१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
चक्रबहादुर चन्द चक्रबहादुर चन्द
२o८१ बैशाख २१ शुक्रबार २३:o६:oo
Read Time : > 5 मिनेट
ad
ad
ब्लग डिजिटल संस्करण

बागमती सफाइ महाअभियानका ५५० साता, उपलब्धि र चुनौती

Read Time : > 5 मिनेट
चक्रबहादुर चन्द चक्रबहादुर चन्द
नयाँ पत्रिका चक्रबहादुर चन्द
२o८१ बैशाख २१ शुक्रबार २३:o६:oo

बागमती सफाइ महाअभियान सुरु भएको आज गौरवमय ५५० साता पुगेको छ । वि.सं. २०७० जेठ ५ गतेदेखि ‘राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने मूलनाराका साथ एकैदिन, एकै समय निरन्तर सञ्चालनमा रहेको नेपालको सबैभन्दा ठूलो र लामो स्वयंसेवी महाअभियान हो । यो महाअभियान महाभूकम्प, नाकाबन्दी, लकडाउन, दसैँतिहार, जाडो गर्मी होस् या अन्य महत्वपूर्ण चाडपर्वमा पनि निरन्तर सञ्चालनमा रहँदै आएको छ । यस अभियानमा नागरिकस्तरबाट हालसम्म करिब १५ लाख जनाभन्दा बढीको संलग्नता भइसकेको छ । 

देशका विशिष्ट व्यक्तित्वहरू राष्ट्रपतिदेखि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरूलगायत राज्यका उच्चपदस्थ पदाधिकारी, कर्मचारी तथा कलाकारदेखि नागरिकसम्म यो अभियानमा सहभागी भई योगदान दिइसक्नु भएको छ । यो अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरीको ठूलो साथ सहयोग र योगदान रहँदै आएको छ । यो अभियानमा हजारौँ संस्थाहरूले संस्थागत सहभागिता जनाइसक्नु भएको छ । 

नेपाल टेलिकमले भने सुरुवाती दिनदेखि सफाइ सामाग्रीहरू सहयोग गर्दै आएको छ । अभियानमा विभिन्न संघसंस्थाहरूले पनि सफाइ सामाग्रीहरू सहयोग गर्दै आउनुभएको छ भने यो महाअभियानमा कुनै प्रकारको आर्थिक कारोबार हुँदैन कुनै प्रकारको चन्दा सहयोग लिइँदैन । कुनै बैक खाता छैन र कुनै समिति पनि छैन । नेपाल सरकारको आधिकारिक काम गर्ने निकाय अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिले गर्ने योजना परियोजना तथा आर्थिक कारोबारसँग यो अभियानको कुनै सरोकार रहँदैन । अभियानले राज्यका सम्बन्धित निकायलाई खबरदारी गर्ने अनुगमना गर्ने र झकझकाउने कार्य गर्दछौँ । 

यो बिशुद्ध नागरिक महाअभियान हो । यही अभियानको प्रेरणा, सहयोग र सहभागितामा उपत्यकाका बागमती नदी र यसका सहायक नदीहरू क्रमशः विष्णुमती, रुद्रमती, इच्छुमती, हनुमन्ते, मनोहरा, गोदावरी, नख्खु, कोडकु तथा बागमतीको माथिल्लो भाग एवं विष्णुमतीको माथिल्लो भाग, तिलगंगा, आलोकनगर, सुन्दरीघाट, बागमती फोहोर उन्मुलन समाज, चक्रपथको पश्चिम, उत्तर र दक्षिण भागलगायत दर्जनौँ स्थानमा सफाइ अभियान संचालनमा छन् । 


लेखक

यही अभियानको प्रेरणाबाट काठमाडौं उपत्यकाबाहिर पनि देशैभरी विभिन्न स्थानमा सफाइ अभियानहरू सञ्चालनमा छन । पूर्वको मेचीदेखि सुदूरपश्चिमको महाकाली हुँदै कर्णालीको सुर्खेत दैलेखदेखि जुम्लासम्म मेचीमहाकाली सफाइ अभियानसमेत संचालनमा छ । हामी हरेक साताको दुई घण्टा बागमती नदी तथा उपत्यकाका सहायक नदीहरू, सार्वजनिकस्थल, मठमन्दिर, सहर, टोल, घरआँगन सफाइ अभियान संचालनसँगै जनचेतना जगाउँदै आएका छौँ । 

अभियन्ताहरूको अग्रसरतामा फोहोरको स्रोतमै वर्गीकरण गर्न, कौसीखेती सुरु गर्न, कुहिने फोहोरबाट बायो कम्पोष्टिङ र वायोग्याँस उत्पादन गर्न उत्प्रेरणा दिने सहजिकरण गर्ने कार्यसमेत गरिएको छ । महानगरपालिकाको अगुवाईमा जथाभावी फोहोर फाल्नेलाई दण्ड जरिवाना गर्ने कार्य समेत गरिएको छ । पछिल्लो समय काठमाडौंका मेयर बालेन शाहसँगको सहकार्यमा नदी किनारामा जथाभावी फोहर गर्ने र जथाभावी फोहर फाल्नेलाई कारबाही गर्ने अभियानले समेत तिब्रता पाएको छ । यसमा काठमाडौं महानगरपालिका आक्रामक रुपमा लागेको छ । 

अभियान र अभियन्ताहरूको सहयोग, दबाब र क्रियाशीलताका कारण नेपाल सरकारको सम्बन्धित निकायहरूमा यसको प्रभाव र दबाब पर्न गई वर्षौंदेखि रोकिएका विभिन्न निर्माण कार्यहरू तथा ढल निर्माण कार्यमा समेत गति लिँदै आएको छ । बागमतीलगायत काठमाडौँ उपत्यकाका अन्य सहायक नदीहरूबाट हालसम्म करिब २० हजार मेट्रिक टनभन्दा बढी फोहोर निकाली व्यवस्थापन गरिएको छ । 

नदी किनारमा ६ हजारभन्दा बढी विभिन्न प्रजातिका विरुवाहरू रोपिएर हुर्किरहेका छन् । अभियानको प्रभाव र सक्रियतामा विभिन्न संघसंस्था तथा निकायहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत नदी किनारामा पुरातात्विक स्थलको संरक्षण तथा तीन दर्जन बढी पार्कहरू निर्माण भएका छन् । जसको कारण बागमती नदी किनाराहरू वातावरणमैत्री बन्दै गएका छन् । यो अभियानको दबाब र अगुवाइमा नदी किनाराका सार्वजनिकस्थललाई सरकारका नाममा फिर्ता ल्याउनसमेत सकिएको छ । 

अभियन्ताहरूले आफ्नो जन्मदिन बागमती नदी किनारमा वृक्षरोपण गरी मनाउने परम्पराको विकाससमेत भएको छ । वृक्षारोपण मात्र हैन, रोपिएका बिरुवालाई रेखदेखसमेत गर्ने गरेका कारण बिरुवाहरू हुर्केका छन् । रोपिएका बिरुवाहरू बढेर गर्मीको समयमा नागरीकहरूले शितल छहारीमा बस्ने समेत गरेका परिदृष्य बागमती किनारामा हेर्न सकिन्छ । अभियन्ताहरूले वृक्षरोपण कार्यलाई निरन्तरता दिएकै कारण नदी किनारामा वृक्षरोपण कार्यले गति लिएको छ । जसका कारण अहिले रुद्राक्ष, बरपिपल, अम्बा, आरु, कपुर, अशोका, ओखर, साकुरा, स्याउ, सुन्तला, निम, समी, अम्बा, गुलाबलगायत विभिन्न जातका बिरुवाहरू हुर्केका छन् । यसले गर्दा पनि बागमती नदी किनारहरू नागरिकमैत्री बन्दै गएका छन् ।

काठमाडौंबासीले बागमती नदीमा ३०औँ वर्षदेखि फोहोर थुपार्दै डम्पिङ साइड बनाएको नदीमा अहिले यस्ता थुप्रै परिवर्तनका कारण आशाका किरणहरू पलाएका छन् । जसका कारण स्थानियबासी र नागरिक समाजमा चेतना जागेको कारण वर्तमानमा स्थानीयहरूले नदीको संरक्षण गर्ने पार्क बनाउने नदी सफा गर्ने नदीमा जथाभावी फोहर फाल्नेलाई समात्ने सूचना दिने कार्य गर्दै आउनुभएको छ । नागरिकमा पनि चेतना अभिवृद्धि भई पहिला फोहोर सोझै नदीमा फाल्नेहरू अहिले सचेत भएका छन् । जनमानसमा चेतनाको जागरण बढेकै कारण नदीमा फोहोर फाल्नेको संख्यामा कमी आएको छ । यो महाअभियानका कारण प्राय मृत अवस्थामा पुगेको बागमती र यसका सहायक नदीहरूलाई पुनर्जीवन दिन सकिएको छ । 

पहिला बागमती नदी किनारामा नाकमुख थुनेर हिड्ने स्थानमा अहिले सयौँ संख्याका विभिन्न किसिमका रेष्टुरेन्टहरू संचालनमा रहेका छन् । मानिसहरू रमाइरहेका छन् । नदी किनारा मानवमैत्री भएका छन् । यस किसिमका गतिविधि हुनुले पनि परिवर्तनका संकेत देखिएका हुन् । निर्माण भएका पार्कहरूमा बिहान र साँझ हजारौँको संख्यामा नागरिकहरू योगा, ध्यान, शारीरिक व्यायमसम्म गर्ने गरेका दृष्यहरू देख्न सकिन्छ । मानिसहरू घुम्न आउने खेल्न आउने गरेका छन् । दिनँहुजसो यी पार्कहरूमा फिल्म तथा भिडियोहरू छायांकनसमेत हुने गर्छन् । नेपाल सरकारको आधिकारिक निकाय अधिकार सम्पन्न बागमती आयोजनाबाट भत्केको पुलदेखि बल्खुसम्म सोलार बत्ति जडान गरेकोले ती क्षेत्रहरूमा सुरक्षा तथा सौन्दर्यतासमेत बढेको छ । 

यति हुँदा पनि सार्वजनिक स्थल र नदी किनारामा जथाभावी लुकिछिपी फोहोर फाल्ने क्रम अहिले पनि रोकिएको छैन । जसको कारण अभियानप्रति नागरिकको हेर्ने दृष्टिकोण अझै सकारात्मक हुन सकेको छैन । होस् पनि कसरी अघिल्लो हप्ता सफाइ अभियान भयो । पछिल्लो हप्ता फेरि फोहोर जम्मा हुने गर्दछ । तर, यो गतिविधि हालका दिनमा कमी त भएको छ, तर रोकिएको छैन । पहिला हरेक हप्ताको अभियानबाट १० देखि १५, २० टनसम्म फोहोर निस्कने गरेकोमा हालका अभियानमा नदी तथा किनाराबाट मुस्किलले २, ३ टन फोहोर मात्र निस्कने गरेको छ । तर, पनि नागरिकहरूले यतिका वर्ष अभियान संचालन हुँदा पनि खै त नदी सफा भएको ? भन्नेको संख्या अझै पनि उल्लेखनीय छ । 

नागरिकमा आफ्नो घरआँगन मात्र सफा भए पुग्छ भन्ने मानसिकताका  कारण आफ्नो घरको फोहोरलाई लुकिछिपी नदी किनारामा फाल्ने कार्य अहिले पनि रोकिएको छैन । जसका कारण अभियानले सार्थकता पाउन सकेको छैन भन्ने हाम्रो बुझाइ छ । अर्को, ढलको ठूलो समस्या छ । हामी निरन्तर यसका लागि सरकारी निकायसँग छलफल र दबाब दिँदै आएका छौँ । कम्तिमा काठमाडौँको गुह्येश्वरीसम्म नदीमा ९० प्रतिशतसम्म ढलमुक्त बन्न सकेको छ । बाँकी प्राविधिक समस्याका कारण केही ढिलाइ भएको स्थिति छ । यसको समस्या छिटो समाधान गर्न हामीले आयोजनालाई दबाब दिँदै आएका छौँ । 

फोहोरलाई स्रोतमै व्यवस्थापन गर्न, नदीहरू, सम्पदाहरू तथा सार्वजनिक स्थलहरूको सरसफाइ गर्न र राष्ट्रब्यापी जनचेतना जगाउन यस महाअभियानको अतुलनीय योगदान रहेको छ भन्ने हाम्रो विश्वास छ । हामीले सुरू गरेको सफाइ महाअभियान राष्ट्रव्यापी बनेकोमा हामीलाई गौरब छ । यस कार्यका लागि नागरिक समाज सञ्चार जगतले निरन्तर सहयोग गरिरहेको छ । यो हामी सबैको साझा अभियान हो । यसमा सहभागी हुने र परोक्ष सहयोग गर्ने सबै यसका अभियन्ता हुन् । 

महाअभियानको मूल उद्देश्य भनेको विशुद्ध स्वयंसेवी भावनाको विकास गर्ने, स्वाभिमानी भावनाको विकास गराउने, हामी हाम्रो काम आफैँ गर्न सक्छौँ भन्ने भावनाको विकास गरी राष्ट्र निर्माणमा निस्वार्थ समर्पण हुने युवा जनशक्ति निर्माण गर्ने हो । त्यसैले मैले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? भनेर आफैँ क्रियाशील हुने मौका पाएको छौँ । 

यो महाअभियानका कारण राज्यका सम्बन्धित निकायमा पनि ठूलो प्रभाव पर्न गई सम्बन्धित निकायहरू परिचालन भएर नदी किनारामा विभिन्न निर्माणका कामहरू संरक्षणका कामहरू नदी सौन्दर्यकरणका कामहरूले गति लिएको छ । यसमा अभियन्ताहरूले खबरदारी गर्ने गरेका कारण सरकारी काम कारबाहीमा परिवर्तनका संकेत देखिन थालेका छन् । यो पनि अभियानको उपलब्धी हो भन्ने हामीलाई लागेको छ । यो महाअभियानबारे धेरैको प्रश्नसमेत उठ्ने गरेको छ । अभियान कहिलेसम्म संचालन हुन्छ त ? भन्नेको संख्या पनि ठूलो छ । हाम्रो जवाफ एउटै छ, जबसम्म नदीमा सफा पानी बग्दैन राज्यले जिम्मा लिँदैन तबसम्म यो महाअभियान जारी नै रहन्छ ।  

हरेक सचेत नागरिकले अब यसो गरौँ ।
१. घरबाट निस्कने फोहोरलाई घरमै वर्गीकरण गरी कुहिने फोहोरलाई अग्र्यानिक मल बनाई कौसीखेती गर्ने र न कुहिने फोहोरलाई मात्र बिर्सजन गर्न दिने ।
२. प्लाष्टिक, फलाम कागजलाई बिक्री गर्न सकिने भएकोले त्यो फोहोरलाई मोहर बनाउने ।
३. घरआँगन, टोल, गाउँ, सहर, सार्वजनिक स्थल, मठमन्दिर र नदीहरू सफा राख्न आफू अग्रसर भई अरूलाई पनि प्रेरणा दिने । 
४. यात्रा गर्दा सवारीसाधन भित्रको फोहोर सवारीसाधन भित्रै तोकिएको ठाउँमा मात्र फाल्ने परिपाटीको विकास गर्ने ।
५. बागमती नदी, यसका सहायक नदीहरू र देशका सम्पूर्ण नदी तथा सार्वजनिक स्थलहरू सफा र संरक्षण गर्ने अभियानमा लाग्ने । 
६. प्लाष्टिक नजलाउने प्लाष्टिकजन्य वस्तु जलाउनु हुँदैन भन्ने चेतना सबैमा जगाउने । 
७. वायु प्रदुषण घटाउन आफ्नो तर्फबाट भरपुर प्रयास गर्ने । 
८. आफ्नो सामाजिक संजालमा हप्तामा कम्तिमा एकपटक सफाइ, वातावरण संरक्षणमा प्रभाव पार्ने सन्देश तथा गतिविधि सम्प्रेषण गर्ने । 
९. कसैले नदी सार्वजनिक स्थलमा फोहोर फालेको देखेमा वा त्यस्ता गतिविधि गरेका थाहा पाए वडा, महानगर वा नजिकको प्रहरी कार्यालयमा खबर गर्ने ।
१०. जलवायु परिवर्तनको समस्या दिनानुदिन बढ्दो छ । हरेक नागरिकले सकेसम्म वृक्षारोपण गर्ने र हुर्काउने ।

‘म मेरो बासस्थान र वरिपरि, कार्यस्थल र सार्वजनिक स्थल वरिपरि तथा नदीनालाहरू सफा राख्छु ।  बागमती नदीको स्वच्छता र पवित्रता कायम राख्न मन, बचन र कर्मले लाग्नेछु ।’
(लेखक बागमती सफाइ महाअभियानका अभियन्ता हुन्)

ad
ad