
बाराको सिमरा विमानस्थलमा नेपाल आयल निगम लिमिटेडले हवाई इन्धन उपलब्ध गराउने गरी रिफ्युलिङ स्टेसन स्थापना गरेको छ।
रिफ्युलिङ स्टेसनको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आइतबार उद्घाटन गरेका छन्। सिमरामा बुद्ध एयर र यती एयरले दैनिक १५ वटासम्म उडान गर्दै आएका छन्।
सिमरामा हवाई इन्धन भर्ने सुविधा नहुँदा काठमाडौंबाटै दोहोरो रुटको इन्धन भरेर आउनुपर्दा कम यात्रु बोक्नुपरेको भन्दै विमान सञ्चालक कम्पनीले रिफ्युलिङ स्टेसन निर्माण गर्न माग गर्दै आएका थिए। दोहोरो रुटको इन्धन काठमाडौंबाटै बोक्नुपर्ने अवस्थाका कारण दुर्घटनाको समेत जोखिम हुने उनीहरूले बताउँदै आएका थिए।
अब सिमरा विमानस्थलमा आकस्मिक अवतरण गर्नसमेत सहज हुनेछ। मौसम खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न कठिन हुँदा विमानहरू लामो रुट तय गरेर भैरहवा वा विराटनगर जाने गर्दथे। काठमाडौंबाट सीधा र छोटो दूरीमा पर्ने भए पनि इन्धन भर्ने सुविधा नहुँदा सिमरा आउँदैनथे ।
सिमरा विमानस्थलले क्षेत्रीय विमानस्थललाई कनेक्टिङ फाइट गर्ने अपेक्षा गरिएको छ। सिमरा विमानस्थल कार्यालयका अनुसार सिमराबाट पोखरा वा भैरहवासम्म कनेक्टिङ फ्लाइट सञ्चालन गर्न सकिनेछ।