१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष ६ शुक्रबार १७:०८:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा ‘स्ट्रिट फुड फेस्टिभल’ हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष ६ शुक्रबार १७:०८:००

अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पोखरामा ‘स्ट्रिट फुड फेस्टिभल’ हुने भएको छ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महोत्सव आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)ले यही पुस १२ देखि १६ गतेसम्म चार दिन सडक महोत्सव हुने जानकारी दिएको हो।

महोत्सव आयोजनाको रजत वर्ष भएकाले यसपटक महोत्सवलाई आफूहरूले विशेष बनाउन विशेष तयारी गरेको आयोजकको भनाइ छ। ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सव पोखराको लेकसाइडसम्मको करिब ३ किलाेमिटर क्षेत्रमा हुनेछ।

रेवान अध्यक्ष नरेश भट्टराईले महोत्सवको तयारी सकिएको र पोखरा पर्यटकहरूलाई स्वागत गर्न तयार भएर बसेको बताए। ‘२५ वर्ष पहिले हाम्रा अग्रजहरूले पोखरालाई मुख्य पर्यटकीय मौसममा मात्र नभई सालैभर घुमघामको गन्तव्य बनाउनुपर्छ भनेर यसको सुरुवात गर्नुभएको थियो। आज यो देशकै सबैभन्दा ठूलो सडक महोत्सव बनेको छ। यो रजत वर्ष अझ विशेष बनाउनेछौँ,’ भट्टराईले भने।

महोत्सवको मुख्य आकर्षणको रूपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, बेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुच, पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीहरूको विषयमा केन्द्रीकृत गरी टक सो, स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि उपजहरूको प्रदर्शन गरिने आयोजकले जनाएको छ।

लेकसाइडको तीन किलोमिटर लामो सडक क्षेत्रमा हुने गतिविधि सबैका लागि निःशुल्क र सांगीतिक कार्यक्रम हुने कोमाजाने पार्क प्रवेशका लागि भने टिकट काट्नुपर्ने बताइएको छ।

आयोजकले यसपटक स्टेज साेका लागि खल्ती एपबाट अनलाइन टिकट काट्न सकिने व्यवस्था गरेको छ। यस्तै, विदेशी कार्डहरूबाट आफन्त तथा साथीभाइका लागि समेत टिकट काट्न सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

महोत्सवको २५औँ वर्ष भएकाले यसपटक हल्लनचोकदेखि कन्सर्ट आयोजना स्थलसम्म विशेष आरती र शिव ताण्डव नृत्य प्रस्तुत गरिनेछ। राष्ट्रिय स्तरका चर्चित कलाकारहरू आउने यो महोत्सवलाई कलाकार रिमा विश्वकर्माले होस्ट गर्नेछिन्।

महोत्सवको न्यु इयर इभमा र्‍यापर लाउरे र  द एलिमेन्ट्स ब्यान्डले प्रस्तुति दिनेछन् भने डिसेम्बर ३० तारिखमा मुक्ति एन्ड रिभाइबल ब्यान्डको धमाकेदार प्रस्तुति रहनेछ।

त्यसैगरी, डिसेम्बर २९ मा ‘ओ अमिरा’ तथा ‘मनमगन’ फेम गायक दीपक बज्राचार्यले दर्शकलाई झुमाउनेछन्। लक्ष्य ब्यान्ड, द स्क्राच जर्नी, टुकी, ब्ल्याक फिदरलगायतका ब्यान्डको प्रस्तुति महोत्सवमा हुनेछ।

उनीहरूका अलावा कार्यक्रममा लोकप्रिय गायिका प्रीति आले, पशुपति शर्मा, बद्री पंगेनीको साथमा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल एवं जीवन दाहालको साथमा १० भन्दा बढी स्थानीय ब्यान्डले आफ्नो सांगीतिक प्रस्तुतिले दर्शक झुमाउने आयोजकले जनाएको छ।

यसैगरी, मेलामा बालबालिकाहरूका लागि चित्रकला र पोखराका विभिन्न साहसिक खेलकुदहरूको डकुमेन्ट्री प्रदर्शन गरिनेछ।