मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १ शनिबार
  • Saturday, 13 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर ३० शनिबार १५:५०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आश्रमको सहयोगमा कक्षाकोठासम्म, उच्च शिक्षाको लागि संघर्ष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर ३० शनिबार १५:५०:००

टोखाको मुख्य गेटबाट करिब पाँच किलोमिटरको दूरीमा रहेको पवित्र समाजसेवा आश्रम छिर्दा गाउँघरको झल्को दिने परिदृश्य देखिन्छ। एउटै आँगनमा कोक्रोमा बच्चा खेलिरहेकोदेखि वृद्धवृद्धाहरू घाम तापिरहेको दृश्यले गाउँघरमा आजकल विरलै भेटिने संयुक्त परिवारको झल्को दिन्छ। तर, यो टोखामा रहेको पवित्र समाज सेवा नामक संस्था हो, जसले असहाय र घरबारविहीनहरूलाई आश्रय दिँदै आएको छ। संस्थाले हाल बालबालिका र वृद्धवृद्धा गरी ६५ जनालाई आश्रय दिइरहेको छ।

२ वटा टहरामा सञ्चालनमा रहेको यो आश्रम असहायका लागि आश्रयस्थल मात्रै नभई बालबालिकाका लागि शिक्षा पाउनेसम्मको वातावरण बनाइरहेको स्थल हो। जहाँबाट ३५ जना बालबालिकाले विद्यालयसम्म जाने अवसर पाइरहेका छन्। त्यसैमध्येकी एक हुन् १८ वर्षीया आशा राई। 

२ वर्षको हुँदा पवित्र समाज सेवामा पुगेकी उनी अहिले कक्षा १२ मा अध्ययनरत छिन्। पवित्र समाज सेवाले अध्ययनका लागि खर्च र बस्नका लागि व्यवस्था गरिदिँदै आएको छ। तर, पनि आशालाई आफ्नो परिवार भइदिए हुन्थ्यो भन्ने महसुस भने भइरहन्छ। उनी सुनाउँछिन्, ‘खान, बस्न र पढ्न त समस्या हुँदैन, तर चाडबाडमा साथीभाइले परिवारको स्टोरी सुनाउँदा आफ्नो पनि घर भइदिए हुन्थ्यो भन्ने लाग्छ। परिवार नहुँदा धेरै कुराको कमी हुँदो रहेछ।’

आशालाई आफू जन्मेको ठाउँ पूर्वतिर हो भन्ने मात्र थाहा छ। तर, अहिले उनको आफ्नो घर ठेगाना यही आश्रम बनेको छ। आशाजस्तै सँगै बसेर पढ्ने अरू थुप्रै साथी छन्। उनीहरू सानै उमेरमा आश्रममा आइपुगेका हुन्। हुर्काइ, बढाइ र पढाइ अहिलेसम्म सबै यहीँबाट चल्दै आएको छ। तर, विद्यालय तहको पढाइ सकिएपछि चाहिँ उनीहरूको भविष्य अन्योलमा छ।

उच्च शिक्षालाई निरन्तरता कसरी दिने भन्नेबारे उनीहरू अहिलेदेखि नै चिन्तित छन्। अहिलेसम्मको पढाइखर्च आश्रमले व्यहोर्दै आए पनि आगामी दिनमा आत्मनिर्भर बन्नका लागि कसरी अगाडि बढ्ने भन्ने अन्योलता नै उनीहरूको चिन्ताको विषय बनेको हो।

आश्रममा उनीजस्तै पढाउनुपर्ने र पालनपोषण गर्नुपर्ने ३५ बालबालिका छन्। कोही स्कुल पढ्दै छन्, त कोही कोक्रोमा हुर्कँदै छन्। बालबालिका मात्र होइन अपांगता भएका, उमेर पुगेका वृद्धवृद्धाहरूको समेत पालनपोषणको जिम्मेवारी भएकाले आश्रमले उच्च शिक्षासम्मको व्यवस्था गर्न सक्ने अवस्था देखिँदैन। योसँगै आश्रममा अन्य असहाय व्यक्तिहरू थपिने क्रमसमेत जारी रहेकाले उनीहरूले समेत आफैँ कमाउनुपर्ने बाध्यता बढ्न थालेको हो।

आशासँगै अपेक्षा रावत, अंकिता नेपाल र अन्जली देवकोटा पनि अहिले कक्षा १२ सकेर खाली बसेका छन्। अपेक्षा र अन्जली नर्सिङ पढ्ने रहर बोकेर बसेको भए पनि आर्थिक अभावका कारण कलेज भर्ना हुन सकेका छैनन्। उनीहरूसँग पनि सहयोगको अपेक्षाबाहेक कुनै विकल्प छैन।

उनीहरू भन्छन्, ‘यदि नेपाल सरकारले हाम्रो पढाइ मात्र गर्दिए पनि बाँकी जिन्दगी सजिलै अगाडि बढाउन सकिन्थ्यो। काम गर्न सजिलो हुन्थ्यो। हामी घरबारविहीन हुनु, यो अवस्थामा आइपुग्नु हाम्रो दोष होइन नि? सरकारले अभिभावकत्व लिनुपर्ने अवस्थामा हामीले पढ्नसमेत पाएका छैनौँ।’

केही बालबालिकालाई विभिन्न निजी कलेजहरूले पढाइरहे पनि सरकारीमा पूर्ण छात्रवृत्ति नहुँदा उनीहरू पढाइबाट वञ्चित छन्। उनीहरूको अभाव यतिमै सीमित छैन। आश्रममा समेत बस्ने ठाउँ सीमित हुँदा उनीहरूलाई बस्ने व्यवस्था आफैँले गर्नुपर्ने अवस्था आएको छ। उनीहरूले आश्रमका काममा दैनिक सहयोग गर्दै आए पनि शिक्षासँगै जागिर गर्न पाए आफूसँगै आश्रममा रहेका बालबालिकाहरूलाई समेत सहयोग गर्न सकिन्थ्यो भन्ने लाग्छ।

पवित्र समाज सेवाकी सञ्चालिका दीक्षा चापागाईं तत्काल पाँचजनालाई कलेज पढाउनका लागि सहयोग खोजिरहेकी छिन्। हुर्केका र पढेकाले राम्रो शिक्षाको अवसर पाएमा आगामी दिनमा आश्रमलाई सहयोग पुर्‍याउने उनको अपेक्षा छ। उनी भन्छिन्, ‘दैनिक गुजारा चलाउन नै अहिले समस्या छैन। तर, बालबालिका पढाउन लाग्ने खर्च भने जुटाउन गाह्रो छ। शिक्षा साह्रै महँगो भएको छ।’