१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o९:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विदेशी वायुसेवाले खोस्दै नेवानिको व्यापार

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:२o:oo

२५% पुगेको नेवानिको बजार हिस्सा १४% मा खुम्चियो, राष्ट्रिय ध्वजावाहक कमजोर बन्दा विदेशी वायुसेवाले उठाउँदै लाभ

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) कमजोर बन्दा विदेशी वायुसेवा कम्पनीहरूले लाभ उठाउन थालेका छन् । निगमका जहाजहरू उड्नेभन्दा धेरै ग्राउन्डेड भइदिँदा २५ प्रतिशतसम्म पुगेको अन्तर्राष्ट्रिय बजार हिस्सा सन् २०२३ मा १४.२ प्रतिशतमा खुम्चिएको छ ।

गत वर्ष त्रिभुवन विमानस्थलबाट हालसम्मकै धेरै ४५ लाख ४१ हजार हवाई यात्रुले अन्तर्राष्ट्रिय यात्रा (आवतजावत) गरेका छन् । जसमध्ये ६ लाख ४५ हजार एक सय ६६ यात्रुलाई निगमले सेवा दिएको छ । यो संख्या कुल यात्रुको १४.२ प्रतिशत मात्र हुन आउँछ । बाँकी यात्रुलाई स्वदेशी लगानीकै हिमालय र बुद्ध एयरसहित विदेशी वायुसेवा कम्पनीले सेवा दिएका हुन् । गत वर्ष तीनवटा स्वदेशीसहित ३५ भन्दा धेरै वायुसेवा कम्पनीले त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सेवा दिएका थिए । 

सन् २०१९ मा निगमले कुल अन्तर्राष्ट्रिय यात्रुमध्ये १८ प्रतिशतलाई सेवा दिएको थियो भने सन् २०२० मा २५ प्रतिशत, सन् २०२१ मा २० प्रतिशत र सन् २०२२ मा १६.५६ प्रतिशत यात्रुलाई सेवा दिएको देखिन्छ  ।निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइडबडी एयरबस–३३० र दुईवटा न्यारोबडी एयरबस–३२० जहाज छन् । न्यारोबडी जहाजहरू उडानभन्दा बढी ग्राउन्डेड हुँदै आइरहेका छन् । अहिले पनि निगमको न्यारोबडी ९एन–एकेएक्स कलसाइनको जहाज ग्राउन्डेड अवस्थामै छ । यो जहाज पछिल्लो ६ महिनामा चार महिनाभन्दा बढी ग्राउन्डेड भइसकेको छ । इन्जिनमा समस्या आएर ग्रान्उडेड गरिएको जहाज कहिलेदेखि उड्छ, निगमलाई नै पत्तो छैन । 

२८ डिसेम्बर २०२१ मा बायाँ इन्जिनमा समस्या आएर न्यारोबडी ९एन–एकेडब्लू कतारको दोहामा ग्राउन्डेड भएको थियो । त्यसयता दुईवटा न्यारोबडी जहाज पटक–पटक महिनौँ ग्राउन्डेड भइरहेका छन् । यसरी जहाज ग्राउन्डेड भइरहँदा निगमको अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त भएको छ । साथै, व्यस्त सिजनमा जहाज अभावले उडान कटौती गर्नुपर्दा निगमको बजार हिस्सा विदेशी कम्पनीले लिन थालेका छन् ।  

निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, बैंकक, क्वालालम्पुर, हङकङ, दोहा, जापान, दुबई, दम्मामलगायतका गन्तव्यमा उडान गर्दै आएको छ । निगमले वाइडबडी जहाजबाट कोरिया, अस्ट्रेलिया, युरोप हुँदै अमेरिकासम्म उडान गर्ने लक्ष्य लिएको थियो । तर, अहिलेसम्म जापानबाहेक अरू लामो दूरीका गन्तव्यमा उडान गर्न सकेको छैन । लामो दूरीमा उडान गर्ने जहाजलाई छोटो दूरीमा प्रयोग गर्दा निगमले वाइडबडीमा ठूलो घाटा व्यहोर्दै आएको छ ।

निगम नेतृत्व जहाजहरू उडाएर आम्दानी गर्नेभन्दा पनि ग्राउन्ड ह्यान्डलिङ सेवामा सन्तुष्ट भएर बसेका छन् । ग्राउन्ड ह्यान्डलिङ सेवामा केन्द्रित हुँदा भएका जहाजहरू पूर्ण क्षमतामा सञ्चालन गर्न निगम व्यवस्थापन अक्षम सावित हुँदै आएको छ । निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा खोसिएमा कर्मचारीलाई तलब खुवाउनसमेत सकस हुन्छ । निगमले काठमाडौं, भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको छ ।

 धेरै यात्रु बोक्ने वायुसेवा
सन् २०२३ मा ३१ हजार चार सय ६० अन्तर्राष्ट्रिय उडान–अवतरणमार्फत ४५ लाख ४१ हजारभन्दा बढी यात्रुले आवागमन गरेका छन् । सबैभन्दा धेरै निगमले ६ लाख ४५ हजार एक सय ६६ यात्रुलाई सेवा दिएको छ । एक वर्षमा ६ लाख २७ हजार ८१ यात्रुलाई सेवा दिएर कतार एयरवेज दोस्रो बनेको छ । 

यस्तै, हिमालय एयरलाइन्सले चार लाख ६२ हजार सात सय ६४, इन्डिगो एयरले चार लाख ५० हजार, एयर इन्डियाले तीन लाख ५६ हजार ६ सय ९४, फ्लाई दुबईले तीन लाख ६८ हजार सात सय ३९ यात्रुलाई सेवा दिएको छ ।एक वर्षमा टाटा भिस्टाराले एक लाख ५५ हजार चार सय ३९, सिंगापुर एयरलाइन्सले एक लाख १४ हजार पाँच सय ४३, मालिन्दो एयरले एक लाख पाँच हजार, मलेसिया एयरलाइन्सले एक लाख २० हजार, जजिरा एयरवेजले एक लाख १९ हजार ६ सय ९५, एयर अरेबियाले एक लाख ६७ हजार चार सय २७ यात्रुलाई सेवा दिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । स्वदेशी वायुसेवा कम्पनी बुद्ध एयरले एक वर्षमा नौ हजार आठ सय ९९ यात्रुलाई सेवा दिएको छ । बुद्धले भारतको बनारस र कोलकाता उडान गर्दै आएको छ ।

ad
ad