Skip This
यू–१९ एसिया कप : नेपाल पाकिस्तानसँग सात विकेटले पराजित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २३ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर २३ शनिबार o६:५९:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू–१९ एसिया कप : नेपाल पाकिस्तानसँग सात विकेटले पराजित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २३ शनिबार o६:५९:oo

बलिङ र ब्याटिङमा फितलो प्रदर्शन गरेको नेपालले पाकिस्तानविरुद्ध ४७.२ ओभरमा एक सय ५२ रन मात्र बनाएको थियो, पाकिस्तानले २६.२ ओभरमा तीन विकेटको क्षतिमा जित निकाल्यो

उमेर समूहमा नेपाली युवा टोली अन्तर्राष्ट्रिय क्रिकेटमा अब्बल नै छ । विगतमा नेपाली यू–१९ टोलीले शक्तिशाली राष्ट्रलाई हराएका धेरै रेकर्ड छन् । यही गर्विलो इतिहास दोहोर्‍याउने रणनीतिका साथ शुक्रबार नेपालले युएईमा सुरु भएको एसिसी यू–१९ एसिया कपमा टेस्ट राष्ट्र पाकिस्तानसँग प्रतिस्पर्धा गर्‍यो । नेपालले कुनै पनि समयमा पाकिस्तानलाई दबाबमा राख्न सकेन । ब्याटिङ र बलिङमा खराब प्रदर्शन गरेपछि नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भयो । हारसँगै नेपालले प्रतियोगिता सुरुवात गरेको छ । 

आइसिसी एकेडेमी ओभल–२ मा टस हारी ब्याटिङ गरेको ४७.२ ओभरमा सबै विकेट गुमाएर एक सय ५२ रनमै समेटियो । पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाउँदै सानदार जित निकाल्यो । नेपालले समूह ‘ए’को दोस्रो खेलमा अफगानिस्तानविरुद्ध खेल्नेछ । नेपालले मंगलबार भारतको सामना गर्नेछ । एकै समयमा भएको खेलमा भारतले पनि अफगानिस्तानलाई सात विकेटले नै हराएको छ । जितपछि भारत र पाकिस्तानले दुई अंक जोडेका छन् । नेपाल र अफगानिस्तान अंकविहीन छन् । 

पाकिस्तानका अजान र सादको अर्धशतक
पाकिस्तानको जितमा अजान अवाइस र साद बाइगले अर्धशतकीय इनिङ्स खेलेका छन् । अजानले ६२ बलमा आठ चौकासहित सर्वाधिक ५६ रन जोडे । कप्तान सादले ५६ बलमा पाँच चौकाको योगदानमा ५० रन जोडे । 

पाकिस्तान एक समय २३–२ को अवस्थामा थियो । यी दुई ब्याट्सम्यानले तेस्रो विकेटका लागि एक सय आठ रनको बलियो साझेदारी गर्दै पाकिस्तानलाई जिततर्फ अग्रसर गराए । आठ बलको सामना गरेका मोहम्मद जिसानले दुई चौका र छक्कासहित अविजित २० बनाए । ओपनर साहजैब खानले १५ रन थपे । ओपनर साम्य हुसैनलाई गुलसन झाले आउट गरे । नेपालका गुलसनले दुई र आकाश त्रिपाठीले एक विकेट लिएका हुन् ।

चलेन नेपालको साझेदारी
नेपालको कमजोर ब्याटिङमा उत्तम मगरले मात्रै अर्धशतकीय इनिङ्स खेलेका थिए । उत्तमले ६७ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ५१ रन बनाए । पाकिस्तानका सिमर बलरले उत्कृष्ट बलिङ गर्दा नेपाल इनिङ्सको एक समय ४६–५ को नाजुक अवस्थामा थियो । नेपाललाई उत्तमले छैटौँ विकेटका लागि दीपेश कँडेलसँग ६८ रनको साझेदारी गर्दै सम्मानजनक अवस्थामा पुर्‍याएका थिए । ५९ बलको सामना गरेका दीपेशले दुई चौका र एक छक्कासहित ३१ रनको योगदान गरे । 

कप्तान देव खनाल १३ बलमा खेल्दा शून्यमै पेभिलिन फर्किएका थिए । ओपनर अजुन कुमालले २१ रन बनाए । अर्का ओपनर तिलक भण्डारी सात, आकाश त्रिपाठी ६, गुल्सन झा र विशालविक्रम केसी एक रन, विपिन रावल शून्य र आकाशले चन्द पाँच रन बनाएर आउट भए । 

सुवास भण्डारी आठ रन बनाएर क्रिजमा रहे । नेपाललाई सस्तैमा रोक्न पाकिस्तानमा मोहम्मद जिसानले ६ विकेट लिए । ९.२ ओभर बलिङ गरेका उनले एक मेडनसहित १९ रन मात्र खर्चिएका हुन् । अमिर हसनले दुई तथा अली असफान्ड र उबैद साहले समान एक विकेट लिए ।

भारतले अफगानिस्तानलाई हरायो 
भारतले अफगानिस्तानलाई सात विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले अल आउट हुँदा एक सय ७३ रन बनाएको थियो । भारतले तीन विकेट गुमाउँदै ३७.३ ओभरमा जित निकाल्यो । 

भारतको जितमा ओपनर अर्सिन कुलकर्नीले अविजित ७० रन बनाए । एक सय पाँच बल खेलेका उनले चार चौका प्रहार गरे । पाँचौँ नम्बर क्रिजमा रहेका मुसेर खानले ५३ बलमा ४८ रनको योगदान गरे । कप्तान उदय सहरानले २० रन बनाए । अफगानिस्तानका बसिर अहमद, वाहिदुल्लाह जाद्रन खलिल अहमेदले समान एक विकेट लिएका थिए । 

अफगानिस्तानको ब्याटिङ इनिङ्समा ओपनर जाम्सिद जाद्रनले सर्वाधिक ४३ रन बनाए । अक्रम मोहम्दजाईले २०, नुमान साहले २५ र मोहम्मद योनुसले २६ रन बनाएका हुन् । भारतका आर्सिन कुलकर्नी र राज लिम्बानीले समान तीन विकेट लिए । नमन तिवारीले दुई तथा मुरुगान अभिषेक र मुसेर खानले समान एक विकेट लिन सफल भए ।