१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नेपाल सुपर लिगको च्याम्पियन बनेपछि ट्रफीका साथ ललितपुर सिटी एफसीका खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o८:१६:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

ललितपुर नेपाल सुपर लिगको नयाँ च्याम्पियन

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:१६:oo

फाइनलमा साबिक विजेता धनगढी एफसीमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै ललितपुर सिटी एफसी दोस्रो प्रयासमा बन्यो च्याम्पियन

साबिक उपविजेता धनगढी एफसीलाई ३–२ ले हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को नयाँ च्याम्पियन बनेको छ । शनिबार सम्पन्न फाइनलमा ललितपुरले सानदार जित निकालेको हो । ललितपुर दोस्रो प्रयासमा च्याम्पियन बन्यो । पहिलो संस्करणमा इलिमिनेटरबाट बाहिरिएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १५ हजार पाँच सय समर्थकमाझ धनगढीले खेलमा अग्रता बनाए पनि ललितपुर कमब्याक गर्न सफल भएको थियो ।

ललितपुरको जितमा नाइेजेरियन स्ट्राइकर इमोह इजेकेलले दुई तथा दिनेश हेन्जनले एक गोल गरेका थिए । धनगढीका लागि नाइजेरियन स्ट्राइकर आफिज ओलावाले ओलादिपो र लेवानानी खेलाडी मोहम्मद हिजाजीले समान एक गोल गरेका हुन् । हिजाजीले इन्जुरी समयमा गोल गरे पनि त्यो जित्न पर्याप्त बनेन । जितसँगै ललितपुरले ७० लाख प्राप्त गरेको छ । धनगढीले २० लाख रुपैयाँमा चित्त बुझायो । यसअघि दुबै टोली पोखरा थन्डर्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । 

धनगढी लगातार फाइलनमा स्थान बनाएर पनि उपाधिविहीन भएको छ । गत सिजन धनगढी फाइनलमै काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो । धनगढी तालिकाको दोस्रो स्थानमा रहेर यसपटक पहिलो क्वालिफायर्स खेल्यो । पोखरालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

इलिमिनेटरमा ललितपुरले काठमाडौंलाई ३–० ले हराएको थियो । दोस्रो क्वालिफायर्समा पोखरालाई २–१ ले हराउँदै धनगढीसँग भेट पक्का गरेको हो । नयाँ टोली झापा पाँचौँ, बुटवल लुम्बिनी छैटौँ, एफसी चितवन सातौँ, नयाँ टोलीद्वय वीरगन्ज युनाइटेड आठौँ र स्पोर्टिङ इलाम नवौँ स्थानमा रहेर सुपर लिग टुंगाएका छन् । 

इमोहको दुई गोल 
ललितपुरको जितमा इमोहले दुई गोल गरेका थिए । उनले पहिलो हाफ र दोस्रो हाफमा समान एक गोल गरेका हुन् । यद्यपि, खेलमा अग्रता भने धनगढीले बनाएको थियो । सुपर लिगको ४०औँ खेलको ३८औँ मिनेटमा आफिजले धनगढीलाई अग्रता दिलाए । लेफ्ट साइडबाट हिजाजीको प्रहार फ्रान्सेली गोलकिपर जेफेरी मार्सेलले बचाए । तर, नियन्त्रण गर्न नसक्दा अनमार्क रहेका आफिजले खाली पोस्टमा बललाई जाली चुमाएका हुन् ।

पहिलो हाफको इन्जुरी १० मिनेटको अन्तिम सेकेन्ड बाँकी रहँदा इमोहले बराबरी गोल फर्काएका हुन् । लगभग २५ यार्डमा पाएको फ्रिकिकलाई सानदार गोल गर्दै इमोहले ललितपुरको आशा फर्काएका थिए । ५०औँ मिनेटमा दिनेशको गोलबाट ललितपुर २–१ को अग्रता बनाउन सफल भयो । सेसेहाङ आङदेम्बेको थ्रु पासमा आदित्य शाक्यले उपलब्ध गराएको बललाई दिनेशले सहज गोल गरेका हुन् ।

५८औँ मिनेटमा इमोहलको गोलबाट ललितपुरले ३–१ को अग्रता बनायो । रक्षक रिचार्डले दिनेशको प्रहार रोके पनि पापा केबेले रिबाउन्ड बललाई इमोहसम्म पुर्‍याएका थिए । इमोहको एक्रोबेटिक सट गोलकिपर टाहालाई लाग्दै जाली चुमेको थियो । ३–१ ले पछि रहेको धनगढीलाई हिजाजीले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरे पनि जित दिलाउन पर्याप्त रह्यो । ७९औँ मिनेटमा धनगढी दश खेलाडीमा सीमित बन्यो । रक्षक रिचार्डले इमोहमाथि फाउल गरेपछि भारतीय रेफ्री राम दासनले दोहोरो पहेँलो कार्ड देखाएका थिए । 

अनन्त सर्वाेत्कृष्ट खेलाडी
ललितपुरलाई पहिलोपटक च्याम्पियन बनाएका कप्तान तथा मार्की अनन्त तामाङ दोस्रो संस्करणको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले दुई लाख रुपैयाँ प्राप्त गरे । पहिलो संस्करण चोटका कारण एनएसएल नखेलेका अनन्त दोस्रो संस्करणमा भने टोलीलाई च्याम्पियन बनाउँदै सानदार प्रदर्शन गर्न सफल रहे । अनन्तले उपविजेता बनेको धनगढीका कप्तान देवेन्द्र तामाङ र आफ्नै क्लबका सनिस श्रेष्ठ तथा इमोहलाई पछि पारे । अनन्तले प्रतियोगिताका ११ खेल नै पूरा समय खेलेका छन् । ललितपुरकै फ्रान्सेली गोलकिपर जेफेरी उत्कृष्ट गोलकिपर घोषित भए । उनले ११ खेल खेल्दै पाँच ‘क्लिन सिट’ राखेका छन् ।  स्ट्राइकर इमोह ६ गोलसहित सर्वाधिक गोलकर्ता चुनिए ।  उदीयमान खेलाडीको पुरस्कार धनगढीका मिडफिल्डर रोहन कार्कीले प्राप्त गरेका छन् । नयाँ टोली वीरगंज युनाइटेड फेयर प्ले चुनियो । 

जितको लायक थियौँ  : इआन आन्द्रे गिलान, प्रशिक्षक, ललितपुर सिटी
हामीले रक्षापंक्तिमा धेरै राम्रो गरेका छौँ । हामी यो जितको लायक थियौँ । हामीले धेरै राम्रो फुटबल खेलेका छौं । खेलाडीले धेरै राम्रो गरे । पापा घाइते भएका छन् । मैले यो जितको लेख लेख्नुपर्छ । हामीले प्रतियोगिताभर गोलको धेरै प्रयास गर्‍यौँ । तर, फाइनलमा राम्रो गोल निस्कियो । सनिसले पनि राम्रो गरेको छ । सबै खेलाडीले रमाइलो गर्दै खेलेका छन् ।

पहिलो गोलपछि कमजोर देखियौँ : युगलकिशोर राई, प्रशिक्षक धनगढी
आज हामीले खेल्नै सकेनौँ, पहिल्यै भनेको थिएँ । उनीहरूले पछिल्ला खेल राम्रो खेलेका छन् । ललितपुरले जसरी खेलेको छ सम्मान र बधाई छ । पहिलो गोल भएपछि खेलाडी मनोवैज्ञानिक रूपमा कमजोर देखिए । त्यो गोल नभएको भए, खेलले अर्कै मोड लिने थियो । खाने गोल हुँदा केही लाग्दैन । तर, त्यस्तो गोल हुँदा धेरै समस्या हुन्छ । १० खेलाडी हुँदा झनै समस्या भयो ।

 

ad
ad