१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
अनिल यादव काठमाडाैं
२०८० मङ्सिर ११ सोमबार ०६:२९:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मधेश झरे रवि, पहाड उक्लिए सिके

०७९ को निर्वाचनबाट चौथो ठूलो दलका रूपमा उदाएको रास्वपा प्रतिनिधिसभामा ३२ सिट रहेको मधेशमा सांगठनिक पकड बढाउने तयारीमा, पहिलो चुनावमै मधेशमा मन जितेको जनमत पहाडमा पनि संगठन विस्तार गर्ने प्रयासमा

Read Time : > 4 मिनेट
अनिल यादव, काठमाडाैं
२०८० मङ्सिर ११ सोमबार ०६:२९:००

संगठन विस्तारको अभियान लिएर राष्ट्रिय स्वतन्त्र पार्टी मधेश झरेको छ । प्रतिनिधिसभामा ३२ सिट रहेको मधेशका आठ जिल्लाबाट प्राप्त हुने शक्ति राष्ट्रिय दलका लागि महत्वपूर्ण हुन्छ । यो रणनीतिक महत्वलाई ध्यान दिँदै रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरू पार्टीको कमजोर प्रभाव रहेको क्षेत्र मधेश पसेका हुन् ।

०७९ को निर्वाचनबाट देशमा नयाँ राजनीतिक शक्तिका रूपमा उदाए पनि रास्वपाले मधेशमा एक सिट पनि जित्न सकेको थिएन । उपनिर्वाचनमा चितवन र तनहुँमा जित निकाले पनि मधेशको बारामा रास्वपा उम्मेदवार पराजित भएका थिए । बारा– २ का रास्वपा उम्मेदवार पूर्वडिआइजी रमेश खरेलको जमानत जफत भएको थियो । 

बारा– २ को उपनिर्वाचन रास्वपाका लागि अनपेक्षित थियो । त्यसपछि मधेशमा आफ्नो प्रभाव कमजोर महसुस गरेर रास्वपाले संगठन विस्तारको विशेष रणनीति अपनाएको हो, जुन अहिले कार्यान्वयनको चरणमा छ । रास्वपाले सोमबारदेखि पार्टी स्थापनायताकै लामो र महत्वपूर्ण बैठक मधेशमा गर्दै छ । बैठक सुरु हुन तीन दिनअघि नै सभापति लामिछानेसहितका सांसद तथा केन्द्रीय तहका नेता मधेश झरिसकेका छन् । ८–१० मंसिरसम्म रास्वपाले मधेशका आठवटै जिल्लामा जनसभाको आयोजना गरेको छ, जसमा सभापति लामिछाने स्वयंले सम्बोधन गरेका छन् । 

तीन दिनसम्म चल्ने केन्द्रीय तथा संसदीय दलको संयुक्त बैठकमा प्रदेश सभापति र विभिन्न विभागका संयोजकसहित करिब सयजनाको उपस्थिति रहने महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बताए । ढकालले ०८४ मा पूर्ण बहुमत ल्याउन मधेशमा बलियो संगठन अनिवार्य हुने पार्टी बुझाइ रहेको बताए । 

‘तुलनात्मक रूपमा मधेशमा हाम्रो शक्ति कमजोर देखियो । मधेशबाट राम्रो भोट आएन भने हाम्रो मिसन ०८४ अभियान सफल हुँदैन । त्यसैले, त्यहाँ हाम्रो प्रभाव र संगठन बलियो बनाउन मधेशकेन्द्रित भएका हौँ । त्यही कारण पार्टी जीवनकै महत्वपूर्ण बैठक हामीले मधेशमा गर्दै छौँ,’ महामन्त्री ढकालले नयाँ पत्रिकासँग भने । 

बैठकबाट रास्वपाले महत्वपूर्ण सन्देश प्रवाह गर्ने र त्यो मधेशबाटै हुँदा त्यसले अर्थ राख्ने महामन्त्री ढकालको भनाइ छ । ‘बैठकअघि हामीले मधेश प्रदेशका आठवटै जिल्लामा सभापतिको उपस्थितिमा जनसभा ग¥यौँ,’ ढकालले भने, ‘त्यहाँ मधेशका जनताको उत्साहजनक सहभागिता पाइयो । यसले हामीमा झन् ऊर्जा थपेको छ ।’

रास्वपा मधेशकेन्द्रित दलप्रति घट्दै गएको मतदाताको मोहलाई आफूतिर तान्ने दाउमा छ । यहीकारण रास्वपा सभापति लामिछानेले मधेशमै पुगेर मधेशकेन्द्रित दलमाथि धेरै आक्रमण गरेका छन् । शुक्रबारदेखि आइतबारसम्म रास्वपा सभापति लामिछाने मधेशका जुनजुन ठाउँमा पुगे, हरेक ठाउँमा उनले ‘मधेशका नाममा लुट्नेहरू’ भन्दै मधेशी दलमाथि प्रहार गरेका छन् । 

०८४ को चुनावमा आफ्ना उम्मेदवारलाई लिखित कागज गराएरै भोट हाल्न उनले आग्रह गरे । अरूको आलोचनामा रमाएका उनले आफू इमानसहित मधेश झरेको अभिव्यक्ति दिएका थिए । ‘जग्गाजमिन बिक्री भयो, फेरि आउन सक्छ, घर बिक्री भयो, फेरि आउन सक्छ, इमान बिक्री भयो भने कहिल्यै पनि फिर्ता आउन सक्दैन,’ शनिबार रौतहटस्थित गौरमा भएको जनसभामा सम्बोधन गर्दै उनले भने, ‘हामीसँग केही छ भने त्यही एउटा इमान छ । त्यही एउटा इमान बोकेर म मधेश झरेको छु । मैले दिनुपर्ने चिज केही पनि छैन । एउटा इमान बोकेर आएको छु, इमानदार मान्छेहरूको साथ खोजेको छु । जब इमानदार मानिस साथ हुन्छन्, त्यतिखेर बस्तीमा उज्यालो आउँछ ।’

यति मात्र होइन, लामिछानेले आगामी निर्वाचनमा मधेशको भाग्य कसले लुट्यो भन्ने फैसला हुने सुनाए । ‘मधेशको मान्छे मै हुँ, मधेशको मसिहा मै हुँ भन्ने मान्छेहरूले के गरे, तिनको हिसाब अहिले निकाल्दिनँ । जब क्षमतावान मान्छे देशको अख्तियारजस्तो निकायमा पुग्नेछ, त्यतिखेर मधेशका नाममा लुट्ने लुटेराहरूको हिसाब जस्ताको त्यस्तै बाहिर आउँछ । मधेशको भाग्य कसले लुटेर खायो, त्यसको हिसाब त मधेशले माग्ने नै छ,’ लामिछानेले भने । 

रौतहटको सभामा लामिछानेसहित उपसभापति डिपी 
अर्याल र सांसद सोबिता गौतमलगायतले सम्बोधन गरेका थिए । मधेशी क्लस्टरबाट रास्वपा समानुपातिक सांसद मनीष झा मधेशमा आयोजित सबै जनसभामा लामिछानेसहित पुगेका थिए । केन्द्रबाट पुगेका बाँकी सांसद लामिछानेसँगै पालैपालो पुगेका थिए । रास्वपाले शुक्रबार बाराको सिम्रौनगढ र निजगढ, पर्साको वीरगन्ज, आइतबार सिराहाको गोलबजार र सप्तरीको सिखडालगायत मधेश प्रदेशका विभिन्न स्थानमा जनसभा गरेको थियो । 

वीरगन्जको सभामा उनले मधेशका नेतालाई कटाक्ष गर्दै मधेशका मतदातालाई ०८४ को निर्वाचनमा रास्वपाले जिते देशकै मुहार फेर्ने भन्दै लोभ्याए । उनले मधेशका जनता साहुको ऋण तिर्न नसकेर छटपटाइरहेका वेला मधेशका नेता हाच्छ्युँ आउँदा पनि महँगो अस्पतालमा उपचार गराउने गरेको आरोप लगाए । ‘मधेशको मुहार फेर्छु भन्ने मधेशका नेताले आफ्नो र छोराछोरीको मुहार फेरे, तर जनताको मुहार फेर्न सकेनन्,’ वीरगन्जको सभामा लामिछानेले भने, ‘रास्वपाले एकपटक बहुमतको सरकार बनाउन पाए नेताहरूले संसारको जुनसुकै कुनामा लुकाएको कालोधनलाई बाहिर ल्याएरै छाड्छौँ ।’

पार्टी स्थापनायताकै लामो र महत्वपूर्ण बैठक मधेशमा
रास्वपाले आज (सोमबार)देखि पार्टी स्थापनायताकै लामो र महत्वपूर्ण बैठक मधेशमा गर्दै छ । बैठक सुरु हुन तीन दिनअघि नै रास्वपाका सभापति लामिछानेसहित सांसद तथा केन्द्रीय तहका नेता मधेश झरिसकेका छन् । बैठकले पार्टीको राजनीतिक दस्ताबेजलाई पनि पूर्ण रूप दिने तयारी गरेको छ । पूर्ण रूपमा पारित गर्न नसके पनि पार्टीबारे वैचारिक र नीतिगत रूपमा अस्पष्टता भएका  विषयलाई प्रस्ट पार्ने तयारी रहेको महामन्त्री ढकालले बताए । 

बैठकमा पहिलो दिन प्रदेशका सभापतिहरूको राजनीतिक र संगठनात्मक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र सबै सांसदहरूले कार्यप्रगति र भावी कार्ययोजनाबारे प्रस्तुति दिने कार्यक्रम रहेको उनले बताए । दोस्रो दिन भने संसद्का गतिविधि र संसदीय दलको कार्यसम्बन्धी प्रमुख सचेतकको प्रतिवेदन, सभापति लामिछानेको राजनीतिक प्रतिवेदन,  महाधिवेशनको विधि र प्रक्रियासम्बन्धी छलफल गर्ने कार्यतालिका छ । 

तेस्रो दिन पनि महाधिवेशनको विधि र प्रक्रियाबारे, नीति–विचारसहित अन्य विविध समसामयिक विषयमा छलफल गर्ने एजेन्डा रहेको ढकालले बताए । ‘बैठकबाट पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुनेछन्,’ ढकालले भने ।

इमान बोकेर मधेश झरेको छु
रवि लामिछाने, सभापति, रास्वपा

जग्गाजमिन बिक्री भयो, फेरि आउन सक्छ, घर बिक्री भयो, फेरि आउन सक्छ, इमान बिक्री भयो भने कहिल्यै पनि फिर्ता आउन सक्दैन । हामीसँग केही छ भने त्यही एउटा इमान छ । त्यही एउटा इमान बोकेर म मधेश झरेको छु । मैले दिनुपर्ने चिज केही पनि छैन । एउटा इमान बोकेर आएको छु, इमानदार मान्छेहरूको साथ खोजेको छु । जब इमानदार मानिस साथ हुन्छन्, त्यतिखेर बस्तीमा उज्यालो आउँछ । 

 पहाडका मतदातासँग नजिकिँदै राउत
गत निर्वाचनबाट मधेशमा उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीले पहाडमा पनि आफ्नो प्रभाव बढाउन प्रयास थालेको छ । रास्वपा मधेश झरेका वेला राउत राहत सामग्रीसहित भूकम्प प्रभावित जाजरकोट उक्लिएका छन् । यद्यपि, उनको संगठन विस्तारको घोषित उद्देश्य भने छैन ।

जनमत पार्टीका सचिव बिपी शाहले पहाडमा संगठन विस्तारका लागि सुरुदेखि नै काम भइरहेको बताए । ‘हामीले सुदूरपश्चिममा प्रदेश कमिटी गठन गरिसकेका छौँ,’ उनले भने, ‘कर्णालीमा पनि प्रदेश कमिटी बनाउने तयारीमा छौँ । कोशी प्रदेशकोे इलाम, पाँचथर, ताप्लेजुङमा पनि कमिटी गठनको तयारी छ । झापा, मोरङ, सुनसरीमा त हामी पहिलेदेखि नै छौँ । यसबाहेक अन्य क्षेत्रमा खासै काम गर्न सकेका छैनौँ । तर, संगठन विस्तारका लागि इच्छुक र सक्षमलाई खुला रूपमा आह्वान गरिरहेका छौँ ।’

अरू मधेश झर्दा हामी पहाड त उक्लिने नै हो
 सिके राउत, अध्यक्ष, जनमत

संसदीय समितिको सदस्य पनि भएकाले मानवीय हिसाबले भूकम्प प्रभावित क्षेत्रमा आएको हुँ । ०७२ को भूकम्पका वेला पनि राहत पठाएका थियौँ । देशमा कतै समस्या भयो भने हामी चिन्तित हुन्छौँ । यहाँ(जाजरकोट)का जनताबाट तपाईंलाई टिभीमा देखेको थिएँ, इन्टरभ्युमा देखेको थिएँ भन्ने सकारात्मक प्रतिक्रिया पाइरहेको छु । पहाडमा संगठन धेरै विस्तार गर्न पाएका छैनौँ, तर गर्ने नै छौँ । अरू मधेश झर्दा हामी पहाड त उक्लिने नै हो ।