उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहजीकरण गरी सरकार अघि बढ्न तयार रहेको बताएका छन् । नवौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रिजालले सबै मिलेर मुलुकको समृद्धिका लागि काम गर्नुको विकल्प नरहेको बताए । ‘प्रधानमन्त्रीज्यू नै आर्थिक सबलीकरणका लागि प्रयासरत हुनुहुन्छ,’ उनले भने, ‘त्यसैले हामी सबै मिलेर अघि बढौँ ।’
मन्त्री रिजालले निर्यात व्यवसाय प्रवद्र्धनका लागि सरकारले बजार खोज्ने काम गरिदिने भन्दै उत्पादन वृद्धि गर्न आग्रह गरेका थिए । बजेट निर्माणका वेला मात्रै उद्योगी–व्यवसायीले बढी ताकेता गर्ने भन्दै अन्य वेला पनि सरकारसँग आफ्ना कुराहरू निर्धक्क राखेर आर्थिक गतिविधि चलायमान बनाउन सहयोग गर्नुपर्ने उनले बताए । उनले स्वदेशी उद्योगीको संरक्षण गर्दै विदेशी लगानीकर्तालाई स्वागत गर्ने सरकारको नीति रहेको पनि बताएका थिए ।
कार्यक्रममा निजी क्षेत्रको तर्फबाट धारणा राख्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१.५५ प्रतिशत रहेको भन्दै औद्योगिक विकास र आर्थिक पुनरुत्थानको विषय निजी क्षेत्रसँग प्रत्यक्ष जोडिएको बताए । उनले अहिलेको अर्थतन्त्र संवेदनशील मोडमा चलिरहेकाले स्वदेशी उत्पादनको विकास र प्रवद्र्धनमा सबै पक्ष जुट्नुपर्ने बताएका थिए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले औद्योगिक नीति, ०६७ धेरै पुरानो भएकाले संशोधन गरी वर्तमान समयअनुकूल बनाउन सुझाव दिएका थिए । उनले स्वदेशी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न सरकारीस्तरबाटै ठोस पहलको आवश्यकता रहेका पनि औँल्याए । ‘हाम्रो नीति र व्यवहार उद्योगमैत्री हुनु आवश्यक छ । कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान बढाउनुपर्छ,’ अध्यक्ष अग्रवालले भने ।