१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० मङ्सिर ४ सोमबार ०६:४३:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

संवादहीनतामा शेखर–गगन

महाधिवेशनकेन्द्रित भिन्दाभिन्दै रणनीति र गतिविधिमा दुई नेता, नयाँ ध्रुवीकरणको आधार तयार भइरहेको विश्लेषण

Read Time : > 4 मिनेट
२०८० मङ्सिर ४ सोमबार ०६:४३:००

शेखर कोइराला र गगन थापा कांग्रेसको इतर समूहका नेता मानिन्छन् । तर, पछिल्ला केही राजनीतिक घटनाक्रमले कोइराला र थापाबीच संवादहीनताको अवस्था सिर्जना भएको छ । कोशीमा कोइराला समूहको विद्रोह अनुमोदन भएपछि दुई नेताबीच संवाद भएको छैन, बरु इतर समूहमा ध्रुवीकरण बढ्दै छ ।

१४औँ महाधिवेशनमा उनीहरू एकैठाउँ थिए । कोशीको राजनीतिक घटनाक्रमको समीक्षा गर्ने विषयमा कोइराला–थापाबीच छलफल नहुँदा इतर समूहमा ध्रुवीकृत बनेको हो । कोशीको विषयमा कोइराला र थापा दुई ध्रुवमा बाँडिएका छन्, जसले इतरमा अलमल छ । नेताहरूका अनुसार एमालेलाई सरकारबाहिर पुर्‍याएर कांग्रेस र गठबन्धनका तर्फबाट कोशीको कोर्स करेक्सन भए पनि कोइराला–थापा संवादमा जुटेका छैनन् । एमालेको समर्थनमा कोशीमा कोइराला समूहका नेता मुख्यमन्त्री भएका थिए । 

स्रोतका अनुसार कोशी प्रकरणपछि कोइरालाले थापासँग संवादका  लागि पटक–पटक प्रयास गरेका छन् । तर, थापाले अनिच्छा देखाएका छन् । सभापति देउवासँग भने थापाको पार्टी गतिविधिलगायतका विषयमा निरन्तर भेटघाट छ । कोशी प्रकरणमा कोइरालाको एकल निर्णयप्रति अरू नेताको पनि असन्तुष्टि छ । उनीहरू थापासँग निकटता बढाउन थालेको स्रोत बताउँछ । केही नेता भने कोइरालाको विकल्पमा जान नहुने पक्षमा छन् । 

इतर समूहका नेता गुरुराज घिमिरे कोशी प्रकरणपछि दुई नेताबीच संवाद नभएको समय लम्बिँदा समूह थप कमजोर हुने विश्लेषण सुनाउँछन् । कोइराला–थापा मनमुटावको असर भावी नेतृत्वमा समेत पर्न सक्ने उनको बुझाइ छ । ‘कांग्रेसमा गुटमा पनि अनेकता छन्, कोशी प्रकरण एउटा दृष्टान्त हो । कोशी प्रकरणपछि त्यसका केही क्रम उपक्रम देखिएका छन् । कोशी सरकार गठनका विषय रहेका मतभेद समूहमा व्यवस्थापन गरिएको छैन,’ उनले भने, ‘व्यवस्थापन नहुँदा धाँजा फाट्दै जाने र टकराव बढ्दै जाने अवस्था छ । त्यसले पार्टी र हाम्रो समूहलाई नै क्षति पुर्‍याउँछ । यसले भावी नेतृत्वसम्म पनि असर पार्ने सम्भावना छ ।’

तर, केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल कोशी प्रकरणले कांग्रेस र इतर समूह कमजोर नभएको ठान्छन् । दुई नेताबीच संवादहीनताको अवस्था रहे पनि चाँडै व्यवस्थापन हुने उनको विश्वास छ । ‘नेतृत्वले आफूखुसी लाद्ने शैलीमाथि कोशीमा विद्रोह भएको हो, यसले पार्टी र समूह दुवैलाई कमजोर बनाएको छैन,’ उनले भने, ‘समूह झनै बलियो भएको छ । कोशी प्रकरणपछि उहाँहरूबीच केही असहमति भए पनि उहाँहरूले हामी एकै ठाँउमा छौँ भन्नुभएको छ । पार्टीलाई बलियो बनाएर लैजान उहाँहरू दुवैलाई दबाब छ ।’

कोइराला र थापा महाधिवेशनकेन्द्रित रणनीति र गतिविधिमा छन् । कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र कोइराला चाडपर्व र भूकम्पलगायतले व्यस्त हुँदा दुई नेताबीच संवाद हुन नसकेको तर्क गर्छन् । तर, सभापति देउवासँग भने सम्पर्कमै रहेको उनको भनाइ छ । ‘कोशीका विषयमा समूहमा छलफल भएको छैन । आवश्यकताअनुसार छलफल नहुने भन्ने होइन,’ उनले भने ।

विश्लेषक गेजा शर्मा वाग्ले कोशी प्रकरणसँगै कांग्रेसमा नयाँ ध्रुवीकरणको आधार तयार भइरहेको प्रारम्भिक संकेत देखिएको विश्लेषण गर्छन् । महामन्त्री थापा अर्का महामन्त्री विश्वप्रकाश शर्मालगायतलाई समेटेर नयाँ वैचारिक धारको नेतृत्वका लागि लागिपरेको उनको भनाइ छ । उनका अनुसार यसले १५औँ महाधिवेशनमा नेतृत्व चयनको विषयले स्पष्ट संकेत गरेको छ । 

‘कांग्रेसको १५औँ महाधिवेशनमा परम्परागत गुटको विघटन भई सैद्धान्तिक–वैचारिक, प्रगतिशील र रूपान्तरणकारी धारको नेतृत्व गगन–विश्व समूहले गर्ने देखिन्छ । अन्य नेता परम्परागत वैचारिक धारमा उभिने देखिन्छ,’ शर्मा भन्छन्, ‘कांग्रेसको महासमिति बैठकमार्फत सैद्धान्तिक–वैचारिक र नेतृत्वको दृष्टिकोणबाट आशाको सन्देश प्रवाह गर्न सक्नुपर्छ । वैचारिक ध्रुवीकरण कांग्रेसको भविष्यका लागि सकारात्मक हुन्छ ।’

कांग्रेस नेताहरूका अनुसार कोशी सरकार गठनको विषयमा दुई नेताबीच सघन संवाद भएकै थिएन । कोइरालाले आफ्नो समूहका नेतालाई मुख्यमन्त्री बनाउन एमाले अध्यक्ष केपी ओलीसँग बाक्लो संवाद गरेका थिए । निकट नेताहरूका अनुसार कोइरालाले कोशीको कोर्स सुरु हुनुअघिबाटै कोइराला–थापाबीच केही मनमुटाव थिए । कांग्रेसमा संसदीय दलको निर्वाचनले कोइराला–थापाबीच आशंकाहरू जन्माएको थियो, जुन अहिलेसम्म कायमै छन् । थापाले तिक्ततापूर्ण सम्बन्धको विषय र असन्तुष्टि सार्वजनिक मञ्चमै राख्न थालेका छन् । २ कात्तिकमा उनले एक कार्यक्रममा कोशी प्रकरणको परिस्थितिको जिम्मेवार आफू नहुने बताएका थिए । कोशीमा कोइरालाको भूमिका र उत्पन्न परिस्थितिमा आफू सहमत नभएको थापाकोे अभिव्यक्ति थियो । 

कार्यक्रममा उनले लामो समयदेखि कोइरालासँग सम्पर्क नभएको र कोशी प्रकरणमा कुनै संवाद नभएकोसमेत सार्वजनिक गरेका थिए । उनले आफू ०८२ को महाधिवेशनकेन्द्रित रहनेसमेत बताएका थिए । कोइरालाको भूमिकाबारे महामन्त्री थापाले त्यसअघि कुनै सार्वजनिक टिप्पणी गरेका थिएनन् । 

सोही कार्यक्रममा थापाले संसदीय दलको निर्वाचनमा आफूले आफ्नै समूहबाट अपेक्षित मत नपाएको भन्दै इतरका सांसदको भूमिकामा थापाको असन्तुष्टि थियो । ३६ जना सांसद आफ्नो पक्षमा रहेको अनुमान गरे पनि थापाले २५ मत मात्रै पाएका थिए । १३औँ महाधिवेशनमा एकैठाउँ आएका शेखर–गगनको सम्बन्धमा दरारको सुरुवात २० वैशाखमा इतरबाट सरकारमा मन्त्रीको नाम पठाउने विषयबाट सुरु भएको निकटहरू बताउँछन् । त्यसवेला इतरले तीन मन्त्री दाबी गरेको थियो । देउवा तयार भएपछि इतर समूहमा सहमतिअनुसार तीन नाम पठाइएको थियो । तर, कोइरालाले नाम बुझाउने अन्तिम समयमा थापालाई जानकारी दिएनन् । 

इतरबाट मन्त्री बनाउनेको सूची बुझाएर कोइराला सिंगापुर गए । तीन नाम दिएकोमा देउवाले धनराज गुरुङ र डिगबहादुर लिम्बू गरी दुईलाई मात्रै मन्त्री बनाए । यहाँबाट शेखर–गगनको सम्बन्धमा शंका जन्मियो । यो घटनापछि थापाले कोइराला सभापति देउवासँग निकट भएको विश्लेषण गर्न थाले । 

एक वर्षपछि कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै थियो । तर, कोइरालाले आफ्नो समूहको भेला बोलाएनन् । तीन तहको निर्वाचनपछि बसेको बैठक इतरका लागि महत्वपूर्ण थियो । तर, २ देखि १० साउनसम्म बसेकोे केन्द्रीय समिति बैठकमा कोइरालाले इतरको भूमिका कमजोर बनाएको र थापाको प्रतिरक्षा नगरेको आरोप लागेको थियो । बैठकमा उनले महामन्त्रीको आलोचना गरे । 

बैठकअघि कुनै प्रतिक्रिया दिएका थिएनन् । बैठकपछि कोइरालाले आफूमाथि लागेका आरोपको स्पष्टीकरण दिनुप¥यो । १८ साउनमा कोइरालाले सभापतिसँग नजिकिएको र महामन्त्री थापासँग टाढिएको विषयमा सत्यता नरहेको स्पष्टीकरण दिएका थिए ।

१७ भदौमा महामन्त्री शर्मा र युवा नेता प्रदीप पौडेलसहित इतर समूहको भेला भएको थियो । तर, कोइराला सहभागी थिएनन् । पछिल्लो समय कोइराला महाधिवेशनकेन्द्रित समूह मिलाउन सक्रिय थिए । उनी विश्व र प्रदीपसमेतलाई समेटेर नयाँ समूह बनाउन चाहन्थे । पछिल्लो समय २ असोजमा कोइरालाले महामन्त्री शर्मा र नेता पौडेललाई बोलाएर बालुवाटारमा भेला गरेका थिए । तर, भेलामा महामन्त्री शर्मा र नेता पौडेल सहभागी भएनन् । 

धादिङ जिल्ला सम्मेलन देउवा र थापा समूहद्वारा बहिष्कार
१८ कात्तिकमा भएको जिल्ला सम्मेलनमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा समूहले बहिष्कार गरेको थियो । कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी शेखर कोइराल समूहका नेता हुन् । उनी प्रतिनिधिसभा सदस्य छन् । शेखर कोइरालाले उद्घाटन गरेको सम्मेलन देउवानिकट केन्द्रीय सदस्य दिलमान पाख्रिन, र १४औँ अधिवेशनमाजिल्ला सभापतिमा पराजित भीमप्रसाद ढुंगाना र निवर्तमान सभापति थापानिकट रमेश धमलाको समूहले बहिष्कार गरेको थियो ।

कोइराला–थापाबीच दूरी बढाउने घटनाक्रम

  •  कोशीको सत्ता परिवर्तनमा कोइरालाले एकतर्फी निर्णय लिएर आफूनिकट नेतालाई मुख्यमन्त्री बनाएको थापाको आरोप । यो प्रकरणमा सभापति देउवा र कोइरालाको भूमिका ठीक नभएको निष्कर्ष ।
  •  सरकारमा मन्त्री पठाउने विषयमा कोइराला सभापति देउवासँग मिलेको थापाको आशंका । 
  •  मन्त्रीका लागि तीनजनाको नाम बुझाउँदा कोइरालाले एकतर्फी निर्णय लिएको थापाको आरोप । 
  •  संसदीय दलको निर्वाचनमा ३६ जना सांसद आफ्नो पक्षमा रहेको अनुमान गरे पनि २५ मत प्राप्त, समूहबाटै धोका भएको थापाको निष्कर्ष । 
  •  केन्द्रीय समिति बैठकमा कोइरालाले समूह र आफ्नो बचाउ नगरेको थापाको बुझाइ ।
  •  थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेललाई समेत समेटेर नयाँ टिम बनाउन थालेको कोइरालाको आशंका ।

सभापति देउवासँग पनि दुवै नेता संवादमा
एउटै समूहमा रहेर पनि संवादहीनतामा रहेका डा. शेखर कोइराला र महामन्त्री गगन थापा पार्टी सभापति शेरबहादुर देउवासँग भने नियमित भेटघाटमा छन् । १५औँ महाधिवेशनमा आफू सभापतिको दाबेदार नहुने देउवाको घोषणाले भावी नेतृत्वका लागि कांग्रेसभित्र नयाँ शक्ति सन्तुलन र समीकरणको सम्भावना छ । यस्तोमा देउवाको सद्भाव पाउने व्यक्ति नेतृत्वका लागि बलियो दाबेदार बन्न सक्छ । १५औँ महाधिवेशनकेन्द्रित भिन्दाभिन्दै रणनीति र गतिविधिमा लागेका कोइराला र थापा पछिल्लो दिनमा देउवासँग सम्बन्ध सुधारमा छन् । 

शर्मा र पौडेलसँगको निकटताले कोइराला थप सशंकित

महामन्त्री गगन थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेललगायतसँग निकटता बढाएपछि डा. शेखर कोइराला पनि थप सशंकित बनेका छन् । कोशी प्रकरणमा महामन्त्रीद्वय एकैठाउँमा थिए । उनीहरूले २९ असोजमा सभापति शेरबहादुर देउवालाई भेटेर सभापति र नेता कोइरालाको भूमिकाप्रति असन्तुष्टि जनाए ।

निर्णय प्रक्रियामा महामन्त्रीद्वयलाई सहभागी नगराइएकाले परिस्थितिको जिम्मेवार पनि दुवै नेता हुनुपर्ने उनीहरूको भनाइ थियो । कोशीमा गठबन्धन जोगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवा र नेता कोइरालाले गरेको लिखित सहमतिप्रति पनि महामन्त्रीद्वयको असन्तुष्टि थियो । १७ भदौमा महामन्त्री थापासहित अर्का महामन्त्री शर्मा, युवा नेता पौडेल र इतर समूहका पदाधिकारीको भेला थियो । जसमा कोइरालालाई बोलाइएको थिएन । यसले कोइराला थप सशंकित भए ।