Skip This
पाँच महिनामा तीन अर्बको अलैँची निर्यात
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 08 August, 2025
Invalid date format ११:५९:oo
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

पाँच महिनामा तीन अर्बको अलैँची निर्यात

अलैँचीको भाउ ६ वर्षयताकै उच्च, प्रतिकेजी दुई हजार पुग्यो

Read Time : > 4 मिनेट
Invalid date format ११:५९:oo

मेची भन्सारबाट निर्यात हुने कृषिजन्य उत्पादनको पहिलो नम्बरमा पर्छ अलैँची, । चालु आर्थिक वर्षको मंसिरसम्म मेची भन्सारबाट तीन अर्बभन्दा बढीको अलैँची निर्यात भएको मेची भन्सार कार्यालय काकडभिट्टाले जनाएको छ । चालू आर्थिक वर्ष ०८०/८१ को मंसिर मसान्तसम्म २३ लाख ७४ हजार ११० केजी अलैँची निर्यात भएको छ । जसबाट तीन अर्ब नौ करोड ८६ लाख १४ हजार रुपैयाँ नेपाल भित्रिएको तथ्यांक छ । 

गत आर्थिक वर्ष ०७९/८० को यही अवधिमा ३३ लाख ९२ हजार ३३१ केजी अलैँची भारत निर्यात गर्दा दुई अर्ब ७२ करोड ३६ लाख भित्रिएको थियो । मूल्यवृद्धि हुँदा गत वर्षको तुलनामा १० लाख १८ हजार किलो अलैँची कम निर्यात हुँदा पनि मूल्य करिब १४ प्रतिशत बढेको छ । 

अलैँचीको मूल्यले आठ वर्षपछि लय समाउँदै 
  आठ वर्षअघि प्रतिमन एक लाख २० हजारसम्ममा बिक्री भएको अलैँचीको मूल्य ओरालो लाग्दै प्रतिमन २० हजारसम्म झरेको थियो । तर, गत वर्षबाट फेरि मूल्य पाउन थालेपछि यस वर्ष प्रतिमन ८० हजारसम्ममा किनबेच भएको छ । अहिले अलैँची प्रतिमन ७८ हजारमा कारोबार भएको अलैँची व्यवसायी महासंघका महासचिव नारायणप्रसाद चिमरियाले जानकारी दिए । ‘ग्रेडिङ भएर तयार भएको अलैँची ७८ हजारमा कारोबार भइरहेको छ । केही दिनअघि प्रतिमन ८१ हजारसम्म बिक्री भएको थियो,’ उनले भने, ‘७८ हजार रुपैयाँ प्रतिमनमा ग्रेडिङ गरेको अलैँची बिक्री हुँदा किसानले ७४–७५ हजार प्रतिमन मूल्य पाउँछन् ।’

गत वर्ष अलैँची सुरुवातमा २५ हजार प्रतिमनबाट बिक्री सुरु भएको थियो । सिजनको अन्तिमसम्म ५९ हजार प्रतिमन बिक्री भएको महासचिव चिमरियाले जानकारी दिए । ‘गत वर्ष २५ हजारबाट सुरु भएको अलैँचीको बिक्री ५९ हजार प्रतिमनसम्म पुगेको थियो । यो वर्ष ५९ हजार प्रतिमनबाट सुरु भएर ८० हजारसम्म पुग्यो,’ उनले भने, ‘आठ वर्षअघि प्रतिमन एक लाख २० हजारबाट घटेर २० हजार प्रतिमनसम्म आएको थियो । आठ वर्षपछि ८० हजारसम्म पुग्यो ।’

मसलाजन्य उत्पादनमा पर्ने अलैँचीको मूल्यमा उतारचढाव आइरहने उनी बताउँछन् । यस वर्ष अलैँचीको उत्पादन घटेर पनि मूल्य बढेको चिमरियाको भनाइ छ । यस वर्ष अलैँचीको उत्पादन गत वर्षको तुलनामा ४० प्रतिशत घटेको महासचिव चिमरियाले बताए । उनका अनुसानर गत वर्ष एक लाख २० हजार बोरा अर्थात् ६० लाख केजी अलैँची उत्पादन भएको थियो । हाल उत्पादनको ७० प्रतिशत अलैँची बजारमा आइसकेको अलैँची व्यवसायी महासंघका उपाध्यक्ष सुवास भट्टराईले जानकारी दिए । ‘यस वर्ष अलैँचीको मूल्यवृद्धि हुँदा किसान र अलैँची व्यवसायीमा अत्यधिक उत्साह थपेको छ । ७० प्रतिशत अलैँची बजारमा आइसकेको छ । तर, अलैँचीको उत्पादन घटेको छ,’ उनले भने, ‘अलैँची एक साल फल्ने अर्को साल घट्ने हुन्छ । यस वर्ष खडेरी र अलैँचीमा रोगले पनि घटेको हो ।’

 ५१ जिल्लामा अहिले अलैँची उत्पादन हुने उनले जानकारी दिए ।  कारोबार हुने हिसाबले झापाको बिर्तामोड नेपालकै प्रमुख व्यापारिक केन्द्र रहेको छ । अलैँची मुख्यतः मेची भन्सार कार्यालय काँकडभिट्टाबाट मात्रै ९० प्रतिशत अलैँची भारत निकासी हुँदै आएको छ । बाँकी अलैँची पाकिस्तान र युएई पनि निर्यात हुने महासचिव चिमरियाले बताए । ‘बंगलादेशमा निर्यात हुन सके नेपाली अलैँचीले राम्रो मूल्य पाउने थियो । बंगलादेशको भन्सार शुल्क धेरै भएकाले त्यो सम्भव भएको छैन,’ उनले भने, ‘नेपाली अलैँची भारतबाट श्रीलंका हुँदै बंगलादेश नै जान्छ । त्यसो गर्दा भन्सार शुल्क लाउँदैन । नेपालबाट सीधै बंगलादेश लैजाने प्रयास पनि भएको हो । तर, अलैँचीमा भन्सार छुट माग्दा उसले नेपाल भित्रिने धेरै सामग्रीमा छुट माग्छ ।’ 

अलैँचीको भाउ ६ वर्षयताकै उच्च, प्रतिकेजी दुई हजार पुग्यो
 ‘कालो सुन’को उपनामले चिनिने अलैँचीको भाउ ६ वर्षयताकै उच्च भएपछि लमजुङका किसान खुसी भएका छन् । ‘अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जंगल फाँडेर सबै अलैँची रोपिन्छ,’ मस्र्याङ्दी– ५, सन्जापुका आसबहादुर गुरुङले भने, ‘कालो सुन भन्थे, साँच्चै सुनजस्तै बहुमूल्य भयो ।’ 

गत वर्षभन्दा झन्डै तीन गुणा बढीले अलैँचीको भाउ बढेको किसान दिलमाया गुरुङले बताइन् । उनले भनिन्, ‘विगतका वर्षमा मूल्य घटेपछि अलैँची खेती विस्तार गरौँ कि नगरौँ दोधारमा थिएँ, अहिले मूल्य बढ्यो, अब खेती विस्तार गरेर बाँझो जग्गामा सबै अलैँची लगाउने सोचमा छु ।’ गत वर्ष यो समयमा प्रतिमन २४ देखि २६ हजार थियो । अहिले प्रतिमन ७५ हजारदेखि ७८ हजारसम्म बिक्री भइरहेको नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई बताउँछन् । उनका अनुसार प्रतिकेजी १९ सयदेखि दुई हजारसम्म पुगेको छ । 

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको समयमा लमजुङमा अलैँची प्रतिमन ६५ देखि ७० हजारमा कारोबार भइरहेको छ । तर, मूल्यवृद्धि हुनुभन्दा पहिले नै अलैँची बिक्री गरिसकेकाले अहिलेको भाउ भने धेरै किसानले नपाएको अलैँची किसान लालबहादुर तामाङ बताउँछन् । उनी भन्छन्, ‘केही किसानले अहिले पनि बिक्री गरिरहेका छन् । बर्सेनि भाउ घट्दै गएपछि निराश बनेका किसान अहिले मूल्य तेब्बरले बढेपछि खुसी भएका छन् ।’ अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको र किसान तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नहुँदा भाउ बढेको लाभ नपाउने अलैँची किसान अजय तामाङ बताउँछन् । 

यो वर्ष जिल्लामा दुई सय ५१ मेट्रिकटन अलैँची उत्पादन भएको थियो । अलैँची जोन लमजुङका अध्यक्ष सोमबहादुर तामाङले उत्पादनका हिसाबले अलैँची दाना उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गरेका छन् । उत्पादित अलैँची यस वर्ष प्रतिकेजी १५ सयदेखि दुई हजारसम्म बिक्री गरेका छन् । ०४१ सालदेखि अलैँची खेती विस्तार भएपछि यस वर्ष हालसम्मकै बढी अलैँची बिक्री भएको हो । जिल्लामा एक हजार पाँच सय हेक्टर क्षेक्रफल जमिनमा अलैँची खेती विस्तार गरिए तापनि ६ सय हेक्टर क्षेत्रफलमा अलैँची उत्पादन हुँदै आएको छ । 

जिल्लाको मस्र्याङ्दी, दोर्दी, दूधपोखरी, क्व्होँलासोथर गाउँपालिका र बेँसीसहर, राइनास, मध्यनेपाल नगरपालिकामा अलैँची खेती गरिँदै आएको छ । जिल्लामा १५ हजारभन्दा बढी कृषकले व्यावसायिक अलैँची खेती गर्दै आएका छन् । जिल्लाको भुलभुले, बाँझाखेत, घनपोखरा, खुदी, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायत गाउँका पाखामा व्यावसायिक रूपमा अलैँची खेती गरिँदै आएको छ । जिल्लाका अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन कार्यक्षेत्र बनाएर विशेष कार्यक्रम सुरु गरिएको छ । जिल्लामा साउने, डम्बरसाई, जिर्मले, रामशाई, गोलसाई जातका अलैँची खेती गरिँदै आएको छ । 

मूल्य बढेपछि किसान उत्साहित
ताप्लेजुङका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत नै अलैँची हो ।  केही वर्षदेखि ओरालो लागेको अलैँचीको भाउ बढेपछि स्थानीय किसान खुसी भएका छन् । ‘अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन,’ फुङलिङ नगरपालिका– ६ का भीम गुरुङले भने ‘कालो सुन भन्थे, साँच्चै सुनजस्तै बहुमूल्य हुनेभयो ।’ 

पाँच वर्षअघिदेखि ओरालो लागेको अलैँचीको मूल्य अहिले आएर उच्च भएको छ । गत वर्षभन्दा झन्डै तीन गुणा बढी भाउ बढेको व्यवसायी याम राईले बताए । ‘गत वर्ष प्रतिमन २५ हजार थियो, अहिले ७५ हजारसम्म बिक्री भइरहेको छ,’ उनले भने । रोगले मासिँदै गएको अलैँचीलाई आधुनिक खेती प्रणाली अपनाएर किसानले पुरानै अवस्थामा पुर्‍याउने प्रयास गरिरहेका छन् । अलैँची मासिएर निराश भए पनि मूल्य बढेपछि किसान उत्साहित भएका छन् । जिल्लामा यस वर्ष २५ सय ३५ मेट्रिकटन अलैँची उत्पादन भएको छ । चार हजार एक सय ६५ हेक्टर जमिनमा सोबराबरको अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका निमित्त प्रमुख सन्तोष थापाले बताए । 

जिल्लाका एक नगरपालिका र ८ गाउँपालिकाका ६१ वडामध्ये फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ७ बाहेक ६० वडामा अलैँचीखेती हुने गरेको छ । किसानहरूले अलैँचीमा रोग लागेपछि स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारसँग अलैँची जोगाउन आग्रह गर्दै आएका छन् ।