१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १५:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्वास्थ्य बिमा गरेकाले उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:२४:oo

स्वास्थ्य बिमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बिमित बिरामीलाई तिराउने भएको छ। 

बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्ने बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिइन्।  

यसअघि बोर्डमा आबद्ध भएकाले कुनै रकम तिर्नुपर्दैनथ्यो। बिमितलाई रु. एक लाखबराबरको उपचार खर्च बिमा बोर्डले व्यहोर्ने गर्दछ। उनले अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गराउन सहभुक्तानी प्रणाली लागू गरिएको बताइन्।

‘बिमितले अनावश्यक रूपमा स्वास्थ्य परीक्षण गराउन थाले,’ उनले भनिन्, ‘त्यसलाई कम गरेर आवश्यक मात्र स्वास्थ्य परीक्षण गराउन भनेर बिरामीलाई १० प्रतिशत तिराउने निर्णय गरेका हौँ।’ उनका अनुसार सहभुक्तानी प्रणाली आगामी माघ १ गतेदेखि लागू हुनेछ। 

प्राथमिक स्वास्थ्य केन्द्र र २५ शय्यासम्मका अस्पतालमा गरिएको स्वास्थ्य उपचारमा भने बिमितले १० प्रतिशत रकम तिर्न नपर्ने उनको भनाइ छ। 

सहभुक्तानी प्रणाली संघीय अस्पताल, २५ शय्याभन्दा माथिका प्रदेश र प्रादेशिक अस्पताल तथा सबै निजी एवं सामुदायिक अस्पतालमा लागू हुनेछ। गरीब, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त, एचआइभी संक्रमित, जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविकालाई भने सहभुक्तानी प्रणाली (१० प्रतिशत रकम तिर्नु नपर्ने) लागू नगरिने कार्यविधिमा उल्लेख गरिएको छ। 

बोर्डमा हालसम्म ७४ लाख बिमित भइसके पनि करिब ४७ लाख मात्र सक्रिय छन्। ०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्‍याउनका लागि स्वास्थ्य बिमा बोर्ड स्थापना गरिएको थियो। 

अहिले ७७ जिल्लामा लागू गरिएको स्वास्थ्य बिमा बोर्डले रु. एक लाखसम्म बिमित परिवारले निःशुल्क उपचार सेवा पाउनेछन्। 
 

ad
ad