चालू आर्थिक वर्ष ०८०/८१ को पहिलो पाँच महिनामा चालू खाता एक खर्ब ४० अर्ब २३ करोड रुपैयाँले बचतमा आएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिविषयक प्रतिवेदनले यस्तो देखाएको हो । सैद्धान्तिक रूपमा चालू खाता बचतमा हुनु राम्रो मानिए पनि आर्थिक गतिविधि सुस्ताउँदा देखिएको यस्तो अवस्थामा सावधानी अपनाउनुपर्ने हुन्छ ।
चालू खाता आयातसँग पनि जोडिन्छ, सैद्धान्तिक रूपमा आयात घट्नु राम्रो हो । तर, नेपालको विकास निर्माण आयातसँगै जोडिएको छ । निर्माणसम्बन्धी मेसिन, औद्योगिक कच्चा पदार्थ, जलविद्युत् तथा पूर्वाधार निर्माणमा आवश्यक पर्ने मेसिनहरू आयात गर्नैपर्छ । आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना, निर्यात तथा नाफा बढेर नभई निर्माणजन्य उपकरण, औजारलगायतका सामग्री आयातमा भएको कमीले चालू खाता बचत धेरै देखिएको अर्थविद् नरबहादुर थापाको भनाइ छ । ‘आन्तरिक उत्पादन, रोजगारी सिर्जना, निर्यात, प्रतिस्पर्धी क्षमता राम्रो भएर चालू खाता बचतमा जानुलाई सकारात्मक मानिन्छ,’ उनले भने, ‘तर, अहिलेको अवस्थामा चालू खाता बचतमा जानुलाई भने सावधानीपूर्वक लिनुपर्छ ।’
गत आवको पहिलो पाँच महिनामा चालू खाता ४१ अर्ब २१ करोडले घाटामा थियो । असार ०७९ सम्म आउँदा घाटा बढेर ७२ अर्ब १६ करोड पुगेको थियो । तर, चालू आवको सुरुदेखि भने नाफामा देखिएको चालू खाता मंसिरमा ठूलो दरमा बढेको हो । कात्तिक मसान्तसम्म चालू खाता ९६ अर्ब ३८ करोडले बचतमा थियो, मंसिरमा ४३ अर्ब ८५ करोड रुपैयाँले बढेर एक खर्ब ४० अर्ब पुगेको छ । सामान्यत नेपालको चालू खाता घाटामा हुने गर्छ । यसअघि वार्षिक रूपमा आव ०७२/७३ मा एक खर्ब ४० अर्ब ४१ करोडले चालू खाता बचतमा थियो । त्यसपछि गत आवसम्म वार्षिक रूपमा यो घाटामै थियो । यद्यपि, बीच–बीचमा मासिक रूपमा भने यो बचतमा थियो । यो वर्ष साउनदेखि नै यो खाता बचतमा छ ।
यो पाँच महिनामा अन्तरदेशीय वस्तु व्यापार पाँच खर्ब ४४ अर्ब ५२ करोड र सेवा व्यापार २६ अर्ब ९२ करोडले घाटामा छ । पर्यटनमार्फत पनि उच्च आम्दानी छैन । समीक्षा अवधिमा आयात घटेर र रेमिट्यान्स बढेर चालू खाता बचतमा गएको हो । त्यसैले यसलाई सावधानीपूर्वक लिनुपर्ने उनको भनाइ छ ।
समीक्षा अवधिमा आयात ३.४ प्रतिशतले घटेर ६ खर्ब ४२ अर्ब २१ करोडमा सीमित भएको छ । निर्यात ६.१ प्रतिशतले घटेर ६३ अर्ब २१ करोडमा सीमित भएको छ । यही अवधिमा रेमिट्यान्स आप्रवाह भने २७.६ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब २५ करोड पुगेको छ । आयात–निर्यात गत आवदेखि नै घट्दै आएको छ । रेमिट्यान्स आप्रवाह भने गत आवदेखि नै उच्च दरमा बढेको छ ।
उद्योग, कृषि, थोक तथा खुद्रा व्यापार, जलविद्युत्लगायत थुप्रै क्षेत्रको विकास निर्माण आयातसँग जोडिएको छ । नयाँ–नयाँ सूचना प्रविधिहरू पनि आयात गर्नुपर्छ । त्यो अर्थमा आयात बढ्दा नेपाली अर्थतन्त्र चलायमान हुन्छ । तर, अहिले त्यस्तो खालको पुँजीगत आयात पनि बढ्न सकेको छैन । त्यसले शिथिल अर्थात् चलायमान नभएको अवस्थाामा चालू खाता नाफामा गयो भनेर ढुक्क हुने अवस्था नभएको थापा बताउँछन् ।
‘रोजगारी नपाएर लाखाैँ नेपाली विदेश जानुपरेको छ । पुँजीगत आयातसमेत घटेको छ । वस्तु तथा सेवाको माग खस्किएको छ भने निर्यात पनि घटेको छ । साथै, वस्तु तथा सेवा खाता घाटामै छ,’ उनले भने, ‘त्यो अवस्थामा चालू खाता बचतमा जानुलाई सावधानीपूर्वक लिनुपर्छ । पर्याप्त मात्रामा वस्तु तथा सेवा आयात गरेर र निर्यात बढेर चालू खाता बचतमा गएको भए गज्जब नै हुने थियो । आयात–निर्यात घटेर र रेमिट्यान्स बढेर बचतमा गएको चालू खातालाई सावधानीपूर्वक लिनुपर्छ ।’
यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले भने यसलाई मिश्रित रूपमा लिनुपर्ने बताए । ‘चालू खाता बचतमा जानु राम्रो त हो । तर, अहिले आयात घटेर र रेमिट्यान्स आप्रवाह बढेर यस्तो अवस्था आएको हो,’ उनले भने, ‘तसर्थ, यसलाई मिश्रित रूपमा लिनुपर्छ ।’
थुप्रियो विदेशी मुद्रा, हालसम्मकै धेरै
आयात घट्दा र रेमिट्यान्स बढ्दा विदेशी मुद्रा सञ्चिति पनि बढ्दै गएको छ । गत असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी मुद्रा सञ्चिति मंसिरसम्म आउँदा १४.८ प्रतिशतले १७ खर्ब ६७ अर्ब चार करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १३ अर्ब ३१ करोड पुगेको छ, यो हालसम्मकै धेरै हो । यसले ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्नेछ । विकास निर्माण तथा आर्थिक गतिविधि कम हुँदा विदेशी मुद्रा थुप्रिएको हो ।
मूल्यवृद्धिदर झन् घट्यो
मंसिरसम्म आउँदा मूल्यवृद्धिदर झन् घटेको छ । कात्तिक महिनामा ५.३८ प्रतिशत रहेको मूल्यवृद्धि मंसिरमा ४.९५ प्रतिशतमा झरेको छ । गत आवको मंसिरमा यो ७.३८ प्रतिशत थियो । कात्तिक र मंसिरको मूल्यवृद्धिदर सरकारको तोकेको सीमाभित्रको हो । सरकारले चालू आवमा मूल्यवृद्धिदरलाई ६.५ प्रतिशतभित्र राख्ने लक्ष्य लिएको थियो । तर, गत साउनमा ७.५२ प्रतिशत, भदौमा ८.१९ प्रतिशत र असोजमा ७.५ प्रतिशत रहेको यस्तो दर कात्तिकयता सीमाभित्र छ । मुख्यत पेट्रोलियम पदार्थको मूल्य घट्दा मुद्रास्फीति घटेको कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए ।
२१० अर्बले बचतमा शोधनान्तर स्थिति
समीक्षा अवधिमा शोधनान्तर स्थिति २१० अर्ब ५९ करोडले बचतमा गएको छ । गत आवको सोही अवधिमा यो ४५ अर्ब ८६ करोडले बचतमा रहेको थियो । विदेशी मुद्राको आम्दानी बढ्ने, तर खर्च कम भएकाले शोधनान्तर स्थिति बचतमा गएको हो । मुख्यतः रेमिट्यान्स आप्रवाह बढेकै कारण यो बचतमा गएको हो ।
६ खर्बभन्दा बढी रेमिट्यान्स
पाँच महिनामा नेपालमा ६ खर्ब १३ अर्ब २५ करोड रेमिट्यान्स भित्रिएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २७.६ प्रतिशतले बढी हो । गत आव सोही अवधिमा चार खर्ब ८० अर्ब ५० करोड रेमिट्यान्स आएको थियो । वैदेशिक रोजगारमा जाने नेपालीको संख्या बढेसँगै रेमिट्यान्स पनि बढ्दै गएको छ ।
अर्थतन्त्र चलायमान बनाउनुपर्ने दबाब
प्रतिवेदनले आन्तरिक अर्थतन्त्र चलायमान बनाउनुपर्ने दबाब भने देखाएको छ । बाह्य क्षेत्र बलियो भए पनि आन्तरिक अर्थतन्त्र शिथिल नै छ । घट्दो आयात–निर्यात, कर्जा प्रवाह न्यूनलगायत तथ्यांकले यसलाई पुष्टि गरेको छ । अर्थतन्त्र शिथिल भएकै कारण चालू खाता बचतमा जानेदेखि विदेशी मुद्रा थुप्रिनेसम्म भएको विज्ञहरू बताउँछन् ।
अहिले बैंकहरूमा समेत लगानीयोग्य पैसा थुप्रिएको छ । त्यसमाथि ब्याजदर घटेको छ । तसर्थ, अहिले अर्थतन्त्र चलायमान बनाउने दबाब रहेको अर्थविद् थापा बताउँछन् । ‘अर्थतन्त्र शिथिल भएकै कारण चालू खाता बचतदेखि विदेशी मुद्रा थुप्रिनेसम्म भएको हो । बैंकमा पनि पैसा थुप्रिएको छ, हामीले त्यो पैसा परिचालन गर्न सकेका छैनाँै,’ उनले भने, ‘अब आन्तरिक अर्थतन्त्र चलायमान बनाउनुपर्ने दबाब बढेको छ ।’
तर, प्रतिवेदनले समग्रमा नेपाली अर्थतन्त्र सुधार हुँदै गएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बताए । ‘बाह्य क्षेत्र एकदमै बलियो बनेको छ । आन्तरिक अर्थतन्त्र पनि सुधार हुँदै गएको छ,’ उनले भने, ‘तर, आन्तरिक माग नहुँदा आयात घटेको छ । पुँजीगत आयात पनि घटेको छ । तसर्थ, अर्थतन्त्र चलायमान बनाउन अग्रसर हुनुपर्ने अवस्था भने छ ।’
चालू खातालाई सावधानीपूर्वक लिनुपर्छ
नरबहादुर थापा, अर्थविद्
रोजगारी नपाएर लाखौँ नेपाली विदेश जानुपरेको छ । पुँजीगत आयातसमेत घटेको छ । वस्तु तथा सेवाको माग खस्किएको छ भने निर्यात पनि घटेको छ । साथै, वस्तु तथा सेवा खाता घाटामै छ । त्यो अवस्थामा चालू खाता बचतमा जानुलाई सावधानीपूर्वक लिनुपर्छ । पर्याप्त मात्रामा वस्तु तथा सेवा आयात गरेर र निर्यात बढेर चालू खाता बचतमा गएको भए गज्जब नै हुने थियो । आयात–निर्यात घटेर र रेमिट्यान्स बढेर बचतमा गएको चालू खातालाई सावधानीपूर्वक लिनुपर्छ ।