
कञ्चनपुर उद्योग वाणिज्य संघले परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापनपत्र बुझाएको छ। गृहनगर आएका वेला आइतबार वाणिज्य संघले परराष्ट्रमन्त्री साउदलाई ज्ञापनपत्र बुझाएको हो।
संघका अध्यक्ष पिताम्बर जोशीले मन्त्री गृहनगर आएका वेला विविध सामाजिक, आर्थिक, सांस्कृतिक र व्यावसायिक विषयमा ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको बताए। ‘हामीले मन्त्रीलाई यस जिल्लामा रहेका आमउद्योगी व्यवसायीका विद्यमान समस्या, अधुरा योजना, सीमा समस्यालगायतको समाधान गराउन ध्यानाकर्षण गराएका छौँ,’ अध्यक्ष जोशीले भने, ‘वाणिज्य संघले यसअघि पनि उठान गर्दै आएका समस्या यसपटक पुनः दोहोर्याएका हौँ।’
अध्यक्ष जोशीका अनुसार कञ्चनपुरको समग्र सीमा समस्या, भारतीय पक्षबाट हुँदै आएको अवरोध एवं हस्तक्षेप, भन्सारका समस्या, जिल्लाको पर्यटन क्षेत्रका समस्या, आयात निर्यातका क्रममा हुने समस्या, उत्तरी बह्मदेव नाकालाई धार्मिक नाकाका रूपमा सञ्चालन गर्नुपर्ने, दोधाराचाँदनी सुक्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र विस्तार, बेलौरीमा भन्सार स्थापना गर्नुपर्नेदेखि इजरायलमा बेपत्ता विपिन जोशीको यथाशीघ्र खोजी गरी स्वदेश फिर्तीको माग अघि सारेर ज्ञापनपत्र बुझाइएको छ।
संघका महासचिव खगेश्वर बोहराले जिल्लामा व्यावसायिक एवं औद्योगिक सम्भावना रहेका क्षेत्रमा सरकारले प्राथमिकताका साथ अघि बढ्नुपर्नेमा मन्त्रीको ध्यानाकर्षण गराएको बताए।
ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री साउदले सीमा समस्यादेखि विपिन जोशीको उद्धार एवं औद्योगिक विकासका लागि आफ्नो तहबाट हुने पहल गर्ने आश्वासन दिएका छन्।