फाइल तस्बिर
२०७६ बैशाख २२ आइतबार ०७:४४:००

भूकम्पबाट क्षति पुगेका विद्यालय चार वर्षमा पनि बनेनन्

क्षति पुगेका ९७ मध्ये ३३ विद्यालयको मात्रै पुनर्निर्माण

भूकम्पबाट क्षति पुगेका विद्यालयको चार वर्ष बितिसक्दासमेत पुनर्निर्माण सकिएको छैन । पूर्ण क्षति भएका विद्यालयको भवन निर्माण प्रक्रिया अघि बढे पनि आंशिक क्षति पुगेका विद्यालयको मर्मतसम्भार अलमलमै छ । हालसम्म ३३ वटा विद्यालयका लागि भूकम्पप्रतिरोधी आरसिसी भवन निर्माण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) भक्तपुरका प्रमुख डिल्लीश्वर प्रधानले बताए । 

भूकम्पले जिल्लाका एक सय २९ मध्ये ९७ वटा विद्यालयमा क्षति पुर्‍याएको थियो । दुईवटा विद्यालयमा पूर्ण र ६० वटा विद्यालयमा अधिक क्षति पुर्‍याएको थियो । ३५ वटामा आंशिक क्षति पुगेको थियो । ‘भूकम्पले भत्किएका ३३ वटा विद्यालय भवन बनेका छन्, अरू केही निर्माणको प्रक्रियामा छन्,’ प्रधानले भने । चालू आर्थिक वर्षमा १९ वटा भवन निर्माणाधीन रहेका कार्यालयले जनाएको छ । 

कार्यालयले आर्थिक वर्ष ०७३/७४ मा ११ वटा विद्यालयका लागि ४६ कोठे भवन बनाएको थियो । ०७४/७५ मा नौवटा विद्यालयमा ४८ कोठे भवन बनेका थिए । प्रधानका अनुसार दुईवटा विद्यालयका २२ कोठे भवन टेन्डर प्रक्रियाबाट निर्माण गरिएका छन् । अन्य ११ वटा विद्यालयका भवन गैरसरकारी संस्थासँगको सहकार्यमा निर्माण गरिएका छन् ।

चालू आर्थिक वर्षमा १५ वटा विद्यालयका भवन निर्माणका क्रममा रहेको प्रधानले बताए । टेन्डर प्रक्रियाबाट थप दुईवटा र गैरसरकारी संस्था र युएसआइडीसँगको सहकार्यमा एक–एकवटा भवन निर्माण भइरहेको उनले बताए । विद्यालय व्यवस्थापन समितिमार्फत १५ वटा विद्यालयमा चार–चार कोठे भवन निर्माणका लागि प्रस्ताव गरिएको छ । शौचालय नभएका ३५ वटा विद्यालयमा पक्की शौचालय बनाउन प्रस्ताव गरिएको प्रधानले जानकारी दिए । 

चर्किएकै भवनमा पठनपाठन

भूकम्पले चर्किएका जोखिमयुक्त भवनमा बसेर विद्यार्थी पढ्न बाध्य छन् । सामान्य क्षति भएका भवनमा रेट्रोफिटिङ गर्ने कामसमेत अघि बढेको छैन । कार्यालयले २८ वटा विद्यालयको स्थलगत अनुगमन र निरीक्षण गरी रेट्रोफिटिङको तयारी गरेको प्रधानले बताए । कार्यालयका अनुसार भूकम्पले क्षति पुगेका सम्पदा क्षेत्रका चारवटा विद्यालयको भवन निर्माण प्रक्रिया अघि बढेको छैन । भवन निर्माणका लागि डिजाइन इस्टिमेट र निर्माण सामग्री प्रयोगका विषयमा पटक–पटक छलफल भए पनि निष्कर्षमा नपुगेको प्रधानले बताए ।