Skip This
महाकाली नदीमा र्‍याफ्टिङ सञ्चालनमा सरोकारवालाको जोड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Saturday, 27 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o मङ्सिर १५ शुक्रबार १२:४४:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

महाकाली नदीमा र्‍याफ्टिङ सञ्चालनमा सरोकारवालाको जोड

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार १२:४४:oo

कञ्चनपुरस्थित महाकाली नदीमा र्‍याफ्टिङ (जलयात्रा) सञ्चालन गर्न यहाँका सरोकारवालाले जोड दिएका छन्। बिहीबार महेन्द्रनगरमा भीमदत्त नगरपालिकाले आयोजना गरेको महाकाली संवाद कार्यक्रममा सहभागीहरूले र्‍याफ्टिङ सञ्चालनलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका हुन्।

महाकाली नदी थुप्रै पर्यापर्यटकीय सम्भावना बोकेको नदी भएकाले आर्थिक समृद्धिका लागि जलयात्रा नियमित सञ्चालन गर्नुपर्ने उनीहरूको भनाइ छ। उनीहरूले यसअघि पनि भीमदत्त नगरपालिकाले खल्लामछेट्टी क्षेत्रमा साहसिक जलयात्राको सफल परीक्षण गरिसकेको हुनाले अब विलम्ब नगरेर नियमित सञ्चालन गर्नुपर्ने बताए।

पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले महाकाली नदी पर्यटनका लागि थुप्रै सम्भावना बोकेको नदी भएकाले र्‍याफ्टिङ व्यवसाय नियमित सञ्चालन गर्नुपर्ने उल्लेख गरे। व्यवसायीलाई आकर्षिक गर्ने गरी जलयात्राका लागि निर्माण भएका विद्यमान व्यवस्थालाई परिमार्जन गर्नुपर्ने उनको भनाइ थियो। 

यसैगरी, होटेल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीश भट्टले महाकालीमा सञ्चालन गर्ने र्‍याफ्टिङ आर्थिक विषय केन्द्रीत हुनुपर्नेमा जोड दिए। उनले र्‍याफ्टिङ व्यवसायमुखी बनाउन सरकारी सहयोग आवश्यक रहेको बताए।

रिभर गाइड कृष्ण भाटले आफूले केही वर्षअघि गाइड तालिम लिए पनि र्‍याफ्टिङ सञ्चालन नहुँदा सिकेको सीपसमेत बिर्सिन लागेको बताए। उनले पुनः र्‍याफ्टिङ नियमित सञ्चालन हुनुपर्ने बताए। र्‍याफ्टिङ गर्दा जोखिम निम्तिने भएकाले उक्त जोखिमलाई समेत मध्यनजर गर्दै अघि बढ्नुपर्नेमा उनको जोड थियो।

निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मीले र्‍याफ्टिङ समृद्धिसँग जोडिएको विषय भएकाले नीति परिवर्तन गरेरै भएपनि सञ्चालन गर्नुपर्ने बताए। त्यसका लागि तीनै सरकार अग्रसर हुनुपर्ने उनको भनाइ थियो। भीमदत्त नगरपालिका– १३ का वडाध्यक्ष रामबहादुर बोहाेराले भीमदत्त नगरपालिका क्षेत्रमै पर्ने महाकाली नदीमा प्रशस्तै सम्भावना बोकेको बताए। अध्यक्ष बोहाेराले विगतमा कर्मचारी भ्रष्टाचारमा मुछिँदा र्‍याफ्टिङसहितका योजनाले गति लिन नसकेको बताए।

अक्सफार्मका रिभर म्यानेजर राजन सुवेदीले नेपाल–भारत दुवै देशका मन्त्रालयस्तरमा संवाद गरेरै भए पनि कानुनी वैधताका साथ सञ्चालन गर्नुपर्नेमा जोड दिए। भीमदत्त नगरका कानुन अधिकृत वीरेन्द्रबहादुर सिंहले महाकाली नदीमा र्‍याफ्टिङ सञ्चालन एवं जलयात्रा ०६३ संशोधन गर्नुपर्ने सुझाव दिए।

रुडुकका राष्ट्रिय अध्यक्ष डा. कृष्णकुमार श्रेष्ठले महाकाली नदीमा र्‍याफ्टिङ सञ्चालन गर्न दुवै देशका उच्च तहमा समन्वय गरेर नियमावली संशोधन गर्नुपर्ने धारणा राखे। कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले ऐन–कानुनअनुरूप मात्रै र्‍याफ्टिङ सञ्चालन हुन सक्ने बताए ।

यसैगरी, भीमदत्त नगरपालिका प्रमुख पदम बोगटीले महाकाली नदी साझा भएकाले र्‍याफ्टिङ सञ्चालनका लागि दुवै देशबीच सहकार्य गरेर अघि बढ्ने बताए। नगर पर्यटन विकास समितिका सदस्यसचिव मनोजप्रसाद भट्टले कार्यक्रम सञ्चालन गर्दै महाकाली नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सबै सरोकारवाला अग्रसर हुनुपर्ने प्रस्ट पारे।