सशस्त्र प्रहरी बल नेपालले पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि हालसम्म १६ वटा अस्थायी टहरा निर्माण
सशस्त्र प्रहरी बल नेपालले पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि हालसम्म १६ वटा अस्थायी टहरा निर्माण गरेको छ। जसअन्तर्गत चौरजहारी नगरपालिकामा ९ र त्रिवेणी गाउँपालिकामा ७ वटा निर्माण गरिएका छन्। विशेषगरी एकल महिला, अपांगता भएका, वृद्धावस्थाका बिरामी, विपन्न र सुत्केरीको वर्ग विभाजन गरी उनीहरूलाई लक्षित गरी अस्थायी आवास निर्माण गरिएको हो।
सोहीअनुसार एकल महिलाको लागि ५, अपांगता भएकाको लागि ४, वृद्धावस्थाका लागि ३, बिरामीको लागि ३ र विपन्न तथा सुत्केरीको लागि १/१ वटा अस्थायी आवास निर्माण सम्पन्न भएका सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
अस्थायी आवास निर्माणका लागि गत मंसिर २८ गतेबाट सशस्त्र प्रहरी बलको फौज चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा अस्थायी रूपमा बस्ने गरी तैनाथ गरिएको छ। यसका साथै जिल्लाको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि छिट्टै फौज परिचालन गरिनेछ।
यसैगरी, मुसिकोट नगरपालिकामा समेत स्थानीय जनप्रतिनिधि र जिल्ला विपद् व्यवस्थापन समितिसँगको आवश्यक समन्वयमा अस्थायी आवास निर्माणमा सहयोग आवश्यक पर्ने भूकम्पपीडितको पहिचान गरी फौज परिचालन गर्ने योजना रहेको छ।
यता भूकम्प प्रभावित जिल्ला जाजरकोटमा पनि आश्रित गुल्म जाजरकोटले अस्थायी पाल जडान गर्ने, भत्किएका विद्यालय तथा स्थानियको घरको भग्नावशेष हटाउने तथा चर्किएका घरहरू भत्काउने कार्यलाई तीव्रता दिएको सहप्रवक्ता डिएसपी थापले बताए।
जसअन्तर्गत डिजास्टर रिलिफ सिस्टम १० सहित ८५ वटा पाल जडान गरिएका छन्। यस्तै, भेरी नगरपालिकामा एक सय, नलगाड नगरपालिकामा एक सय १८ र कुशे गाउँपालिकामा २५ स्थानका भग्नावशेष हटाइएका छन्। चर्किएका ८ वटा घरसमेत भत्काइएको छ।