूर्ण गाउँका मानिस सँगै सामूहिक रूपमा नदीमा नुहाउन जान्छन् । र, घरमा आई आ–आफ्नो दिदीबहिनीहरूलाई उपहार दिने गर्छन् जसलाई ‘निस्राउ’ भनिन्छ । त्यसपछि सबैजना सबैसँग गाउँभरि ढोगसलाम गर्छन्, आशीर्वाद थाप्छन् र नाचगान गर्दै रमाउँछन् । वर्षभरिका सुखदुःख का कुराहरू साटासाट गर्छन् । घरपरिवारमा भित्र पनि कामको बाँडफाँट गर्छन् । त्यसैगरी त्यही दिन गाउँका सबैजना जम्मा भएर गाउँको महटावाँ (बरघर) चुन्ने र चौकीदार चुन्ने कार्य हुन्छ ।

के भन्छन् पालिका प्रमुख ?
रेनु दाहाल, प्रमुख भरतपुर महानगरपालिका, चितवन

महानगरपालिकाले थारू समुदायका कार्यक्रमलाई नियमित रूपमा आर्थिक सहयोग गर्दै आएको छ । नगरका दुई ठाउँमा थारू संग्रहालय निर्माण र थारू समुदायको संस्कृति प्रवद्र्धनसँगै आयआर्जनका लागि सीपमूलक तालिम र होमस्टेका लागि हामीले कार्यक्रमहरू गर्दै आएका छौँ । थारू समुदायको हसुलीको आकृति मेघौलीमा बन्दै छ । यसपटक थारू समुदायलाई अरक्षण नै छुट्याएर नगर प्रहरीको विज्ञापन गरेर नियुक्ति गर्‍यौँ । यो थारू आरक्षणको सुरुवात भएको सन्देश हो । हामीले गर्ने हरेक कार्यक्रममा स्थानीय थारू समुदायलाई जोड्ने गरेका छौँ ।

विनोद रेग्मी, प्रमुख
कालिका नगरपालिका, चितवन

थारू समुदायले गरेका कार्यक्रमहरूमा सहभागी हुँदै यसको सांस्कृतिक प्रवद्र्धनका लागि सहयोग पु¥याउँदै आएका छौँ । नगरमा थारू होमस्टे सञ्चालनमा छ । थारू संग्रहालयका लागि भवन निर्माण भएको छ । यसलाई व्यवस्थित गर्न बजेट छुट्याएका छौँ । 

शशीकुमार खनियाँ, प्रमुख
खैरहनी नगरपालिका, चितवन 

थारू समुदायले गर्ने नेपालभरिको ठूलो महोत्सव खिचरा महोत्सव माघीको अवसरमा हाम्रो नगरपालिकामा हुँदै आएको छ । यसलाई सबैको साझा महोत्सव बनाउनका संरक्षकको रूपमा रहेर हामीले सहयोग गर्दै आएका छौँ । नगरपालिकाले थारू समुदायका छात्रालाई नगरभित्रको कलेजमा स्नातकसम्म निःशुल्क पढाउने अभियान छ । नगरपालिकाले ११ र १२ मा निःशुल्क विज्ञान विषय पढाउँदै पनि आएको छ । थारू समुदायलक्षित पोषणको कार्यक्रम सञ्चालनमा छ । चोकचोक र सार्वजनिक स्थानहरूमा थारू समुदायको सांस्कृतिक पहिचान दिने सालिक र मूर्तिहरू निर्माणमा लागेका छौँ । थारू समुदायको छुट्टै संग्रहालय बन्दै छ । होमस्टेमा पनि लगानी गर्दै गएका छौँ । भाषाभाषी र संस्कृतिको संरक्षणमा समेत लगानी गरेका छौँ । 

शमशेर लामा, प्रमुख
राप्ती नगरपालिका, चितवन

थारू समुदायको कला, संस्कृति र मिहिनेतको वर्णन हुने हलो जोत्दै गरेको थारू समुदायको प्रतिनिधित्व गर्ने कंक्रिट मूर्तिको आकृति बेल्डिया चोकमा बन्दै छ । थारू समुदायको इतिहास लामो छ । भएका इतिहासलाई संरक्षण गर्न हामीले थारू समुदायका लागि कार्यालयसहितको संग्रहालय बनाउने बजेटको व्यवस्था गरेका छौँ । नयाँ पुस्तामा थारू संस्कृति, भाषा, लिपिहरू हस्तान्तरणका लागि काम गर्दै आएका छौँ । हामीहरूले थारू समुदायको कला–संस्कृतिको संरक्षणसँगै उनीहरूलाई आयआर्जनमा जोड्नका लागि काम गरिरहेका छौँ ।

गणेश चौधरी, अध्यक्ष
जानकी गाउँपालिका, कैलाली

थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीका अवसरमा गाउँपालिकाको आयोजनामा सांस्कृतिक कार्यक्रम गर्दै छौँ । त्यसमा थारू समुदायका परम्परागत सांस्कृतिक नृत्य, गीतहरू प्रस्तुत गरिनेछन् । माघी पर्वसँगै थारू संस्कृतिको संरक्षण र संवद्र्धनका लागि सांस्कृतिक कार्यक्रम गर्न लागेका हौँ । माघी पर्वका अवसरमा पालिकाले स्थानीय बिदा पनि दिँदै आएको छ ।

ताराकुमारी काजी महतो, प्रमुख
माडी नगरपालिका, चितवन

माडी नगरपालिकामा प्रमुख र उपप्रमुख हामी दुवैै थारू समुदायका छौँ । थारू पर्व र रहनसहनका विषयमा हामीहरू जानकार नहुने कुरै भएन । पछिल्लो समय हामीले सामूहिक रूपमा उत्सवको रूपमा एक दिन विशेष कार्यक्रमसहित खिचरा महोत्सव मनाउँदै आएका छौँ । थारू लोकसंस्कृति र खानाको महत्व झल्कने गरेर गरिने यो कार्यक्रमका लागि नगरपालिकाबाट आर्थिक सहयोग गर्छाैँ । बहुसंख्यक थारू समुदाय भएकाले पनि माडी नगरपालिकाले थारू समुदायको सबै पर्वहरूलाई नगरपालिकाको महत्वपूर्ण पर्वको रूपमा मनाउँदै आएको छ । उनीहरूको वेशभूषा संरक्षणका लागि काम गर्दै आएका छौँ । होमस्टे र सांस्कृतिक संग्रहालय स्थापना भएको छ । पुराना गाउँमा थारू बगैँचाहरू भएको र अहिले बगैँचाहरू मासिएकाले नगरपालिकाले नै नमुनाको रूपमा थारू बगैँचा बनाउँदै छौँ । भएका चिजलाई व्यवस्थित गर्दै लोप हुन लागेका चिजहरूलाई संरक्षण गर्दै अघि बढाउनुपर्छ भनेर अघि बढेका छौँ । थारू संस्कृतिलाई आयआर्जनसँग पनि जोड्दै आएका छौँ ।

 केवल चौधरी, मेयर
भजनी नगरपालिका, कैलाली

माघी हाम्रो सबैभन्दा ठूलो पर्व हो । माघीमा भगवान् शिव, पार्वतीको पूजा गर्ने र आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने गरिन्छ । राति मादल बजाएर गीत गाउँदै, नाच्दै रमाइलो गर्छौँ । परम्परादेखि मनाउँदै आएको यो पर्वले आपसी प्रेम र सद्भाव बढाउने काम गरेको छ । मादल बजाएर परम्परागत गीत, नृत्य प्रस्तुत गर्नेजस्ता माघी पर्व मनाउने संस्कृति पछिल्लो समय हराउँदै गएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने देखिन्छ ।

 चित्रबहादुर चौधरी, अध्यक्ष
जोशीपुर गाउँपालिका, कैलाली

माघी थारू समुदायको ठूलो पर्व हो । माघी पर्वको पहिचानका लागि पुस अन्तिम दिन र माघ २ गते गाउँपालिकामा सार्वजनिक बिदा दिँदै आएका छौँ । १ गते राष्ट्रिय बिदा नै हुन्छ । विभिन्न संघसंस्थाहरूमार्फत थारू समुदायको कला, संस्कृति प्रदर्शनका लागि पनि सहयोग गरिरहेका छौँ । थारू समुदायको परम्परागत पोसाक बनाउने तालिम पनि गाउँपालिकाले सञ्चालन गर्दै आएको छ ।

पोतीलाल चौधरी, मेयर
बेलौरी नगरपालिका, कञ्चनपुर

थारू समुदायको लोकसंस्कृति संरक्षण, प्रवद्र्धनका लागि स्थानीय सरकारले प्रवद्र्धनात्मक भूमिका निर्वाह गरिरहेका छौँ । बजेट नै विनियोजन गरेर माघी पर्व संरक्षण संवद्र्धनका कार्यक्रम सञ्चालन गरिँदै आएको छ । खुलामञ्चमा २६ पुसदेखि भएको महोत्सवका लागि चार लाख २५ हजार र १ माघमा बेलौरी नपा– १ रामनगरमा हुने ज्येष्ठ नागरिकबाट आशीर्वाद शुभकामना आदान–प्रदानका लागि दुई लाख रुपैयाँ विनियोजन गरेका छौँ । भलमन्सा, अगुवाहरूसँग छलफल गर्दै भाषा, कला, संस्कृति लोकपरम्परा संरक्षण संवद्र्धनका लागि पालिकाबाट सहयोग जारी रहेको छ ।

पदम बोगटी, प्रमुख
भीमदत्त नगरपालिका, कञ्चनपुर

थारू समुदायको लोकसंस्कृति माघी संरक्षण, प्रवद्र्धनका लागि उल्टाखामस्थित थारू संग्रहालमा सांस्कृतिक कार्यक्रम गरिनेछ । 

हरिश्चन्द्र राना, प्रमुख
बेलडाँडी गाउँपालिका, कञ्चनपुर

थारू समुदायको माघी मिलन कार्यक्रम सञ्चालनका लागि एक लाख रुपैयाँ विनियोजन गरेर लोप भइरहेको थारू समुदायको माघी पर्व प्रवद्र्धन गरिरहेका छौँ । थारू समुदायको लोकपरम्परा, संरक्षण, प्रवद्र्धनका लागि पालिकास्तरबाट सम्पूर्ण प्रयास जारी रहने तथा थप कार्यक्रम गर्दै जानेछौँं । 

भोजराज बोहरा, प्रमुख
बेदकोट नगरपालिका, कञ्चनपुर

माघी मिलन कार्यक्रममा पालिकाबाट आवश्यक बजेट नै विनियोज भएको छ । यो थारू समुदायको लोकसंंस्कृति संरक्षणका लागि खर्च गरिनेछ । 

निर्मल राना, प्रमुख
लालझाडी गाउँपालिका, कञ्चनपुर

पालिका र वडाहरूबाट समेत बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालन गरिने गरेको छ । पालिकाबाट दुई लाख रुपैयाँ बजेट विनियोजन गरेर सांस्कृतिक प्रवद्र्धन गरिनेछ ।

भुलियाकुमारी राना, उपप्रमुख
पुनर्वास नगरपालिका, कञ्चनपुर

थारू समुदायको माघी मिलन कार्यक्रम संरक्षणका लागि पालिकाबाट आवश्यक योजना ल्याउनेछौँ । विगतमा पनि कार्यक्रम गरिएको र अहिले पनि आवश्यक बजेट सहयोग गरिनेछ ।  

द्रोपती राना, उपप्रमुख
कृष्णपुर नगरपालिका, कञ्चनपुर

विगतका वर्षहरू जस्तै यस वर्ष पनि कृष्णपुरमा माघी मिलन कार्यक्रम प्रवद्र्धनका लागि पालिकाबाट आवश्यक सहयोग गरेका छौँ । थारू समुदायको लोकसंस्कृति र परम्परागत खाने परिकारको प्रदर्शन गरिनेछ । केही दिन पहिले वडाका १५ भलमन्सा समितिसँगको छलफलमा विशुद्ध थारू समुदायका लोकनृत्य, खाने परिवार पकाएर नयाँ पुस्तालाई संस्कृतिबारे अभिमुखीकरण गराइएको छ । 

ad
ad