Skip This
नेपालमा विश्वकप लिग–२ को पहिलो सिरिज
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १६ शनिबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर : नयाँ पत्रिका
२o८o मङ्सिर १६ शनिबार o९:५५:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालमा विश्वकप लिग–२ को पहिलो सिरिज

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १६ शनिबार o९:५५:oo

सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेटको छनोटअन्तर्गत लिग–२ लाई रोडम्यापका रूपमा लिइएको छ, प्रतियोगिताको पहिलो सिरिज नै आगामी ५ फागुनमा काठमाडौंमा हुनेछ  

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सन् २०२७ को एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको रोडम्याप तयार गरेको छ । रोडम्यापअन्तर्गत आइसिसी विश्वकप लिग–२ को पहिलो सिरिज नै नेपालमै हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार विश्वकप लिग–२ को पहिलो सिरिज ५ फागुनबाट काठमाडौंको त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले आयोजना गर्ने लिग–२ को पहिलो सिरिजमा नेदरल्यान्ड्स र नामिबियाले सहभागिता जनाउने आइसिसीले जनाएको छ । 

नेदरल्यान्ड्स यसै महिना भारतमा सकिएको एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी भएको राष्ट्र हो । विश्वकपमा नेदरल्यान्ड्स सहभागी राष्ट्रमध्ये पुछारमा रह्यो । नेदरल्यान्ड्सले नौ खेलमा दुई–दुई जित मात्र निकाल्यो । नामिबियाको सिनियर क्रिकेट टोली अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान पक्का गरेको टोली हो । विश्वकप लिग–२ सिरिज जुन २०२७ सम्म चल्नेछ । 

सन् २०२३ को एकदिवसीय विश्वकप छनोट चरण स्थान पक्का गर्न एसोसिएटतर्फ एकदिवसीय मान्यताप्राप्त राष्ट्रहरूले प्रतिस्पर्धा गरेका थिए । त्यसवेला सात राष्ट्रले भाग लिएका थिए । सुपर लिगको १३औँ स्थानमा रहेको नेदरल्यान्ड्स लिग–२ मा घटुवा भएपछि आठ राष्ट्रले भाग लिन लागेका हुन् । नेदरल्यान्ड्सले पहिलोपटक लिग–२ नै खेल्न लागेको हो । 

सुपर लिगमा नेदरल्यान्ड्स १३औँ स्थानमा
नेदरल्यान्ड्सले २०१९ देखि २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको थियो । जसमा सुपर लिगमा खराब प्रदर्शन गरेपछि नेदरल्यान्ड्स लिग–२ मा झरेको हो । पछिल्लोपटकको सुपर लिगमा नेदरल्यान्ड्सले २४ खेलमा तीन जित मात्र निकालेको थियो । नेदरल्यान्ड्सले २० खेलमा हारको सामना गर्दा ३५ अंक मात्र जोड्यो । पहिलो संस्करणको सुपर लिगमा वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड, जिम्बाबे र नेदरल्यान्ड्सले शीर्ष आठको स्थान रक्षा गर्न नसक्दा सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा भाग लिएका थिए । अघिल्लो संस्करणको लिग–२ को साबिक विजेता स्कटल्यान्ड, उपविजेता ओमान र तेस्रो स्थान प्राप्त गरेको नेपालसँगै नामिबिया र अमेरिका वर्गीकरणमा यथावत् नै रहेका छन् । यसपटक क्यानडा र युएई प्ले अफबाट स्थान पक्का गरेका राष्ट्र हुन् । 

पहिलो संस्करणमा नेपाल तेस्रो
आइसिसीले एसोसिएटतर्फको अस्थायी रूपमा एकदिवसीय मान्यता प्रदान गरेका राष्ट्रहरूलाई एक्सपोजर दिन र उनीहरूका खेलाडीलाई व्यस्त बनाउन सन् २०२३ को एकदिवसीय क्रिकेटका लागि रोडम्यापअनुरूप विश्वकप लिग–२ अवधारणा ल्याएको थियो । यस अवधिमा नेपालले ३६ वटा एकदिवसीय खेल खेलेको थियो । लिगको अन्तिम चरणतिर नेपालको शीर्ष तीन स्थान पातलो बनिसकेको थियो । भारतीय टोलीका पूर्वअलराउन्डर मनोज प्रभाकरले नेपाली टोली छाडेपछि मोन्टी देसाईको आगमन भयो । 

मुख्य प्रशिक्षकका रूपमा मोन्टीले नेपाली सिनियर टोली सम्हाले । उनले टोली नेतृत्व गर्दा नेपालको पाँचौँ स्थानसमेत बलियो थिएन । तर, मोन्टीले ‘हयाप्पी ड्रेसिङ रुम’ अवधारणा ल्याउँदा नेपालले विश्वकप लिग–२ मा अविस्मरणीय प्रदर्शन गर्‍यो । लगातार १२ मध्ये ११ खेल जित्दै नेपालले तेस्रो स्थान प्राप्त गर्‍यो । जिम्बाबेमा भएको एकदिवसीय विश्वकपको क्वालिफायरमा समेत स्थान पक्का गर्‍यो । तेस्रो स्थान पक्का गरेपछि नेपालले चार वर्षका लागि एकदिवसीय मान्यतासमेत रक्षा गरेको थियो । 

नेपालले ३६ खेलमा ४० अंक बटुलेको थियो । जसमा १९ जित र १५ हारको सामना गर्‍यो । सो सिरिजमा नेपालका सन्दीपले एकै खेलमा अमेरिकाविरुद्ध सर्वाधिक ६ विकेट लिएका थिए । यसक्रममा उनले १६ रन खर्चेका थिए । पहिलो संस्करणको लिग–२ खेल्नेक्रममा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने र रोहित पौडेलले कप्तानी गरेका थिए । रोहितकै कप्तानीमा नेपालले लिग–२ को शीर्ष तीन स्थान रक्षा गरेको थियो । 

सो प्रतियोगितामा नेपालका लेग स्पिनर विकेट लिने सूचीको दोस्रो स्थानमा रहे । उनले ३० इनिङ्समा ७२ विकेट हात पारेका थिए । लिग–२ अन्तर्गत १४०औँ खेलमा नेपालले युएईलाई नौ रनले हराउँदै विश्वकपको क्वालिफायरमा स्थान सुरक्षित गर्‍यो । 

त्रिकोणात्मक सिरिज
दोस्रो संस्करणको विश्वकप लिग–२ को फम्र्याट राउन्ड रोबिनअनुसार हुनेछ । प्रत्येक सहभागी राष्ट्रले एक–आपसमा प्रतिस्पर्धा गर्नेछन् । होन्ड एन्ड अवे फम्र्याटमा प्रतिस्पर्धा हुँदा विश्वकप लिग–२ मा समग्रमा एक सय ६८ खेल हुनेछन् । क्यानले लिग–२ को घरेलु मैदानमा पहिलो सिरिजका लागि तयारी थाल्ने जनाएको छ । सहभागी आठ राष्ट्रले त्रिकोणात्मक सिरिजका रूपमा खेल्नेछन् । नेपालले सबै देशसँग भ्रमण गर्नेछ । अघिल्लोपटकको लिग–२ मा शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न अवसर पाएका थिए । लिग–२ को ढाँचा, ओडिआई मान्यता निरन्तरता, विश्वकप छनोटमा सोझै कति टोली पुग्ने आइसिसीले स्पष्ट पारेको छैन । आइसिसीले २०२७ को विश्वकप रोडम्याप सार्वजनिक गर्दा यी सबै खुलाउनेछ । सन् २०२७ को विश्वकपमा १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । २०२७ को विश्वकप दक्षिण अफ्रिका, नामिबिया र जिम्बाबेले आयोजना गर्नेछन् ।