विपन्न अवस्थाका व्यक्तिको आयआर्जनमा वृद्धि गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले विभिन्न बालीको मिनी किट वितरण कार्य अगाडि बढाएको छ।
केन्द्रको आर्थिक वर्ष ०८०/८१ को स्वीकृत कार्यक्रमअनुसार विपन्न लक्षित वर्गलाई मिनी किट वितरण गर्न लागेको हो।
कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक जनकबहादुर सिंहका अनुसार कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिकाका विपन्न वर्गको आर्थिकसँगै पोषणमा सुधार ल्याउने उद्देश्यले च्याउ, मकै, धान र तरकारीको बिउ वितरण भइरहेको छ।
‘च्याउ पाँच सय, गहुँ एक हजार पाँच सय, मकै पाँच सय, धान एक हजार मिनी किट वितरण गर्ने लक्ष्य राखेका छौँ,’ प्राविधिक सिंहले भने, ‘कृष्णपुरको वडा नं. ५ स्थित मुक्त कमैया शिविर र शुक्लाफाँटा नगरपालिकाको वडा नं. ४ र १० मा च्याउखेतीका लागि मिनी किट वितरण गरिएको छ।’
यसअघि गहुँ र तरकारीको मिनी किट बिउ वितरण गरिसकिएको छ भने धान र मकैको मिनी किट वितरण गर्ने कार्य केही दिनपछि हुनेछ।