१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Sunday, 11 May, 2025
२o८o मङ्सिर १४ बिहीबार १८:५४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बौद्ध शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार १८:५४:oo

लुम्बिनी बौद्ध विश्वविद्यालयले स्थापनाको १९औँ वार्षिकोत्सव मनाएको छ। बिहीबार केन्द्रीय कार्यालय लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको हो।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बौद्ध शिक्षाको महत्त्व  नेपालमा मात्रै नभएर विश्वभर भएको उल्लेख गरे। बुद्ध धर्म आस्था मात्रै नभएर दर्शन र सिद्धान्तसमेत भएको उनको भनाइ छ। ‘बुद्ध शिक्षा मार्गदर्शक हो, यसको अनुशरण र परिपालना सबैले गर्नुपर्छ,’ उनले भने।

बौद्धमार्गको विषयमा सबैले ध्यान दिन जरुरी रहेको भन्दै उनले बौद्ध शिक्षाको माध्यमबाट देशमा पर्यटकीय क्षेत्रको समेत विकास गर्न सकिने दाबी गरे।

अवको शिक्षा दर्शनसँगै प्रतिफलमा आधारित रहेको बताउँदै उनले प्राविधिक ज्ञान, सीप र धारणाको विकास गर्नुपर्नेसमेत बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले विश्वविद्यालयको शैक्षिक विकासमा प्रदेश सरकारले काम गरिरहेको बताए। विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नका लागि उच्च शिक्षामा गुणस्तर बृद्धि आवश्यक रहेको औँल्याए।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा विकास गरी विदेशी विद्यार्थीलाई आकर्षित गर्ने गरी योजना अघि बढाइएको सुनाए। बज्राचार्यले कपिलवस्तुमा त्रिपिटक पार्क बनाउने योजना अघि बढाइएको बताए।

यसैगरी, विश्वविद्यालयका रजिस्ट्रार डा. तिलक आचार्यले सातै प्रदेशमा अनुसन्धान केन्द्र निर्माण गरी विश्वविद्यालयलाई अनुसन्धानमै केन्द्रित बनाउने योजनाअनुरूप काम भइरहेको बताए। सानो संरचनाबाट विश्वविद्यालय देखिने चरणमा आइपुगेको भन्दै उनले बौद्ध शिक्षा अध्ययनका लागि अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गरिने बताए।

सो अवसरमा विश्वविद्यालयले कर्मचारीहरू सुरेशराज आचार्य, विजयसिंह क्षेत्री, इमरान धुनिया र कामेश्वर यादवलाई सम्मान गरेको छ। कार्यक्रममा सेमिनार पेपर सम्मिलित पुस्तक विमोचनसमेत गरिएको छ।

वार्षिकोत्सवकै अवसरमा विश्वविद्यालयले बिहीबार बिहान स्वास्थ्य शिविर आयोजना गरेको थियो। शिविरमा करिब तीन सयजनाले सेवा लिएका छन्।