१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १६:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको शल्यक्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२८:oo

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ।

तातोपानी गाउँपालिका– ४ की ३५ वर्षीया महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको हो। १७ वर्षको कलिलै उमेरमा विवाह गरेकी उनलाई पाठेघरको संक्रमण भएको थियो। 

अस्पतालका निर्देशक स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. राजीव शाहको नेतृत्वमा डा. सुवी बस्न्यात, डा. रवि खापुङ, डा. ललित धामीलगायतको टोलीले यस अस्पतालमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरेको हो। यसअघि यहाँ पुरानै प्रविधिबाट शल्यक्रिया गर्ने गरिएको थियो।

यस प्रविधिबाट शल्यक्रिया गर्दा घाउ सानो हुने, रगत कम बग्ने, घाउ छिटो निको हुने, घाउको दाग सानो देखिने, बिरामीलाई डिस्चार्ज छिटो गर्न मिल्नेजस्ता फाइदा रहेको शाहले जानकारी दिए।

पछिल्लो समय नेपालमा भित्र्याइएको प्रविधिमध्ये ल्याप्रोस्कोपी सर्जरी सुरक्षित र भरपर्दो माध्यमको रूपमा चिनिन थालेको उनको अनुभव छ। यो विधिअन्तर्गत शल्यक्रिया गर्नुपर्ने अंगमाथि प्वाल बनाएर क्यामेरा राखिन्छ, जसको माध्यमले भित्रको अवस्था हेरेर औजारको प्रयोगमार्फत शल्यक्रिया गरिन्छ।

कर्णालीलगायतका ग्रामीण क्षेत्रमा धेरैजसो महिलाको पाठेघरमा संक्रमण देखिने भए पनि अरू रोगमा जस्तो खुलेर उपचार गर्न नआउने गरेका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. शाहको बुझाइ छ। संक्रमणले निकै अप्ठ्यारो भएपछि अन्तिम अवस्थामा मात्रै उपचार गर्न आउने गरेका छन्।


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पाठेघर संक्रमण भएपछि आर्थिक वर्ष ०७९/८० मा ११ जना, ०७८/७९ मा ४१ जना, ०७७/७८ मा ११ जना र ०७६/७७ मा १३ जना मात्रै उपचार गर्न आएका मेडिकल रेकर्डर मेघराज बुढाले जानकारी दिए। उनले भने, ‘यो संख्या ज्यादै न्यून हो। पाठेघर संक्रमण भएका महिला धेरै छन्, तर उपचार गर्न नै आउँदैनन्।’