१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
गत २ साउनमा अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार हुँदै बाहिरिएको ६०.७१६ किलो सुन सिनामंगलबाट बरामद गरिएको थियो, जुन ‘ब्रेकसु’मा लुकाएर ल्याइएको थियो
टेकराज थामी काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:२६:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

६० महिनामा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई क्विन्टलभन्दा धेरै सुन बरामद

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:२६:oo

३८ क्विन्टल सुन तस्करी प्रकरणले पाँच वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र होइन, देश नै तरंगित बन्यो । घटनामा जोडिएका ४५ भन्दा धेरै अभियुक्त पक्राउ परे, तर तस्करी रोकिएन । फरक–फरक शैली र रूपमा तस्करी झन् मौलायो ।

गत २ साउनमा अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारको जाँचपास पार गरेर बाहिरिएको ६०.७१६ किलो सुन राजस्व अनुसन्धान विभागले पक्राउ गर्‍यो । उक्त सुन मोटरसाइकल र स्कुटरको ‘बे्रकसु’मा लुकाएर हङकङबाट क्याथे प्यासिफिकको जहाज हुँदै नेपाल ल्याइएको थियो । 

अनुसन्धानमा संलग्न अधिकारीले सोचेका थिए, घटनामा ठूलै व्यापारिक घराना संलग्न छन् । तर, अनुसन्धानपछि खुल्यो, बरामद सुन दुई महिनाअघि मात्रै खोलिएको रेडी ट्रेड नामको कम्पनीले तस्करी गरी ल्याएको रहेछ । ट्रेडका मालिक थिए– दोलखाका दिलीप भुजेल, जो रोजीरोटीका लागि काठमाडौंमा ज्याला–मजदुरी गर्दै आएका थिए । 

भुजेललाई कुख्यात तस्कर चिनियाँ नागरिक वाङ डाओजिनले प्रयोग गरेका थिए । वाङकै निर्देशनमा ट्रेडबाट दुई महिनाभित्र थप ३०२.०६२ किलो सुन तस्कर गरिएको थियो । जसमध्ये ६०.७१६ किलो सुन मात्रै बरामद हुन सकेको थियो । बाँकी २४१.३४६ किलो तस्करहरूले सफलतापूर्वक गन्तव्यसम्म पुर्‍याएका थिए ।

गत १० पुसमा फ्लाई दुबईको जहाज हुँदै अन्तर्राष्ट्रिय विमानस्थल झरेका चिनियाँ नागरिक ली हानसोङ इ–सिगरेट (विद्युतीय चुरोट)सहित पक्राउ परे । अनुसन्धानपछि इ–सिगरेटभित्र सुन रहेको खुल्यो । भन्सार विभागले बरामद सबै सिगरेटको ‘सिलिन्डर’ खोल्यो । लुकाई राखिएको सुन जम्मा गर्‍यो । तौल लिँदा नौ किलो रहेको खुल्यो । 

गत ८ पुसमा अन्तर्राष्ट्रिय विमानस्थलमै १९ किलो सुन बरामद भयो । फ्लाई दुबईको जहाजबाट विमानस्थल झरेका सुडानी नागरिक मोहम्मद महमेदले डफला साराफेन्दिनले उक्त सुन कपडामा स्प्रे गरी ल्याएका थिए । 

गत ८ कात्तिकमा पनि ‘स्प्रे’ गरिएको ४२९.८२० ग्राम सुनसहित भारतीय नागरिक ३९ वर्षीय मोहम्मद कसिम पक्राउ परे । उनी नेपाल एयरलाइन्सको जहाज हुँदै दुबईबाट काठमाडौं उत्रिएका थिए । उनले कार्टुन बक्सको भित्री तहमा ‘स्प्रे’ गरी सुन ल्याएका थिए । प्रहरीले उनलाई विमानस्थलबाट बाहिरिँदै गर्दा पक्राउ गरेको थियो । 

शंकास्पद कसिमलाई ‘एक्स–रे मेसिन’मा राखेर चेकजाँच गर्दा मलद्वारमा समेत सुनका दुईवटा ‘क्याप्सुल’ भेटियो । क्याप्सुल गाल्दा २५०.८५० ग्राम सुन फेला परेको थियो । जसलाई उनी भारत लैजाने तयारीमा थिए । 

कुवेतबाट जजिरा एयरको जहाज हुँदै काठमाडौं आएका भारतीय नागरिक ४१ वर्षीय फैजन अनवेर गत १७ फागुनको बिहान २:२० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिए । लगेजसहित आएका उनी विमानस्थलको आगमन कक्षबाट सरासर बाहिरिए । उनी नीलो पाइन्टमा थिए, तर उनको पहिरन अस्वाभाविक देखिन्थ्यो । 

शंका लागेपछि प्रहरीले फैजनलाई नियन्त्रणमा लियो । कुनै गल्ती नगरेको भन्दै उनी प्रहरीसँग कड्किए । शरीरबाट कपडा पालैपालो उतारियो । पाइन्ट र उनले लगाएको गन्जीको तौल अस्वाभाविक देखियो । प्रहरीले पाइन्टको भित्री भाग उल्टायो, तर केही भेटिएन । त्यसवेलासम्म फैजन गलेका थिएनन् । जब प्रहरीले पाइन्टको सिलाइ उधार्न थाल्यो, बल्ल उनी गल्न थाले । किनकी फाइन्टभित्र सुनले ‘स्प्रे’ गरिएको यस्तो पत्र थियो, जुन उनले कुवेतदेखि लगाएर आएका थिए । 

प्रहरीले फैजनको गन्जीको सिलाइ पनि उधार्‍यो । त्यसभित्र पनि सुनले ‘स्प्रे’ गरिएको अर्को पत्र भेटियो । प्रहरीका अनुसार उनको पाइन्ट र गन्जीभित्र मात्रै ‘स्प्रे’ गरिएको एक किलो दुई सय ग्राम सुन फेला परेको थियो ।

यी पाँच घटनाले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी नरोकिएको, तर शैली भने बदलिएको देखाउँछ । नेपाल प्रहरीका पूर्वडिआइजी केशव अधिकारी तस्करका मुख्य योजनाकारमाथि राजनीतिक संरक्षण रहेसम्म विमानस्थलबाट हुने सुन तस्करी नरोकिने बताउँछन् । 

‘विमानस्थलबाट हुने सुन तस्करी रोकिएको छैन । पटक–पटक सुन बरामद भएका घटनाले यसको पुष्टि गर्छ । यसका केही खास कारण छन् । त्यो हो मुख्य नाइके कहिले पनि पक्राउ नपर्नु । यिनीहरूले राजनीतिक दलका नेतामाथि लगानी गरेका हुन्छन् । बदलामा उनीहरूमाथि राज्य संयन्त्र र नेताको संरक्षण हुन्छ । यी र यस्ता गतिविधि कायम रहँदासम्म विमानस्थलबाट हुने सुन तस्करी रोकिँदैन,’ अधिकारीले भने । 

६० महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे दुई क्विन्टल तस्करीको सुन बरामद 
काठमाडौं उपत्यकाभित्रबाट पछिल्लो ६० महिनामा भन्सार कार्यालय र प्रहरीले साढे दुई क्विन्टल (२४१.८१ किलो) तस्करीको सुन बरामद गरेको छ । त्यसको ८५ प्रतिशत सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको हो । हाल चलेको बजार भाउअनुसार बरामद सुनको मूल्य दुई अर्ब ४२ करोड ८४ लाख ९७ हजार आठ सय ३० रुपैयाँ पर्छ । 

तथ्यांकअनुसार तस्करीको दर विगत वर्षका तुलनामा पछिल्लो वर्ष बढेको छ । विमानस्थल भन्सार कार्यालयले ०७८/७९ मा विमानस्थलबाट ३१ किलो दुई सय ५० ग्राम सुन बरामद गरेको थियो । त्यस्तै, ०७९/८० मा विमानस्थलबाट एक सय १२ किलो पाँच सय ५७ ग्राम सुन बरामद गएको छ । यो दर अघिल्लो आर्थिक वर्षको तुलनामा २६०.२३ प्रतिशतले धेरै हो । जसले विमानस्थलबाट हुने सुन तस्करी नरोकिएको बरु, स्वरूप बदलेर शतप्रतिशत बढेको देखाउँछ । 

अर्ध ठोस बनाएर पनि हुन्छ तस्करी 
गत ८ पुसमा फ्लाई दुबईको उडानबाट २७ वर्षीय सुडानी नागरिक मोहम्मद अहमद डाफल्ला अन्तर्राष्ट्रिय विमानस्थल उत्रिए । दुबईबाट आएका उनको गतिविधि शंकास्पद देखियो । प्रहरीले उनको शरीरको खनतलासी लियो । यही क्रममा उनले लगाएको ज्याकेटभित्र अर्ध ठोस अवस्थाको पहेँलो पदार्थ भेटियो । परीक्षणपछि उक्त अर्ध ठोस पदार्थ सुन रहेको खुल्यो । तौल लिँदा सुनको परिमाण १९ किलो थियो । 

त्यस्तै, गत १९ माघमा फ्लाई दुबईकै उडानबाट क्यालेनियन नागरिक ३५ वर्षीय मोहम्मद कमल महगोब काठमाडौं उत्रिए । विमानस्थलको आगमन कक्षबाट बाहिरिने क्रममा उनले लगाएको पेटी अस्वाभाविक देखिन्थ्यो । शंका लागेपछि प्रहरीले नियन्त्रणमा लियो । चेकजाँच गर्दा पेटीभित्र अर्ध ठोस अवस्थाको आठ किलो १७८.८० ग्राम सुन फेला पर्‍यो । भन्सार कार्यालयका अनुसार पक्राउ परेका डाफल्ला र महगोब एउटै गिरोहका सदस्य हुन् । उनीहरूले बरामद सुन स्थलमार्ग हुँदै भारत लैजाने तयारी गर्दै थियो ।

तस्करलाई राजनीतिक संरक्षण रहेसम्म विमानस्थलबाट हुने सुन तस्करी रोकिँदैन : केशव अधिकारी, पूर्वडिआइजी 
विमानस्थलबाट हुने सुन तस्करी रोकिएको छैन । यसको नाभी राजनीतिक दलका नेतासँग गएर जोडिन्छ । तस्करीका मूल नाइकेलाई नेताको संरक्षण छ । राज्य संयन्त्र प्रयोग गरेर उनीहरू सधैँ उम्किन्छन् । जबसम्म उनीहरू पक्राउ पर्दैनन्, सुन तस्करी रोकिँदैन । जस्तो यसअघि भएका तस्करीका घटनालाई लिन सक्छौँ । घटनापछि अनुसन्धानका लागि समिति गठन भए । आयोग बन्यो । तस्करलाई राजनीतिक संरक्षण छ भनेर उनीहरूको प्रतिवेदनमा प्रस्ट उल्लेख छ । तर, उनीहरूविरुद्ध कहिले पनि कारबाही हुँदैन । फलतः तस्करका नाइके पक्राउ पर्दैनन् । योे स्थिति कायम रहँदासम्म विमानस्थलबाट हुने सुन तस्करी रोकिँदैन । 

ad
ad