१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
आज (आइतबार) हुने राम–सीता विवाह पञ्चमीका लागि ८५ क्विन्टल अन्नबाट उनीहरूको आकृति तयार पारिएको छ । ११ हजार ११ स्क्वायर फिटको राम–सीताको प्रतिमा पाँच दिन लगाएर शुक्रबार साँझ नै तयार पारिएको हो ।
हदिश खुद्दार जनकपुरधाम
२०८० पौष १ आइतबार ०६:०९:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

८५ क्विन्टल अन्नबाट राम–सीताको प्रतिमा : विवाह पञ्चमीमा उल्लासमय जनकपुरधाम

Read Time : > 2 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०८० पौष १ आइतबार ०६:०९:००

प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आइतबार धुमधामसँग विवाह पञ्चमी मनाइँदै छ । रामजानकी विवाह पञ्चमी महोत्सवमा छिमेकी देश भारतबाट हजारौँ श्रद्धालु भक्तजन आइपुगेका छन् । २६ मंसिरदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवले जनकपुरधामको वातावरण उल्लासमय बनेको छ । 

प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमीलाई नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ । त्रेतायुगमै भारत अयोध्याका दशरथका छोरा पुरुषोत्तम राम र राजा जनककी छोरी सीताबीच वैवाहिक सम्बन्ध कायम भएको थियो । राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग पञ्चमी तिथिमा रामजानकी विवाह पञ्चमी महोत्सवको आयोजना हुने गर्दछ ।

महोत्सवको तेस्रो दिन सीतावरणका लागि राजा जनकले राखेका शिवधनुष ताँदो चढाउने सर्तका लागि इच्छित वर सहभागी भएका दिनलाई ‘धनुष यज्ञ’ भनिने गरिएको छ । यी विधि क्रमशः गत मंगलबार, बुधबार र बिहीबार सम्पन्न भइसकेका छन् । महोत्सवको चौथो दिन तिलकोत्सव मनाइएको थियो । तिलकोत्सवलाई मैथिलीमा छेका भनिने चलन छ । विवाह हुनुअघि मिथिलामा बेहुली पक्षले बेहुला अर्थात् बरको को घरमा कोसेली (भार) लिएर जाने चलन छ । सोही परम्परालाई जानकी मन्दिरले पनि विवाहपञ्चमी महोत्सवमा निरन्तरता दिँदै आएको छ । तिलकोत्सवका लागि शुक्रबार जानकी मन्दिरका महन्त, साधुसन्त तथा नागरिक समाजका व्यक्तिहरूले दहीच्युरा, खिरपुरी, विभिन्न मिठाई, फलफूल, लत्ताकपडासहित कम्तीमा १०१ भार (कोसेली)सहित बाजागाजसहित जनकपुरधामकै राममन्दिर पुगेका थिए । त्रेतायुगमा श्रीरामले शिवधनुष ताँदो चढाउने क्रममा भाँचिएको पौराणिक मान्यताको प्रतीकात्मक मञ्चन गरिन्छ । तिलकोत्सवमा जानकी मन्दिरका छोटा महन्त रामरोशन दास सीताको बुबाको रूपमा र राममन्दिरका महन्त राम गिरी रामको बुबाको रूपमा सम्धी मिलानपछि तिलकोत्सव सम्पन्न भएको थियो । 

महोत्सवको पाँचौँ दिन शनिबार ‘मटकोर’ विधि आयोजना गरियो । धनुषभंग भएसँगै श्रीरामसँग सीताको विवाहको टुंगो लागेको कथा सम्झँदै विवाहको पूर्वांग विधि ‘मटकोर’ आयोजना गरिएको जनकपुरस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताए । महोत्सवको छैटौँ दिन सीताराम स्वयंवर र राति वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ । यसलाई ‘सीता स्वयंम्वर तथा विवाह’ भन्ने गरिएको छ । महोत्सवको अन्तिम दिन विवाह सम्पन्न गरिएको भोलिपल्ट जन्तीलाई भोजन गराई दक्षिणा दिएर बिदा गरिन्छ । यो विधिलाई ‘रामकलेवा’ भनिन्छ । जनकपुरमा धनुष यज्ञ र विवाहविधि जानकी मन्दिरपरिसरमै सम्पन्न भए पनि स्वयम्वर भने विशाल मैदान रंगभूमिमा आयोजन गरिने परम्परा छ ।

अन्नबाट सबैभन्दा ठूलो सीतारामको प्रतिमा जनकपुरधाममा
अन्नबाट बनेको सीतारामको प्रतिमा । तस्बिर : रासस   

यस वर्ष महोत्सवमा मुख्य आकर्षक मानिने अन्नबाट संसारकै ठूलो रामसीताको प्रतिमा बनाइएको छ । ८५ क्विन्टल अन्नको प्रयोग गरी ११ हजार ११ स्क्वायर फिटको रामसीताको प्रतिमा शुक्रबार साँझ तयार पारिएको हो । पाँच दिनदेखि प्रतिमा निर्माण कार्य स्थानीय रंगभूमि मैदान १२ बिघामा भइरहेको थियो । निर्देशक तथा कलाकार सतिशप्रसाद गुज्जरले ११ हजार ११ स्क्वायर फिटमा सीतारामको आकृति बनाउनका लागि पाँच दिन लागेको बताए ।

धान, गहुँ, मकै, बदाम, चाना, लहरको दाल, मसुरको दाल, चामल, उरिदको दालसहितका अन्न प्रयोग गरी रामसीता, राजा जनक र लक्ष्मणको आकर्षक प्रतिमा बनाइएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । भारतको मध्यप्रदेशको हरदा जिल्लाका कुकरावदनिवासी गुज्जरको नेतृत्वको टोलीले प्रतिमा निर्माण गरेको हो । अन्नबाट निर्माण भएको ११ हजार ११ स्क्वायर फिटको यो प्रतिमाले वल्र्ड रेकर्ड राख्ने उनले बताए । यो प्रतिमाको योजनाकार जनकपुरकी विद्यार्थी गुनगुन मिश्र हुन् । उनले अन्नबाट प्रतिमा बनाएर जनकपुरधामलाई विश्वमा चिनाउनुपर्छ भनेर मेयर मनोजकुमार साह र जानकी मन्दिरका महन्तलाई सुझाएकी थिइन् ।

सीताराम आकृति तयार भएपछि यसको दर्शनका लागि पनि निमन्त्रणा आयोजक टोलीले दिएको छ । जनकपुरधामका मेयर साहले सीतारामको आकृतिमा प्रयोग गरिएको अन्नलाई सदुपयोग गरिने बताए । एक सय दुई क्विन्टल अन्नको प्रयोग भएको जानकारी दिँदै उनले अन्नको सदुपयोग गर्न लागिपरेको बताए । ‘धार्मिकस्थलका रूपमा रहेको जनकपुरधाम सीता माताको गृहनगर रहेकाले हामीले विभिन्न संघ–संस्था तथा विभिन्न व्यक्तिहरूको सहयोग र संयोजन तथा समर्थन पाएपछि सीतारामको आकृति बनाउन अभिप्रेरित भएका हौँ, अन्नलाई कसरी प्रयोग गर्ने भन्नेमा हामी लागिपरेका छौँ,’ उनले भने । यसअघि भारतको उत्तर प्रदेशस्थित अयोध्यामा सीतारामको आकृति १० हजार आठ सय स्क्वायर फिट बनाएर विश्व रेकर्ड कायम गरेको थियो । जनकपुरधाममा निर्माण गरिएको आकृतिले भारतको रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको गुज्जरले बताए ।