मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २७ बुधबार
  • Wednesday, 12 February, 2025
रमेश सुवेदी काठमाडौं
२o८o मङ्सिर २७ बुधबार २१:३४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

विवादास्पद खेलमा वीरगन्जको पहिलो जित

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २७ बुधबार २१:३४:oo

विवादास्पद खेलमा स्पोर्टिङ इलाम एफसीलाई २–१ ले हराउँदै वीरगन्ज युनाइटेड एफसीले नेपाल सुपर लिग (एनएसएल)२०२३ मा पहिलो जित निकालेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा वीरगन्जलाई जित दिलाउन घानाका खेलाडी विलियम ओपोकु असिइडु र बिसाेन गुरुङले एक–एक गोल गरे। यसअघि खेलको १५औँ मिनेटमा आशिष चापागाईंले इलामको लागि अग्रता बनाएका थिए। 

खेलको अन्त्य निकै तनावपूर्ण रह्यो। हार सहन नसकेको इलाम खेल सकिएपछि रेफ्रीमाथि जाइलाग्यो। मार्की तथा कप्तान विकेश कुथु रेफ्रीको निर्णयमा आपत्ति जनाउन पुगे। विकेशलाई फिफा रेफ्री कविन ब्यञ्जनकारले रातो कार्ड देखाए। विकेशले रेफ्री ब्यञ्जनकारलाई छातीले घकेलेका थिए। यसपछि बाँकी खेलाडी पनि रेफ्रीमाथि जाइलागेका हुन्। 

आयोजकले सुरक्षाकर्मीलाई मैदानभित्र पठाएर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो। रेफ्रीलाई बाक्लो सुरक्षा घेराबीच टनेलबाट भित्र प्रवेश गराउने समय आक्रोशित समर्थकले बोत्तल प्रहार गरेका थिए। 

रेफ्री ब्यञ्जनकारलाई भने बोत्तलले लागेको थियो। असिस्टेन्ट रेफ्रीद्वय मधुकर आचार्य र सहदेव श्रेष्ठले भने छल्न भ्याए। फोर्थ रेफ्री श्याम दनुवार थिए। उनले पनि इलामको बेन्चलाई साम्य पार्न सकेनन्। 

दुई हजार समर्थकमाझ खेल चलिरहेँदा रेफ्री ब्यञ्जनकारले दुई रातोसहित तीन पहेँलो कार्ड देखाएका थिए। रातो कार्ड बेहोर्नेमा गोलकिपर विकेशसँगै इलामका गोलकिपर प्रशिक्षक उज्वल मानन्धर पनि रहे। 

इन्जुरी समयमा इलामका खेलाडीले बक्सभित्र हातले बल छोएपछि रेफ्री ब्यञ्जनकारले वीरगन्जलाई पेनाल्टी अवसर दिएका थिए। यो निर्णयपछि मैदानभित्रका खेलाडी र मैदानबाहिरका अफिसियलहरू आक्रामक भए। 

त्यही पेनाल्टीमा गोल गर्दै विलियमले वीरगन्जलाई २–१ को अग्रता दिलाएका थिए। अन्ततः स्कोरलाइन अन्तिमसम्म त्यही रह्यो र वीरगन्ज विजयी बन्यो। जितपछि वीरगन्जको प्लेअफ सम्भावना कायम रहेको छ। इलामको सम्भावना भने सकिएको छ।