मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण ११ शुक्रबार
  • Friday, 23 February, 2024
२०८० मङ्सिर १८ सोमबार ०६:१६:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
२०८० मङ्सिर १८ सोमबार ०६:१६:००

धेरै पहिले एक सन्तले आफ्नो आश्रममा बालबालिकालाई ध्यान सिकाउने शिविर सञ्चालन गरेका थिए । शिविरमा थुप्रै बालबालिका सहभागी थिए । एक दिन कुनै बालकलाई चोरी गर्दैगर्दा समातियो । यो खबर आश्रम व्यवस्थापकले सन्तलाई सुनाए र ती बालकलाई कडाभन्दा कडा सजाय दिएर शिविरबाट निष्कासन गर्न अनुरोध गरे । तर, सन्तले उनीहरूको यस्तो उजुरीमाथि कुनै ध्यान दिएनन् । उनले ती बालकलाई निष्कासन गर्नु त परैको कुरो, साथीहरूसँगै शिविरमा सहभागी हुनबाट समेत रोक लगाएनन् । साथै, उनले बालकलाई आफूले उनले चोरी गरेको थाहा पाएको छनक लाग्नसम्म दिएनन् । 

पहिलो चोरीको घटना भएको केही दिनपछि तिनै बालक पुनः चोरी गर्दैगर्दा समातिए । यसपटक उनलाई सीधै सन्तसामु हाजिर गराइयो । तर, यसपटक पनि सन्तले सबैको अपेक्षाविपरीत बालकलाई कुनै सजाय सुनाएनन् । सन्तको यस्तो व्यवहार देख्दा शिविरमा सहभागी सबै बालक क्रुद्ध भए । उनीहरूले सन्तलाई एउटा सामूहिक पत्र लेखेर चोरी गर्ने बालकलाई शिविरबाट निष्कासन नगर्ने भए आफूहरूले शिविर छाड्ने चेतावनी दिए । 

पत्र पढिसकेपछि सन्तले सबै बालबालिकालाई ध्यानस्थलमा एकत्रित हुन आदेश दिए । सबै बालबालिका उपस्थिति भइसकेपछि उनले सबैलाई सम्बोधन गर्दै भने– तपाईंहरू सबै बुद्धिमान् हुनुहुन्छ । सबै के सही र के गलत हो भन्ने पनि खुट्याउन जान्नुहुन्छ । तपाईंहरू यो शिविर छाडेर जान चाहनुहुन्छ भने जान सक्नुहुन्छ । तपाईंहरू स्वतन्त्र हुनुहुन्छ । तर, चोरी गर्दैगर्दा समातिएका यी बालकलाई सही के हो र गलत के हो भन्ने थाहा छैन । यस्तो अवस्थामा मैले नै यी अबोध बालकलाई केही सिकाइनँ भने कसले सिकाउला ? त्यसैले, तपाईंहरू जान चाहनुहुन्छ भने जानुहोस् । म यिनलाई सिकाउँछु, पढाउँछु । 

सन्तको यस्तो भनाइ सुनिसकेपछि चोरी गर्ने छात्र डाँको छाडेर रुन थाले । आँखाबाट बगेको आँशुसँगै उनीभित्र रहेको चोरी गर्ने भावना पनि सदाका लागि बिलायो । उनले सन्तको पाउमा परेर माफी मागे । साथै, उनले साथीहरूसित पनि माफी मागे । उनको अवस्था देखेर बाँकी शिष्यले पनि सन्त र चोरी गर्ने बालक दुवैसित क्षमा मागे र शिविर छाडेर नजाने प्रण गरे ।