१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १८:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्जिनियर कुटपिट प्रकरण : इन्जिनियरविरुद्ध अख्तियारमा ठेकेदार

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १८:१८:oo

कञ्चनपुरको लालझाडी गाउँपालिकाका इन्जिनियर रामप्रसाद अवस्थीमाथि कुटपिट गर्ने निर्माण व्यवसायी अख्तियार पुगेका छन्।

इन्जिनियर अवस्थीले आफूसहित अन्य निर्माण व्यवसायी र उपभोक्तासँग कमिसन मागेको कन्दकला कन्स्ट्रक्सन एन्ड प्रालिका सञ्चालक भीमसेन राना अख्तियार गएका हुन्। रानाले बुधबार इन्जिनियर अवस्थीविरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी दिएका हुन्।

सोमबार ठेकेदार रानाको समूहले योजनामा कमिसन मागेको भन्दै अवस्थीलाई कुटपिट गरेका थिए। अवस्थीले मंगलबार रानाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएपछि ठेकेदार अख्तियार गएका हुन्।

रानासहितका केही स्थानीयले बुधबार गाउँपालिका कार्यालयमा इन्जिनियर अवस्थीविरुद्ध नाराबाजीसमेत गरेका थिए। ठेकेदार रानाले अख्तियारमा दिएको उजुरीमा इन्जिनियरले पालिकामा विभिन्न योजनाबाट कमिसन खाएर गुणस्तरहीन योजना पास गरेको आरोप लगाएका छन्।

खर्रा नालामा २ लाख कमिसन खाएको, कमिसनकै कारण निर्माणाधीन १० शय्याको अस्पताल अलपत्र पारेको, आव ०७९-८० मा इन्जिनियरले निकटलाई १५-१६ योजना कोटेसनमा दिएर गुणस्तरहीन बनाएको, माटो हाल्नुपर्ने योजनामा बालुवा हालेर कमिसन लिएको, भानु मावि भवनमा सञ्चालित कापी उद्योगमा कमिसन लिएर पुरानो मेसिन स्वीकृत गरेकोजस्ता दर्जनौँ आरोप लगाइएको छ। आफ्नो ठेक्कामा समेत २ लाख मागेको रानाको आरोप छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी वसन्तबहादुर शाहीले आयोगको क्षेत्राधिकारभित्र परेका उजुरीमाथि छानबिन हुने बताए।

इन्जिनियर रामप्रसाद अवस्थीले भने ठेकेदार भीमसेन रानाको समूहले आफूमाथि कुटपिट गरेको र सोही समूहले आफूविरुद्धमा अनेकन षडयन्त्र गरिरहेको प्रतिक्रिया दिएका छन्। कुनै पनि निर्माण व्यवसायी र उपभोक्ताबाट घुस नलिएको इन्जिनियर अवस्थीको दाबी छ।