
नेपाल आयल निगमले बाराको सिमरा विमानस्थलमा हवाई इन्धन वितरण गर्न रिफ्युलर स्टेसन स्थापना गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आइतबार हवाई इन्धन रिफ्युलिङ स्टेसनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रिजालले सिमरामा हवाई इन्धन भर्ने सुविधा भएपछि विमान कम्पनीलाई उडान र अवतरणका लागि सहज हुने बताए । उनले नाफा–नोक्सान नहेरी जनताको सेवाका लागि सिमरामा रिफ्युलर स्टेसन स्थापना गरिएको बताए ।
सिमरा विमानस्थलबाट हाल दैनिक नौवटा उडान हुने गरेको र एक हजारसम्म यात्रु आवतजावत हुने सिमरा विमानस्थल कार्यालयले जनाएको छ । सिमरामा हवाई इन्धन भर्ने सुवधा उपलब्ध भएपछि सबैभन्दा भरपर्दो वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गरिने नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिए । उनले भने, ‘खराब मौसमका कारण काठमाडौं विमानस्थलमा अवतरण हुन नसकेका विमानलाई भैरहवा वा विराटनरसम्म लैजानुपर्ने बाध्यता पनि हटेको छ ।’
आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले उपभोक्ताको सेवाका लागि सिमरामा हवाई इन्धन सुविधा उपलब्ध गराएको बताए । उनले चाँडै भरतपुर र जुम्ला विमानस्थलमा समेत हवाई इन्धन भर्ने सुवधा उपलब्ध गराउने गृहकार्य भइरहेको जानकारी दिए । निगमका नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतले चालू आर्थिक वर्ष ०८०/८१ को नीति कार्यक्रममै राखेर सिमरा विमानस्थलमा इन्धन भर्ने सुविधा उपलब्ध गराइएको बताए । हाल सिमराबाट काठमाडौंमा मात्रै भइरहेको उडानको कार्यतालिका इन्धन भर्ने सुविधा सुरु भएपछि थप गन्तव्यमा विस्तार हुने अपेक्षा छ ।
निगम प्रवक्ता मनोज ठाकुरका अनुसार हाल जनकपुरस्थित डिपोबाट हवाई इन्धन ढुवानी गरी सिमरामा उपलब्ध गराइएको छ । ‘निकट भविष्यमा सिमरामै भण्डारणगृह तयार गरिनेछ । त्यतिन्जेलसम्म भने जनकपुरबाट नौ हजार लिटर क्षमताको डिस्पेन्सरबाट इन्धन ओसारेर उपलब्ध गराइनेछ,’ उनले भने ।