१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
अनिल यादव काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार o७:५५:oo
Read Time : > 7 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रसाईंको अभियानमा आउने अधिकांश लघुवित्तपीडित, भन्छन्– हाम्रो समस्या लघुवित्त हो, राजतन्त्र नेताहरूको मुद्दा होला

Read Time : > 7 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o७:५५:oo

ऋणीहरू बटुलेर उनीहरूको भावनामाथि राजनीति गर्दै छन् दुर्गा प्रसाईं

राजनीतिप्रति कुनै सरोकार नभएका बारास्थित तेगछियाका ७० वर्षीया रामबहादुर केवत तीन दिनदेखि गौशालास्थित विशाल चोकको घरेलु गेस्टहाउसमा बसिरहेका छन् । व्यवसायी दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शनका लागि काठमाडौं आएका उनी यो अभियानबारे गहिरो जानकार छैनन् । 

टाउकोमा सेतो गम्छा, अनुहारमा सेतै फुलेको दाह्रीसहित आएका उनमा प्रसाईंको राजसंस्था पुनर्स्थापनाको मुद्दाबारे नै कुनै चेतना र सरोकार छैन । मात्र एउटै चिन्ता र चासो छ, ‘लघुवित्तको आतंकबाट छुटकारा पाउनुपर्‍यो, हाम्रो ऋण मिनाहा हुनुपर्‍यो ।’

रामबहादुर केवत
रामबहादुर केवत

‘हामी त दुःख पाएर आएको,’ शुक्रबार दिउँसो गेस्टहाउस परिसरमा भेटिएका उनी भन्दै थिए, ‘लघुवित्तबाटै साह्रै पीडित भइयो । दुर्गा (प्रसाईं) सरले ऋण मिनाहा गराइदिन्छन् भनेर गाउँका करिब १८ सय जना आएका छौँ ।’ 

ग्रामीण र डिप्रोक्स गरेर दुई लघुवित्त संस्थाबाट आठ लाख रुपैयाँ ऋण लिएका उनी घर लिलामी गर्ने पत्र पाएपछि तनावमा थिए । चार महिनायता किस्ता तिर्न नसकेपछि घरमा बस्न नसक्ने स्थिति भएको उनको गुनासो थियो । ‘आम्दानी केही छैन, भारत भाग्नुपर्ने अवस्था भइसक्यो,’ उनले भने, ‘दुर्गा प्रसाईंको आवाज सुनेर साथ दिन आएका हौँ । गोलीले मार्दिए हुन्छ, तर अब हाम्रो पीडा समाधान नभएसम्म फर्किंदैनौँ ।’ 

‘दुर्गा प्रसाईंले त राजा चाहियो भनिरहेका छन् नि ?’ प्रसाईंले उठाएको राजसंस्था पुनर्स्थापना मुद्दाबारे जानकारी राख्यौँ । केवत अकमकिए । छेउमै रहेका अर्का युवाले खुसुक्क सम्झाए, ‘चाहिन्छ भन्नु न ।’ अनि केवतले थपे, ‘अँ, आए पनि ठिकै छ ।’ त्यसपछि फेरि लघुवित्तकै मुद्दामा फर्किए उनी । ‘गिरहतको घरमा ज्यालादारी गरेर खाने मान्छे । अहिले त काम पनि पाउँदैन हजुर, कहाँबाट तिर्ने लघुवित्तको पैसा ?’ उनले भने ।

केवतसँगै गौशालाको घरेलु र सेभेन स्टारमा गेस्टहाउसमा बाराबाट आएका करिब दुई हजार मानिस थिए । अधिकांशको मुद्दा उही थियो, ‘लघुवित्तको आतंक ।’ अधिकांशले लघुवित्तले घरजमिन नै लिलामी गर्ने पत्र पठाएपछि प्रसाईंको अभियानमा आएको बताइरहेका थिए । धेरैजसो नेपाली भाषा बोल्न जान्दैन थिए, आफ्नै मातृभाषा मैथिली र भोजपुरीमा भए पनि लघुवित्तले दिएको पीडा सुनाइरहेका थिए । तीनकुनेमा गर्ने भनिएको प्रसाईंको शक्ति प्रदर्शनमा प्रशासनले रोक लगाएपछि गेस्टहाउसभित्रै भए पनि उनीहरू आफ्नो नारा लगाइरहेका थिए । 

बारा, करैमाया– ८ की मिरादेवी चौधरीले लघुवित्तले आफ्नो जमिनको लालपुर्जा र नागरिकतासम्म कब्जा गरिसकेपछि काठमाडौं आउन बाध्य भएको बताइन् । ‘यति पीडित भयौँ कि घर छोडेर भाग्नुपर्ने स्थिति भयो,’ उनले आफ्नो पीडा सुनाइन्, ‘हाम्रो खसी, बाख्रा, भैँसी सबै लघुवित्तले बेचिदियो । लघुवित्तका मान्छे अश्लील गाली गर्दै आउँछन्, नाक र कानको सुन बेचेर भए पनि पैसा तिर्नू भन्छन् । कहिले व्यापारी लिएर आउँछन्, हाम्रो धान बेचेर लान्छन् । स्वरोजगार संस्थाबाट दुई वर्षअघि लिएको एक लाख ऋण बाँकी छ । त्यति तिर्न नसक्दा मेरो जमिनको लालपुर्जा र नागरिकतासम्म लगिसके ।’

मिरादेवी चौधरी

अर्को बैंकबाट ऋण निकालेर पैसा तिर्छु भन्दै उनी पुर्जा फिर्ता माग्न पनि पुगिन् । तर, उल्टै हप्काएर पठाएको उनको गुनासो थियो । ‘महिनाको सात हजारको किस्ता तिर्नुपर्ने, एउटा महिना दुई हजार तिर्न नसक्दा हेल्मेटले पिट्न खोजे,’ उनले भनिन्, ‘त्यसैले अब लडाइँ गर्न आएका हौँ । सबै पीडित दिदीबहिनी मात्रै आएका छौँ । दुःख नपाएका कोही पनि छैनन् ।’ 
उनले न्याय नपाएसम्म घर फर्कन कठिन रहेको सुनाइन् । ‘लघुवित्तका कारण चार बिघा जमिन साहुहरूले कब्जा गरेपछि गरिब भयौँ । अब चार कट्ठा जमिन बाँकी छ, त्यसलाई पनि कब्जा गर्न पुर्जा नै लगिसके । अब त न्याय नपाएसम्म गाउँ फर्कन्नौँ,’ चौधरीले भनिन् । 

बारा पीपलडाँडीकै बासमतीदेवी महताको पीडा पनि उस्तै थियो । दुई लघुवित्तबाट गरेर करिब चार लाख ऋण लिएकी उनी किस्ता बुझाउँदा–बुझाउँदै थाकेको बताइरहेकी थिइन् । ‘किस्ता बुझाउँदा–बुझाउँदै हार्‍यौँ,’ उनले भावुक हुँदै भनिन्, ‘काठमाडौंमा छोराले ग्रिल उद्योग खोल्नका लागि ऋण लिएका थियौँ । कोरोना महामारीले महिनौँ पसल बन्द भयो । ब्याज तिर्न सकिएन । त्यसपछि ब्याज बढेको–बढ्यै, जति तिरे पनि नहुने । गहना, खसी सबै बेच्यौँ । साँच्चै रुहाइसक्यो लघुवित्तले । अब दुर्गा प्रसाईंले न्याय दिन्छ भन्ने आशा छ । बरु भोकै बस्छौँ, तर ऋण मिनाहा नभएसम्म अब गाउँ जान्नौँ ।’

प्रसाईंको आन्दोलनमा सहभागी हुन काठमाडौं आएकी बारा बरियारपुरकी शान्तिदेवी ठाकुरको माग पनि ऋण मिनाहा नै थियो । दुई वर्षअघि दुई कट्ठा जग्गा धितोमा तीन लाख ऋण लिएर उनले आफ्नो श्रीमान्लाई विदेश पठाएकी थिइन् । वैदेशिक रोजगारमा गएका श्रीमान्को दुर्घटना परेर घुँँडा गयो । रित्तै स्वदेश फर्कन बाध्य भए । 

त्यसपछि लघुवित्तले चरम यातना दिएको उनको गुनासो थियो । ‘घरको बाख्रा सबै लगे,’ उनले दुःख सुनाइन्, ‘मकैको खेतमै आएर नानाथरी गाली गर्ने । पैसा नतिरेको भन्दै अफिसको ट्वाइलेटसम्म सफा गराए । खेतै बेचेर दिँदा पनि पैसा पुगेन भन्छन् । जम्मा २० हजार बाँकी थियो । त्यति तिर्न नसकेपछि ब्याजको ब्याज जोडेर अहिले तीन लाख माग्छन् । अब कहाँ जाने ? त्यसैले यहाँ आयौँ ।’

बारा गढिमाईकी साम्सा खातुनले तीन वर्षअघि दुई छोराका लागि दुई लघुवित्तबाट ऋण लिएर १२ लाखमा दुई अटो किनिन् । लगत्तै कोरोना महामारी आयो । ९–१० महिनासम्म ऋणको मासिक किस्ता तिर्न सकिनन् । त्यही लकडाउनका कारण सिर्जित परिस्थितिले अहिले प्रसाईंको अभियानमा जोडिँदै काठमाडौं आएकी छिन् उनी । ‘जति तिर्दा पनि ब्याजको ब्याज जोडेर १० लाख पुर्‍याइसके,’ उनले भनिन्, ‘अब कहाँबाट तिर्ने ? अभियानमा लागेपछि ऋण मिनाहा हुन्छ भन्ने आशा छ ।’

बाराबाट सबै लघुवित्तपीडितलाई काठमाडौंसम्म ल्याउने प्रबन्ध स्थानीय अभियन्ता बलिराम हजराले मिलाएका हुन् । बाराका ३६ सय पीडितको नेतृत्व गरेर आफू काठमाडौं आएको उनले दाबी गरे । ‘पीडितहरू गौशाला, चाबहिल र धुम्बाराहीमा बसेका छन्,’ उनले भने, ‘लघुवित्तको आतंकले मधेशमा ठूलो समस्या सिर्जना भएको छ ।’

कतिपय घर छाडेर पलायन हुने अवस्थमा पुगेको र यही वेला दुर्गा प्रसाईंले आवाज उठाएका कारण उनको अभियानमा जोडिएको बलरामको भनाइ थियो । ‘दुर्गा प्रसाईंले हाम्रो आवाज बोलिदिनुभयो । त्यसैले उहाँलाई साथ दिने भनेर आएका हौँ,’ उनले भने, ‘सरकारले ऋण मिनाहाको वाचा नगरेसम्म काठमाडौंमै बस्ने हो ।’ 

तीनकुनेमा प्रदर्शन गर्ने अनुमति नपाएपछि शुक्रबार भक्तपुर पुरानो ठिमीस्थित प्रसाईंको घरअगाडि नै उनका समर्थक प्रदर्शन गर्न पुगेका थिए । त्यही भेटिइन् तनहुँ बन्दीपुरकी २६ वर्षीया सरिता विश्वकर्मा । 

सात महिलाको टोलीसहित प्रसाईंको अभियानमा सहभागी हुन काठमाडौं आएकी उनको समस्या नै लघुवित्तकै थियो । ‘लघुवित्तको ऋणले बेस्सरी सतायो,’ तीन दिनदेखि गौशाला होटेलमा बसिरहेकी उनले भनिन्, ‘बिस्तारै तिर्छौँ भन्दा पनि भएन । मरेर भए पनि, नांगिएर भए पनि दिनु भन्न थाले ।’

तीन वर्षअघि बंगुर फार्म खोल्नलाई एनआइसी लघुवित्तबाट तीन लाख ऋण लिएकी थिइन् उनले । तर, लकडाउनका कारण फार्म डुबेपछि समस्यामा परेको बताइन् । ‘त्यसपछि श्रीमान् साउदी गएको ६ महिना भयो,’ उनले भनिन्, ‘लघुवित्त आएर श्रीमान्लाई विदेशबाट फर्काइदिन्छु भन्दै धम्की दिन्छ । लघुवित्त अहिले पैसा छैन भन्दा मृत्युदर्ता लिएर आइज भन्छ । यही वेला समाचारमा दुर्गा प्रसाईंको कुरा सुनेर न्याय पाउने आसमा काठमाडौं आएका हौँ ।’ उनको अपेक्षा पनि प्रसाईंको अभियानमा लाग्दा ऋण मिनाहा हुन्छ भन्ने थियो ।

‘बन्दीपुरबाट कसको नेतृत्वमा आउनुभएको हो ?’ नाम बिर्सिएपछि उनले छेवैमा रहेकी अर्की महिलालाई सोधिन्– ‘आफ्नै नेतृत्वमा आएको भन्नुपर्छ नि,’ अर्की महिलाले सुझाइन् । त्यसपछि हामीले सोध्यौँ, ‘यो अभियानको माग त राजतन्त्र चाहिन्छ भन्ने पनि छ नि !’ जवाफमा उनले भनिन्, ‘हामीलाई त राजतन्त्र भन्ने केही थाहा छैन । हामी सबै लघुवित्तले सतायो भनेर आएका हौँ ।’

प्रसाईंनिवासअघि भेटिएका म्याग्दी बेनी– १० का मुक्तिबहादुर पाइजा मगरको मत पनि त्यस्तै थियो । युट्युबमा प्रसाईंको अन्तर्वार्ता र भनाइ हेरेर प्रदर्शनमा सहभागी हुन काठमाडौं आएको उनले बताए । पोखराबाट एक साथीसँग आएको बताउने उनी काठमाडौं आएपछि म्याग्दीका १५–२० जना लघुवित्तपीडित भेटिएको बताए । ऋण नै तिर्नुहुन्न भन्ने पक्षमा भने उनी थिएनन् । ‘ऋण नतिर्ने होइन, तिर्ने हो,’ उनी भन्दै थिए, ‘७–८ प्रतिशतलाई १८–२० प्रतिशत ब्याज पुर्‍यायो भन्ने हाम्रो गुनासो हो । म मात्रै होइन, यस्ता पीडित धेरै छन् । मैले सहकारीहरूबाट अलिअलि चलाएको हो । एउटा जग्गा छ, त्यो पनि धितो राखेर सहकारीमा १५ लाख लिएको छु । तर, चर्को ब्याजले डुबायो ।’

प्रसाईंले उठाएको राजतन्त्रलगायत अन्य मुद्दाबारे उनको कुनै टिप्पणी थिएन । ‘राजतन्त्रचाहिँ राजनीतिक कुरा हो,’ उनले भने, ‘त्यो त नेताहरूलाई थाहा होला । हामीलाई थाहा छैन ।’ अहिले गोंगबुमा प्रसाईंको अभियानमा सहभागी हुन आफूसहित १७ जना एकसाथ बसिरहेको उनले बताए । 

गौशालामा भेटिएकी बाराकी सकिना खातुन पनि तीन वर्षअघि राजश्री लघुवित्तबाट लिएको १२ लाख ऋणका कारण तनावमा थिइन् । ‘एपेन्डिक्स भएकाले आफ्नो अप्रेसन गराउन ऋण लिएको थिएँ,’ उनले भनिन्, ‘लघुवित्तले घर नै लिलामी गर्छु भनेर पत्र पठाइसक्यो । घरबारविहीन हुने भएपछि काठमाडौंमा न्याय माग्न आएका हौँ ।’

अब ऋण मिनाहा नभएसम्म काठमाडौंमै बसेर प्रसाईंको आन्दोलनमा सहभागी हुने उनको भनाइ थियो । ‘अनि यहाँ खान–बस्न कसले दिन्छ नि ?’ प्रश्न भुइँमा खस्न नपाउँदै उनको जवाफ आयो, ‘दुर्गा दाइ (प्रसाईं) ले दिन्छ नि, अरू कसले दिनु ?’

प्रसाईंलाई तीनकुनेमा शक्ति प्रदर्शन गर्न रोक
शुक्रबार व्यवसायी दुर्गा प्रसाईंलाई शक्ति प्रदर्शनमा गृह प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नलिई संवेदनशील क्षेत्र मानिएको तीनकुनेमा आन्दोलनको कार्यक्रम तय गरेकाले रोक लगाइएको जनाएको छ । 

बिहीबार बल्खुको गतिविधि हेर्दा र पत्रकार सम्मेलनमा बोलेका अभिव्यक्ति सुन्दा प्रसाईं अभियानको आशय शान्तिपूर्णभन्दा पनि मुठभेडयुक्त देखिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले बताए । ‘एयरपोर्टनजिक त्यत्रो ठूलो भिड हुँदा समस्या भएको भनेर उड्डयन प्राधिकरणबाट पनि असहमति आयो । तीनकुने संवेदनशील ठाउँ हो भन्ने गृह प्रशासनको समीक्षा भएपछि त्यहाँ प्रदर्शन गर्न नदिएका हौँ,’ उनले भने । 

प्रशासनको रोकविपरीत प्रदर्शन गर्न खोजेको भन्दै प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट दुई सय ६६ जना व्यक्तिलाई पक्राउ गरेको थियो । प्रसाईंलाई स्थान हद लगाउँदै घरबाहिर निस्कन दिइएन । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार ६ जनाबाहेक अरूलाई राति नै रिहा गरिएको छ । ‘बाँकीलाई मुद्दा चलाउने तयारी छ,’ उनले भने । शुक्रबार भक्तपुरको पुरानो ठिमीस्थित प्रसाईंको घरमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थियो । प्रसाईंले भने आफू नजरबन्द र ‘होम अरेस्ट’मा परेको आरोप लगाएका छन् । ‘सत्य कुरा बाहिर ल्यायो, अब हामी सकिन्छौँ भनेर मलाई नजरबन्द गरियो,’ शुक्रबार घरमै पत्रकार सम्मेलन गरेर प्रसाईंले भने, ‘तर, हाम्रो विचार र नेताको असली अनुहार जनतालाई बताइसकेकाले केही फरक पर्दैन ।’

गृहप्रवक्ता भट्टराईले सुरक्षाकर्मी खटाउनेबित्तिकै नजरबन्द भन्न नमिल्ने बताए । ‘उहाँ (प्रसाईं)ले तीनकुनेमा कार्यक्रम गर्न माग्नुभएको थियो, प्रशासनले बल्खु उपलब्ध गरायो,’ प्रवक्ता भट्टराईले भने, ‘तर, उहाँ बल्खु जान तयार हुनुभएन, बरु घरै बस्छु भन्नुभयो । त्यसपछि उहाँलाई सुरक्षामा कसैले डिस्टर्ब नगरोस् भनेर सुरक्षाकर्मी खटाइएका हो । नजरबन्दमा राखेका होइनौँ, राख्नुपर्ने कारण पनि छैन । सुरक्षाकर्मी खटाउनेबित्तिकै नजरबन्द भन्न मिल्दैन ।’

चेतना नभएका मूर्खहरू राजतन्त्र फर्काउन हिँडेका छन् : ओली 
एमाले अध्यक्ष केपी ओलीले जनताले वाक्कदिक्क लागेर फालिसकेको राजतन्त्रलाई चेतना नभएका मूर्खहरूले फर्काउन हिँडेको बताएका छन् । राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिक्रियावादीले भिड्न खोजे चुनावी मैदानदेखि सडकमा समेत भिड्न एमाले तयार रहेको बताए ।

‘जनताले हेर्दाहेर्दा वाक्कदिक्क भएर कामै नलाग्ने चिज रहेछ भनेर फालेको राजतन्त्रलाई चेतना नभएका केही मूर्खहरू मरेको प्रेतका पछाडि नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर लागेका छन्,’ ओलीले भने, ‘त्यस्तो वेलामा युवा संघले हामी यहाँ छौँ भनेर रातो टोपी लगाएर मैदानमा उत्रियो, देश संकटमा परेका वेला हामी यहाँ छौँ, काँध थाप्छौँ भन्दै बोल्यो, धन्यवाद छ तपाईंहरूलाई ।’ परिवर्तनका लागि धेरै ठूलो विशाल आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै ओलीले तयारी अवस्थामा रहनसमेत युवाहरूलाई निर्देशन दिए । प्रतिक्रियावादीले भिड्न खोजे चुनावी मैदानदेखि सडकमा समेत भिड्न तयार हुने गरी अगाडि बढ्नसमेत उनले निर्देशन दिए ।

‘रुन्चे कुरा गर्नुहुँदैन, बक्सिङ खेल्ने भनेको थियो, खुट्टाले राउन्ड किक हानेर बंगरा झार्दियो भनेपछि... खुट्टाले, टाउकाले, मुक्काले, कुइनाले हान्न सक्छ, उता फर्किएजस्तो गरेर राउन्ड किक हान्न सक्छ, जे पनि गर्न सक्छ । सबै कुरामा तयार हुनुपर्छ,’ ओलीले भने, ‘प्रतिक्रियावादीले चुनावको मैदानमा भेटौँ भन्छन् भने ठीक छ चुनावकै मैदानमा भेटौँ, सडकमा भेटौँ भन्छन् भने ठीक छ सडकमै भेटौँ । ठाउँ तोकेर, दिन तोकेर युवा संघ भिड्न तयार छ, त्यस्तै स्पिरिटमा युवा संघ अगाडि बढोस् ।’ 

दुर्गा प्रसाईंलाई इंगित गर्दै ओलीले बिकाउ मालले देशको सार्वभौमसत्तामाथि सौदाबाजी गर्न खोजेको समेत बताए । ‘असन्तुष्टि र निराशा मात्रै छ भन्ने प्रभाव दिन खोजिएको छ । देश बनाउन सक्छु, म गर्न सक्छु भन्ने कोही छैन । देश बर्बादीमा मात्र गएको छ, आशा केही छैन भन्ने पार्न खोजिएको छ,’ ओलीले भने, ‘कुनै एक धतंगाले यो देश फलानो देशमा मिसाइदियो भने सस्तोमा साइकल पाइन्छ, साग पाइन्छ भन्छ । कतिपय मान्छेहरू एक छाक भातमा सिंगो भविष्य बेच्न तयार हुन्छन् । कतिपय देशको माया नगर्ने बिकाउ माल हुन्छन्, त्यस्ताका अभिव्यक्ति साइकलको मूल्यसँगको देशको सार्वभौमसत्ताको कुरा गर्छन् ।’

ad
ad