Skip This
नेपाल सुपर लिग : पोखरा र ललितपुरले अंक बाँडे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Saturday, 27 July, 2024
पोखरा थन्डर्सविरुद्ध ललितपुर सिटीका सञ्जित राई (सेतो) बल अगाडि लैजाँदै । तस्बिर : दिपेन्द्र ढुंगा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर १४ बिहीबार o८:३९:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिग : पोखरा र ललितपुरले अंक बाँडे

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार o८:३९:oo

फिनिसिङमा चुक्दा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले नेपाल सुपर लिगमा अंक बाँडेका छन् । दोस्रो नेपाल सुपर लिगको सातौँ खेलमा बुधबार दुवै टोली गोल गर्न सकेनन् । बराबरीपछि ललितपुर ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । ‘क्लिन सिट’ जारी राखेको पोखरा समान ४ अंकसहित तेस्रो स्थानमा छ । एक खेल कम खेलको साबिक उपविजेता धनगढी ३ अंकका साथ चौथो स्थानमा रह्यो । साबिक विजेता काठमाडौंले पनि ४ अंक नै बटुलेको छ । गोलअन्तरमा काठमाडौं दोस्रो स्थानमा झरेको हो । 

ललितपुरका सहायक प्रशिक्षक रवीन्द्र सिलाकारले अंक नगुमाउने रणनीति सफल भएको बताए । ‘जसरी हुन्छ अंक नगुमाउने लक्ष्यसहित आएका थियौँ, तर खेलाडीको फिजिकल समस्याका कारण सोचेजस्तो भएन,’ मुख्य प्रशिक्षक इयान आन्द्रे गिलालको अनुपस्थितिमा सिलाकारले भने । खेल अवधिमा ललितपुरको बेन्च निकै आक्रामक देखिएको थियो । ललितपुरका अफिसियल रेफ्रीको निर्णयमा आपत्ति जनाउँदै पटक–पटक टच लाइनसम्म पुगेका थिए । सिलाकारले रेफ्रीका कारण खेलमा आफ्नो बेन्च आक्रामक भएको आरोप लगाएका छन् । 

‘रेफ्रीको निर्णयमा धेरै नै आपत्ति रह्यो, पहिलो हाफमा अफसाइड दिएनन्, दोस्रो हाफमा त्यही बरम्बार दोहोरियो,’ उनले भने । पोखराका प्रशिक्षक नवीन न्यौपाने आशाअनुसारको प्रदर्शन भए पनि पनि क्लिन सिट राख्न सकेकोमा खुसी नै देखिए । ‘खेल प्रतिस्पर्धात्मक रह्यो, तर आशा गरेअनुसार खेल भएन,’ न्यौपानेले भने, ‘अट्याकिङ थर्डमा धेरै चुक्यौँ, खेलाडीले राम्रो खेल देखाए । क्लिन सिट राख्न सफल भयौँ, खुसी छु ।’

यसअघि पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई २–० र पोखराले एफसी चितवनलाई १–० ले हराएको हो । अब, ललितपुरले शनिबार साबिक उपविजेता धनगढी एफसीको सामना गर्नेछ । यसै दिन पोखराले झापा एफसीसँग खेल्नेछ । 

 फिनिसिङमा कमजोर
दुई टोलीले मैदानमा १० विदेशी खेलाडी उतारेका थिए । तर, उनीहरूको योजना सफल भएन । पहिलो हाफ पोखराले आफ्नो नियन्त्रणमा राखेको थियो । यसविपरीत मध्यान्तरपछि ललितपुर हाबी भयो । काउन्टर अट्याकमा पोखराले ललितपुरमाथि दबाब बनाइरह्यो । पहिलो हाफमा डिफेन्डर फ्रा्यांक्लिन कुइटेको थ्रो बलमा स्ट्राइकर मोसेस ग्याम्बाले गरेको प्रहार दोस्रो बारमा लागेर फर्कियो । पहिलो हाफको अन्त्यतिर ललितपुरले एक निकै राम्रो अवसर गुमायो ।

भारतीय खेलाडी निखिल कदमको क्रसमा अनमार्क रहेका फ्रान्सका पापा इबो केबेले हेडिङ भेटाउन सकेनन् । पहिलो हाफमै पोखराका गोलरक्षक प्रिसोले सुन्दर प्रहार बचाउ गर्दा ललितपुर अग्रता लिनबाट वञ्चित भयो । गोलरक्षक प्रिसोले मार्की तथा कप्तान अनन्त तामाङको उत्कृष्ट हेडिङ रोकेका थिए । 

 एनएसएलको समय बढाउन आग्रह
पोखराका मुख्य प्रशिक्षक न्यौपानले एनएसएलको समय बढाउन अनुरोध गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका प्रमुखसमेत रहेका न्यौपानेले सहिद स्मारक ‘ए’ डिभिजन लिगसहित एनएसएलको समय बढाएर घरेलु फुटबलको तालिका व्यस्त बनाउने बताएका हुन् । ‘एनएसएलको समय एक महिना मात्रै होइन, तीन महिनाको हुनुपर्छ,’ राष्ट्रिय टोलीका पूर्वखेलाडी न्यौपानेले भने, ‘सहिद स्मारक ए डिभिजन लिग चार महिनाको गर्नुपर्छ । खेलाडी सात महिना दुई प्रतियोगितामा व्यस्त रहन्छन् । बाँकी समय विश्राम र मोफसलमा बिताउनेछन्,’ उनले भने, ‘यस्तो अवस्थामा खेलाडी पलायनमा केही कमी हुन सक्छ ।’ 

 खेल सोचेजस्तो भएन 
रवीन्द्र सिलाकार स. प्रशिक्षक, ललितपुर 

अंक नगुमाउने योजनाका साथ आएका थियौँ । खेलमा खेलाडीको फिजिकलमा समस्या देखियो । बेन्चमा धेरै समस्या भयो । रेफ्रीले अफसाइड नहुँदा पनि दिने र पहिलो हाफमा असफाइड हुँदा नि दिएनन् । त्यसैले हामीहरूबाट अपिल धेरै भएको थियो । विदेशी खेलाडी चल्न नसक्दा पोखराले राम्रो खेल्यो । 

 ३ अंकको योजना थियो
नवीन न्यौपाने प्रशिक्षक, पोखरा

खेल प्रतिस्पर्धात्मक भयो । ललितपुर बलियो टोली हो, तर हामीले राम्रो खेल्यौँ । आशाअनुसार ३ अंक आएन । पहिलो हाफ राम्रो खेलियो, तर दोस्रो हाफमा त्यति राम्रो भएन । मध्यान्तरपछि ललितपुरले राम्रो गर्‍यो । आयुषले आशाअनुसार खेलेका थिए । अहिले दुई दिन विश्राम छ । खेलाडीको ऊर्जा कायम राख्नुपर्छ । प्लेअफ पुगेपछि मात्रै नयाँ योजना तय गर्छाैँ ।