१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ७ बिहीबार o९:o९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गणतन्त्र उल्ट्याउने सपना नदेख्न प्रधानमन्त्रीको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार o९:o९:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने सपना नदेख्न चेतावनी दिएका छन् । नेपाल संवत् मूल समारोह समितिले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले व्यवस्थाका विरुद्ध षड्यन्त्र गरिरहे थप कठोर हुन बाध्य हुने चेतावनी दिए । 

उनले गणतन्त्र उल्टाउन दुष्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्ने बताए । पराजित भइसकेका सामन्तीहरूले अन्तिमपटक टाउको उठाउन खोज्ने भन्दै प्रचण्डले अहिले पनि त्यही कोसिस भइरहेको बताए । ‘आजको परिवर्तन साना दुःखले आएको होइन । यो व्यवस्थाका निम्ति हजारौँले रगत बगाएका छन् । हजारौँले जेलनेल भोगेका छन् । लाखौँ जनताले संघर्ष गरेका छन् । यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो । तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन,’ प्रचण्डले भने, ‘संसारकै नियम हो– पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोज्छन् । अहिले पनि त्यही कोसिस हुँदै छ । संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ । यस्तो दुष्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ ।’

व्यवस्थाका विरुद्ध षड्यन्त्र गरिरहे थप कठोर हुन बाध्य हुने उनले बताए । ‘एकथरी मान्छेहरू लोकतन्त्र र संस्कारको कुरा गर्दै छन् । उनीहरूको संस्कार के हो ? लोकतन्त्र कस्तो थियो ? भन्ने कुरा हामीले राम्रोसँग देखिसकेका छौँ । लुटको स्वर्ग गुमेको छटपटी उनीहरूको होला । तर, व्यवस्थाका विरुद्ध षड्यन्त्र गरिरहे हामी थप कठोर हुन बाध्य हुनेछौँ,’ उनले भने । 

प्रचण्डले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा विकसित तुल्याउनुपर्नेमा जोड दिए । ‘हामीले विक्रम संवत् प्रयोग गरिरहेका छौँ । कतिपय सन्दर्भमा अंग्रेजी संवत् पनि लेखिन्छ । तर, नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो । यसलाई राष्ट्रिय संवत्को रूपमा विकसित तुल्याउनुपर्छ,’ उनले भने ।